कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोभिड–१९ विरुद्ध लड्न उच्चस्तरीय समिति गठन गर्न समाजवादीको माग

काठमाडौँ — समाजवादी पार्टीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वपक्षीय उच्चस्तरीय समिति गठन गर्न सरकारसँग माग गरेको छ ।

कोभिड–१९ विरुद्ध लड्न उच्चस्तरीय समिति गठन गर्न समाजवादीको माग

‘कोभिड–१९ बाट उत्पन्न विषम स्थितिमा सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, कार्यान्वयन र अनुगमन तथा समग्र व्यवस्थापनको कार्यमा देखिएको फितलोपनको अन्त्य गर्न सरकार, संसदमा उपस्थित दलहरू, जनस्वास्थ्य विज्ञ, स्वास्थ्यकर्मी, औषधिव्यवसायी, निजी अस्पताल संघका प्रतिनिधि, संचारकर्मी, मानवअधिकारकर्मी आदि सम्बद्ध सबै पक्षको सहभागिता हुने गरी एक सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न सरकारसँग माग गर्दछ,’ अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरेर यो माग राखेका हुन् ।

त्यसैगरी, समाजवादी पार्टीले कोभिड–१९ को सम्भावित जोखिम टार्न खटिएका स्वास्थ्यकर्मीको ५० लाख बराबरको स्वास्थ्य बीमा घोषणा गर्न माग गरेको छ । स्वास्थ्यकर्मीहरू कोभिड–१९ विरुद्धको लडाइँमा अग्रमोर्चाका योद्धाहरू रहेको र यतिखेर स्वास्थ्यकर्मीहरूलाई निरन्तर सहयोग र उत्सहित गर्नु सबैको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो पार्टी स्वास्थ्य सेवासँग सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्य सहयोगीहरू, जनस्वास्थ्य अधिकारी, ल्याब प्राविधिज्ञहरू, अस्पताल सरसफाई मजदुर, औषधि विक्रेता, एम्बुलेन्स चालक-सहचालकलगायत सबै पेसाकर्मीहरू तथा यसका विरुद्ध लड्न अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिक आदि सबैको न्यूनतम् ५० लाख बराबरको स्वास्थ्य बीमा घोषणा गर्न तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सावधानीमा कुनै कमी हुन नदिन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

समाजवादी पार्टीले न्यून आय भएका गरीब परिवार पहिचान गरी लकडाउन अवधिका लागि आर्थिक सहयोग वा अत्यावश्यकीय सामानको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकोछ । साथै लकडाउनको समयमा आपूर्ती व्यवस्थालाई सुव्यवस्थित गर्न समेत उनले माग गरेको छ ।

समाजवादी पार्टीले कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने ठूलो सम्भावना रहेको भन्दै ऋण, ब्याज मिनाहा, आर्थिक सहयोग र अनुदानको प्याकेज ल्याउन माग गरेको छ ।

‘खासगरी नेपालको उद्योग धन्दाहरू, व्यापार तथाव्यवसाय, बैंक तथा वित्तीय क्षेत्र, पर्यटनलगायत सबै क्षेत्रमा यसको नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको छ । लकडाउनको समय लम्ब्याउनु पर्ने अवस्था उत्पन्न भएमा त्यसबाट देशको अर्थतन्त्रमा र्दीघकालीन असर पर्न नदिनका लागि अल्पकालिन ऋण, ब्याज मिनाहा, आर्थिक सहयोग र अनुदानको प्याकेज ल्याउन हाम्रो पार्टी आग्रह गर्दछ,’ समाजवादीको माग छ ।

यसबाहेक समाजवादी पार्टीले सांसद तथा जनप्रतिनिधिको आधा महिना बराबरको तलब साथै कार्यकर्ताको सहयोग समेत गरी एकमुष्ठ १० लाख रकम कोरोना प्रतिरोध कोषमा जम्मागर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आपतकालीन स्थितिमा उच्च सतर्कता अपनाउन यस आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट कोरोना प्रतिरोधका लागि खर्च गर्ने व्यवस्था मिलाउनसमेत समाजवादीले माग गरेको छ ।

वर्तमान परिस्थितिमा समाजवादीले सरकारलाई सहयोग गर्ने अध्यक्ष यादवले जनाएका छन् ।

समाजवादीले विश्व स्वास्थ्य संगठन तथा राज्य र सरकारले तय गरेका सुरक्षा मापदण्डहरू अपनाउन, आइसोलेसन र क्वारेन्टाइनमा बस्न, सामाजिक दूरी कायम गर्न तथा लकडाउनको नियम पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?