नेपालबाट एक साता अघि भारत फर्किएका युवामा कोरोना संक्रमण

संक्रमण कहाँ भयो भन्ने खुल्नै बाँकी
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालबाट केही दिनअघि मात्र फर्किएका भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पटियाला नजिकको रामनगर गाउँका स्थायी बासिन्दा उनी अघिल्लो सातामात्र नेपालबाट फर्किएका थिए ।

उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही खुलेको छैन । संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवामा कोरोना पुष्टि भएको बताए । अहिले उनको अवस्था स्थिर रहेको समेत डा. कुलदिपले जानकारी दिए ।

‘उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत आएका रहेछन् । परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । अहिले उनको अवस्था भने सामान्य छ,’ डा. कुलदिपले कान्तिपुरसँग भने ।

संक्रमित युवा कामका लागि अर्का एकजना साथीसँगै गत ९ मार्चमा नेपाल गएका थिए । त्यसपछि उनी १९ मार्चको अपरान्ह तीन बजेको काठमाडौंबाट दिल्ली फर्किएका थिए । दिल्ली विमानस्थलमा जाँचका क्रममा उनको स्वास्थ्य अवस्थामा सामान्य भएकाले उनलाई घरमै गएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो ।

दिल्ली ओर्लिएपछि मेट्रोबाट कश्मिरीगेट पुगेर बस चढी उनी आफ्नो गाउँ रामनगर पुगेका थिए । गाउँ पुग्दासम्म पनि कुनै समस्या नभएको उनले कान्तिपुरसँग फोनमा बताए । ‘९ देखि १९ मार्चसम्म नेपालमा थिएँ, त्यहाँ मलाई कुनै समस्या थिएन,’ उनले भने ।

२० देखि २६ मार्चसम्म उनी घरमै बसेका थिए । २६ मार्चमा चर्को ज्वरो र पेट दुख्ने भएपछि घरमै औषधि खाएका थिए । तर, पनि राम्ररी ठिक नभए पछि उनलाई नजिकैको सिटि सिभिल अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

शनिबार राति आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमरण रहेको पुष्टि भएको हो । उनलाई कोरोनालागेको पुष्टि भएपछि अहिले पुरै परिवार त्रसित बनेको छ । र, सबैलाई आइसोलेसनमा राखिएको छ ।

‘केही दिन अघि ज्वरो आउने र पेट दुख्ने समस्या भएको हो, खै कसरी यस्तो रिपोर्ट आयो,’ उनले भने ।

उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै आएका अर्का युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । तर, उनको रिपोर्ट आइनसकेको डा. कुलदिपले बताए । युवालाई कोरोना पुष्टि भएपछि प्रशासनले उनको गाउँ रामनगरलाई पुरै नियन्त्रणमा लिएर र उनको सम्पर्कमा आएकाहरुको खोजी शुरु गरेको बताइएको छ ।


प्रकाशित : चैत्र १६, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्वास्थ्य सामग्री सहयोग गरेकोमा चीनलाई सरकारको धन्यवाद 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई गरेको सहयोगलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीन सरकारलाई आइतबार धन्यवाद दिएका छन् । 


नेपालका लागि चीनकी राजदूत होउ यान्छीको उपस्थितिमा पत्रकार सम्मेलन गरेका मन्त्री ढकालले चीनले गरेको सहयोगलाई लिएर खुलेर प्रशंसा गरे ।

होउले पनि नेपाललाई चीन सरकारले सक्दो सहयोग गर्ने बताइन् । उनले नेपाल चीनको असल मित्र भएको र नेपाललाई आवश्यक पर्दा चीनले जहिले पनि सहयोग गर्न तयार रहेको बताइन् ।

आइतबार बिहान चीनबाट आइपुगेको स्वास्थ्य सामग्रीहरु नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याक मा फाउन्डेसन, चीन सीएएमसी इन्जिनियरिङ र सिचुवान हुअसी ग्रुपले सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री ढकालले चीनबाट आएका स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार आइतबारबाटै सम्पूर्ण प्रदेशहरुमा वितरण कार्य सुरु भइरहेको जानकारी दिए ।


तस्बिर : दीपक केसी/कान्तिपुर

सिचुवान प्रान्तीय सरकार नेपालस्थिति चिनियाँ दूतावासले २ हजार थान एन ९५ मास्क, २४ हजार थान डिस्पोजेबल सर्जिकल मास्क, २० हजार थान डिस्पोजबल मास्क, सुरक्षित चश्मा ५ सय थान, इन्फ्रारेड थर्मोमिटर एक सय थान, इयर थर्मोमिटर एक सय थान, सुरक्षित पोसाक ५ सय ३० थान सहयोग गरेको छ । त्यसमध्ये सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुपले ३ हजार थान डिस्पोजेबल सर्जिकल मास्क प्रदेश ५ लाई सहयोग गरेको हो ।

त्यस्तै ३० थान सुरक्षित पोसक पनि सिचुवानको प्रान्तीय सरकारले प्रदेश ५ लाई उपलब्ध गराएको हो ।
त्यस्तै अलिबाबा र ज्याक मा फाउन्डेसनले एक लाख २ सय थान एन ९५ मास्क सहयोग गरेको छ । त्यस्तै विभिन्‍न कम्पनी र संस्थाले पनि विभिन्‍न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

नेपाललाई प्राप्त विभिन्‍न सामग्रीहरु

प्रकाशित : चैत्र १६, २०७६ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×