गुणस्तरहीन भन्दै स्पेनले फिर्ता गर्‍यो चिनियाँ परीक्षण किट्स

चैत्र १५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना परीक्षणका लागि चीनमा उत्पादित जाँच किट्स मेसिन ३० प्रतिशत मात्र पहिचान गर्नसक्ने र गुणस्तरहीन भएको भन्दै स्पेन उक्त किट्स फिर्ता गरेको छ । स्पेनी सरकारले ५८ हजारवटा चीनमा बनेका टेस्ट किट्सहरु फिर्ता गरेको हो ।

स्पेनमा कोरोना भाइरसको महमारी फैलिँदै गइरहेको छ । हालसम्म ६५ हजारभन्दा बढी मानिसहरु स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् । संक्रमण रोक्न परीक्षणको दायरा बढाउनुपर्ने हुन्छ । स्पेनले चीनसँग र्‍यापिड टेस्टिङ किट र अरु सामग्रीहरु मागेको थियो । यही हप्ता स्पेनी सरकारले ३९० मिलियन पाउन्ड र्‍यापिड टेस्टिङ किट र अरु सामग्री जस्तै मास्क, पञ्जा अनि पर्सनल प्रोटेक्टिभ इक्यिुपमेन्ट(पीपीई) मा खर्च गर्ने घोषणा गरेको छ ।

चीनमा बनेका किट्सहरु स्पेनी सरकारले केही हप्ता अघि ल्याएको थियो । तर ती किट्सहरु गुणस्तरीय नभएको पाइएको हो । चीन सरकारले भने उक्त किट्सहरु आफ्नो सूचीमा भएको आधिकारिक कम्पनीले निर्माण नगरेको स्पष्टीकरण दिएको छ ।

बिहीबार विज्ञप्तिमा बताइएअनुसार स्पेनको स्वास्थ्य मन्त्रालयले किट्स फिर्ता पठाउने बताएको हो । तर ती किट्सहरु सिधै चीनबाट चिनियाँ निर्माताबाट नल्याएको उल्लेख गरेको छ । स्पेनमा रहेको सप्लाइ कम्पनीबाट चीनका ती सामग्रीहरु खरिद गरिएको थियो ।

मन्त्रालयले सुरुमा टेस्ट किटबाट म्याड्रिडको अस्पतालमा परीक्षण गरिएको र पछि अरु स्वास्थ्य संस्थामा दिइएको बताएको छ । ‘केही समयपछि नै उक्त किट्सहरुको गुणस्तर ठीक नभएको पत्ता लागेको थियो । र त्यसलाई फिर्ता गरिएको हो । आपूर्तिकर्तासँग सम्पर्क भइसकेको छ त्यसको सट्टामा अरु किट्स दिनेछ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पत्रमा उक्त सामग्रीहरु ग्वानडोङ प्रान्तको सान्जेन बायोइजी बायोटक्नोलोजी कम्पनीले निर्माण गरेको उल्लेख छ । हालै स्पेनी अधिकारीहरुले करिब ६ लाख ५० हजार र्‍यापिड टेस्टिङ किट वृद्धाश्रम र मेडिकल स्टाफहरुलाई बाँडिरहेका छन् ।

नेपालमा परीक्षणका लागि रिएजेन्ट मगाइँदै
विश्व स्वास्थ्य संगठनले जति धेरै परीक्षणको दायरा बढायो त्यति नै कोरोना भाइरस(कोभिड –१९)को नियन्त्रण प्रभावकारी हुने बताउँदै आएको छ । धेरैभन्दा धेरै परीक्षण गर्नका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट रिएन्जेट्स मगाएको छ ।

रिएजेन्ट आएपछि परीक्षण दायरा बढाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् । यद्यपि केही सामग्री भने तिब्बत सरकारले ‘निर्यातयोग्य’ नरहेको आशंका गर्दै उतै रोकिदिएको छ । तर नेपाल एयरलाइन्सले भने चीनको ग्वान्झाउबाट केही सामग्रीहरु लिएर भोलि काठमाडौं आउँदै छ । 

–एजेन्सीको सहयोगमा

कान्तिपुर

Link copied successfully