सात दिने लकडाउनलाई ७ फिल्म– ५

यज्ञश

काठमाडौँ — धेरै वर्षको प्रयासपछि लियोनार्डो डिक्याप्रियोले अन्तत: ओस्कर पाएको फिल्म ‘दी रेभेनान्ट’मा एउटा दृश्य छ । हिउँ नै हिउँको प्रदेशमा आफ्ना आक्रमणकारीसँग जोडिन आँखा चिम्लेर बेपत्ताले ऊ दौडिइरहेको छ ।

खासमा ऊ होइन, उसको घोडा दौडिइरहेको छ । एउटा खतराबाट भागिरहेको मान्छेले सायद अर्को खतरा देख्दैन, जसरी ठूलो घाउ लाग्दा सानो घाउको पीडा बिर्सिइन्छ ! होशमा आउँदा उसको वरिपरि कि हिउँ छ कि त्यही घोडा, मरिसकेको ।


चिसोले ज्यानै जान लागेपछि उसले कम्मरको छुरी निकालेर घोडाको पेट चिर्छ । सामान्तया: यस्ता दृश्यमा मानिसले जनावरको मासु खाएर ज्यान जोगाउँछन् । यसमा भने हिरोले मासु खाँदैन, आफैं घोडामा विलिन हुन्छ, घोडाको पेटभित्र छिरेर । किनभने ओडारजस्तो यो पेटभन्दा तातो यहाँ अरु केही छैन ।


यसलाई तपाईं जसरी पनि व्याख्या गर्न सक्नुहुन्छ । प्रकृतितिर फर्किएको मानिस पनि मान्न सकिन्छ, मानिसको प्रकृतिसँगको सघर्ष पनि मान्न सकिन्छ ।


लकडाउनको पाँचौ दिन । वातावरण कुनै उपन्यासमा वर्णन गरिएको वा फिल्ममा दर्शाइएको जस्तो हुँदै गइरहेको छ । मास्कले मुख ढाकेका, सुटले जिउ ढाकेका र डरले मन ढाकेका मानिसहरु सडकमा देखिन्छन् । मानौं पृथ्वी कुनै अर्कै ग्रहमा परिणत भइरहेको छ ।

पृथ्वीमा महामारी आएको यो पहिलोपटक होइन । मानिसको इतिहास नै संघर्षको इतिहास हो । सुरुमा प्रकृतिसँगको संघर्षपछि मानिसले आफैं उत्पादन गरेका समस्यासँग जुध्दै गयो। फेरिँदो जीवनशैलीसँगै फेरिएको संघर्षले साहित्य र सिनेमाका पाना भरिएका छन् ।


युवल नोहा हरारी ‘सेपियन्स’मा प्रश्न गर्छन्– ‘चेतना, विज्ञान र प्रविधिका यत्रा क्रान्तिपछि के मानिस साँच्चिकै सुखी भएको छ त ? दिनको १८ घन्टा काममा जोतिने अहिलेको मानिस सुखी हो कि दिनको ४ घन्टा शिकार खेलेर बाँकी समय आराम गर्ने फिरन्ता युगको मानिस सुखी हो ?’

यो आजको विचारणीय प्रश्न हो।


अब लागौं आजको फिल्मतर्फ । सात दिने लकडाउनका लागि सात एसियाली फिल्मको सिफारिस श्रृंखलामा आज पाँचौं फिल्मको पालो । चीन, जापान, कोरिया र भारतपछि आजको पालो कोरोना भाइरसबाट निकै प्रताडित देश इरानको । ससाना विषयमा राम्रा फिल्म बनाउने भनेर चिनिने इरानका एक प्रसिद्ध निर्देशक अब्बास किरुस्तामीको फिल्म ।


आजको फिल्म

टेस्ट अफ चेरी (१९९७, इरान)


सुरुमै भिनिदिउँ, यो फिल्म 'स्लो' छ । र, थपौं यहाँ हतार कसलाई छ ?


आखिर जानु कहाँ छ ? मन्दिर- मस्जिद बन्द छन् । होटल, भट्टी र कारखानाहरु बन्द छन् । अफिस-अड्डा बन्द छन् । मानिस मानिस बीचको भेटघाट बर्जित छ। समय यस्तो आएको छ कि दूरी बनाउने मान्छे सामाजिक कहिलने भएको छ !


कोरोना-कैदी बनेर घरभित्र बसिरहेका मानिसलाई समय बिताउनु नै ठूलो उपलब्धि भइरहेको यदि हो भने यो समयमा जीवनका विविध पाटाहरु तथा संसारका अलग भागका अनेक कथाहरुको 'टेस्ट' किन नलिने ?


यो कथा हो इरानको । फिल्म हो, 'टेस्ट अफ चेरी' । निर्देशक अब्बास किरुस्तामी । इरानी फिल्ममात्र होइन, विश्व सिनेमामा अब्बासको ठूलो नाम छ । २०१६ मा मृत्युवरण गरेका यी निर्देशकले इरानको फिल्मलाई चम्काउने काम गरे । उनको यही फिल्म 'टेस्ट अफ चेरी'ले विश्व प्रसिद्ध कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।


सहरको बाहिरी परिधिको धुले बाटोमा एउटा मानिस एकोहोरो गाडी चलाइरहेको छ। पहाडको परिक्रमा गरेजसरी घुमिरहेको यो मानिसकै कथा हो 'टेस्ट अफ चेरी' ।


खासमा यो मानिस मर्ने सूरमा छ । उसको योजना छ, यतै कतै कुनै खाल्डोमा रातभरी सुत्ने । बिहान आएर कसैले उसलाई उठाओस् । केहीबेर बोलाओस्, टाढैबाट सानो ढुंगाले पनि हानोस् । तैपनि नउठे उसलाई त्यही पुरिदिएर जाओस् । उ खासमा आफ्नै 'ग्रेभडिगर'को खोजीमा छ ।


यो यात्रामा यसले तीनजना मानिस भेट्छ । तीनैसँगको उसको संवाद र ती संवादसँगै फेरिदै जाने उसको मनोदशा फिल्मको कथा हो । अन्त्यमा चेरीको स्वादको पनि कुरो आउँछ । फिल्ममा कथाको त्यान्द्रो छिनिहाल्ला जस्तो छ । संवाद थोरै छन्, घटना झन् थोरै । यसैले यो पनि महशुस गर्ने फिल्म हो ।


यो फिल्मबारे पनि म धेरै कुरा भन्दिनँ, खाली एउटा कुराचाहिँ यो फिल्म मेकिङको सानो प्रसंगबाट भन्छु । तपाईंले याद गर्नुभयो भने गाडीमा यात्रा गरेका दुई पात्रलाई तपाई एउटै फ्रेममा मुस्किलले देख्नुहुन्छ । हरेक पटक जुनचाहिँले संवाद बोल्छ वा जसको प्रतिक्रिया देखाउनु पर्ने हो उमात्रै देखिन्छ । विन्डस्क्रिनको अगाडि दुवै देखिने वाइड सट यसमा छैनन् । यसका मुख्य दुई कारण छन् । एक, यसो गरेर निर्देशकले यी दुई पात्रबीचको दूरीलाई दर्शाए। यिनका बीच कुनै पनि किसिमको निकटता हुन्थ्यो भने यिनीहरु एउटै फ्रेममा देखिन्थे ।


दोस्रो कुरा फिल्मको सुटिङभरि निर्देशक अब्बास पछाडिको सिटमा नै बसिरहे। त्यसैले यदि फ्रेममा दुवैलाई लिइन्थ्यो भने अब्बास पनि देखिन्थे ।


'द विन्ड विल क्यारी अस', 'सिरिन', 'टेन', 'क्लोजअप', 'सर्टिफाइड कपी' र अस्ति जाापनको सिफारिस गर्दा वैकल्पिक फिल्मका रुपमा उल्लेख गरेको 'लाइक समवन इन लभ' अब्बासका अरु चर्चित फिल्म हुन् । लामा छोटा, फिक्सन डकुमेन्ट्री गरी जम्मा ४९ वटा फिल्म अब्बासले बनाएका छन् ।


वैकल्पिक फिल्म- 'एभ्रिबडी नोज' (२०१८)


यसलाई स्पेनी, अमेरिकी वा इरानी जुन फिल्मभन्दा पनि हुन्छ । यसका लेखक निर्देशक असगर फरहादी इरानी भएकाले यसलाई इरानकै मानियो । यसलाई स्पेनकै मान्न पनि सकिन्छ । 'अ सेपरेसन' र 'दी सेल्सम्यान' दुइटा ओस्कर विजेता फिल्म बनाएका इरानी निर्देशक फरहादीको यो फिल्म एक रहस्यको कथा हो । धेरै वर्षपछि आफ्नो गाउँ फर्किएकी एक महिलाको जीवनसँग जोडिएका पात्रहरुको व्यवहारको रहस्य । तर, शीर्षकले भनेजस्तो सबैले थाहा पाएको रहस्य !


हाभियर ब्राडम र पेनिलप क्रुजको जोडीले अभिनय गरेको यो फिल्म अहिलेको समयका दुई उम्दा कलाकारका लागि पनि हेर्नुस् । र, यो अब्बासको फिल्मजस्तो 'स्लो' पनि छैन! यी दुवै फिल्म तपाईको रुचिअनुसारका लागेनन् भने इरानका अर्का प्रसिद्ध फिल्ममेकर माजिद माजिदीका फिल्महरु 'चल्ड्रन्स अफ हेवन', 'सङ अफ दि स्प्यारोज', 'बारान', 'कलर अफ प्याराडाइज' र भारत आएर उनले बनाएको 'बियोन्ड द क्लाउड्स' पनि विकल्प हुनसक्छन् । मखमलबाग बाबु-छोरी मोहसिन र समिराका फिल्म पनि मनपर्न सक्छन् ।


यो पनि हेर्नहोस्

७ दिने लकडाउनलाई ७ फिल्म– ४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लकडाउन अवज्ञा गर्नेलाई रंगशालामा 

लालप्रसाद शर्मा

पोखरा — लकडाउन उल्लंघन गर्ने झन्डै २०० भन्दा बढीलाई प्रहरीले पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर पोखरा रंगशालामा दिनभर राखेको छ । उनीहरुलाई भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टमा सामाजिक दूरी कायम गरी राखिएको थियो । 

सरकारी आदेशलाई लत्याएर सडकमा हिँडिरहेका २३२ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको कास्की प्रहरीका प्रवक्त डिएसपी राजकुमार केसीले बताए । केसीका अनुसार पहिलो चरणमा १८७ र दोस्रो चरणमा ४५ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई लकडाउन, कोरोना भाइरस महामारी, जोगिने उपायलगायत विषयमा कक्षा दिइएको थियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले उनीहरुलाई खानेपानी व्यवस्था गरेको थियो ।

प्रकाशित : चैत्र १५, २०७६ १८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×