काठमाडौं बाहिर पहिलो पटक कोरोना परीक्षण धरानमा सुरु

चैत्र १६, २०७६

अतुल मिश्र

काठमाडौँ — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । यो परीक्षण राजधानी बाहिर पहिलोपटक हुन लागेको हो ।

प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा कोभिड–१९ संक्रमण भए/नभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षण सुरु भएको हो । 

अहिले डा.भट्टराई त्यहाँ भएको ‘जैव सुरक्षा स्तर–२’ को प्रयोगशालामा परीक्षणमा भइरहेको छ । ‘यो परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्‍यालको नमुनाबाट परीक्षण गर्न थालिएको छ’, प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माले कान्तिपुरसंग भने–‘यहाँ हामीले एउटा लटमा १२ जनाको थ्रोट स्वाव (घाँटीको र्‍यालको नमुना) को परीक्षण गर्न सक्छौं ।’


प्रदेश नम्बर १ र २ बाट संकलित नमुनाहरु प्रतिष्ठानमा ल्याइनेछ । यसअघि  प्रतिष्ठानमा ८० जना शंकास्पद कोभिड–१९ को बिरामीको परीक्षणका लागि २० वटा घाँटीको र्‍यालको नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । ती नमुना मध्ये १७ जनामा कोरोना देखिएन । तीन ३ वटा नमुना परीक्षणको परिणाम आउन बाँकी रहेको डा.शर्मा बताउँछन् । 


धरानामा कोरोना आशंका भएकाहरुको घाँटीको र्‍यालको संकलन प्रतिष्ठानको माइक्रोबायलोजी विभागले गरिरहेको छ । तर यहाँ भएको पीसीआर मेसिन मा ‘आरएनए एक्सट्रेक्सन’ आफैंले गनुपर्ने भएकाले केही बढी समय लाग्ने चिकित्सकले बताएका छन् । 


‘समय अलि बढी लागे पनि हामी, पूर्वाञ्चलको कोभिड–१९ प्रयोगशाला परीक्षणको चापलाई थेग्न सक्छौं’, डा.शर्मा भन्छन–‘हामीले धेरै पहिलेदेखि नै पीसीआर परीक्षण गर्दै आएको हो । मुलुकमा डेंगुको ‘सेरोटाइपिङ्ग’, सबै भन्दा पहिले हाम्रै प्रतिष्ठानमा भएको हो ।’


स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ । पहिलो कोरोना पोजिटिभको केश अन्तर्गत माघ ९ गते नै पोजिटिभ देखिएको र हाल उनी पूर्ण स्वस्थ छन् । 

लकडाउनकोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully