२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भारतबाट प्रदेश ५ मा २ लाख भित्रिए, ९ सय मात्रै बसे क्‍वारेन्टाइनमा

कोरोना अस्पताल र परीक्षण प्रयोगशाला तयार
घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भारतीय सीमा नाकामा हेल्थ डेस्क राखेर परीक्षण सुरु गरेपछि शनिबार साँझसम्ममा २ लाख १३९ जना नेपाल भित्रिएका छन् ।

भारतबाट प्रदेश ५ मा २ लाख भित्रिए, ९ सय मात्रै बसे क्‍वारेन्टाइनमा

खुल्ला सिमाना रहेको प्रदेश ५ का विभिन्न नाकाबाट भित्रिनेको संख्या अहिले पनि बढ्दो छ । सिमानामा राखिएका हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण गरेर घर जानेहरूलाई सम्बन्धित स्थानीय तहहरूले क्वारेन्टाइनमा राख्ने प्रयास गरे पनि अधिकांश सम्पर्कमा आएका छैनन् । कोरोनाको संक्रमण फैलिएको भारतबाट आएकाहरूलाई स्थानीय तहहरूले खोज्दा भेट्टाएका छैनन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयको रेकर्ड अनुसार भारतका विभिन्न सहरबाट फर्किएका उनीहरू मध्ये अहिलेसम्म प्रदेश ५ का विभिन्न स्थानीय तहमा झण्डै ५ सय ५० जना मात्र क्वारेन्टाइनमा छन् । बिहीबार र शुक्रबार बेलहिया नाकाबाट भित्रिएका २८ नेपालीलाई तिलोत्तमाको दुर्गादत्त माविको क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश ५ का निमित्त प्रहरी प्रमुख नरबहादुर खत्रीले अहिलेसम्म सबै जिल्लामा गरेर १ सय ९० क्वारेन्टाइन स्थापना भएको जानकारी दिए । स्थानीय तहसँगको सहकार्यमा प्रहरीले २ हजार २ सय ९९ बेडका क्वारेन्टाइन स्थापना गरेको छ । ‘अहिले प्रहरी र जनप्रतिनिधिको सहकार्यमा वडास्तरमा बाहिरबाट आएकाको खोजी गर्दै छौं,’ उनले भने, ‘कतिपय स्थानमा बाहिरबाट आएकाहरू घरमै क्वारेन्टाइनमा बसेको भन्ने पनि छ ।’ प्रशासन र स्थानीय तहको सम्पर्कमा आएका र खोजीका क्रममा भेटिएकालाई क्वारेन्टाइनमा राख्ने काम भइरहेको उनले बताए ।
प्रदेशका विभिन्न ४० नाकामा सुरक्षाकर्मीसहितका हेल्थ डेक्स राखिएको छ । सुरक्षाकर्मीको सहयोगमा स्वास्थ्यकर्मीले नाकामा परीक्षण गर्ने गरेको भएपनि ठुलोसंख्यामा भित्रिएका सर्वसाधरण अहिले क्वारेन्टाइन भन्दा घरमै बसिरहेका छन् ।

प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद गिरीका अनुसार अहिलेसम्म प्रदेश ५ मा ७७ जना कोभिड–१९ को संक्रमणको आशंकामा अस्पताल पुगेका छन् । ती मध्ये ५२ जनाको स्वाब संकलन गरिएको र २५ जनाको नेगेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । ‘अझै २७ जनाको रिपोर्ट आउन बाँकी छ,’ उनले भने, ‘हवाई यातायात बन्द भएपछि स्वाब परीक्षणका लागि पठाउन समस्या भएकाले रिपोर्ट आउन पनि ढिलाई हुने गरेको छ ।’

सरकारले प्रदेशका विभिन्न चार स्थानमा स्थापना गरेका कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका दुई दर्जन बढी शंस्कास्पद बिरामी भएपनि जोखिम नभएको उनले बताए ।

प्रदेश सरकारले प्रदेशमै कोरोना उपचार केन्द्र र प्रयोगशाला स्थापना गरेको छ । भैरहवास्थित भीम अस्पताललाई संक्रमण उपचार अस्पताल र भैरहवाकै गहुँ बाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला स्थापना गरिएको छ ।

अस्पताल संचालमा आइसकेको र प्रयोगशाला आइतबार बेलुका देखि नै संचालनमा आउने सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रयोगशालाका सामग्री आइसकेको र अहिले जोड्ने काम जारी रहेकाले आजै साँझ वा सोमबार बिहानदेखि परीक्षण सुरु गरिने बताए ।

‘प्रयोगशाला सञ्‍चालनमा आएपछि तत्कालका लागि कोरोना मात्र परीक्षण भएपनि भविष्यमा अन्य संक्रामक रोगको पनि परीक्षण गर्न सकिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधासम्पन्न प्रयोगशाला स्थापना हुनेछ ।’ भीम अस्पतालमा भने कोभिड–१९ ‘पोजिटिभ’ बिरामीलाई मात्र उपचार गर्ने गरी ३० बेड तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रकाशित : चैत्र १६, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?