स्थिति नियन्त्रणबाहिर छैन : उपप्रधानमन्त्री पोखरेल

चैत्र ११, २०७६

बिनु सुवेदी

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि एक साताका लागि ‘लकडाउन’ गरेको छ । मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको हो । यो भनेको ‘कर्फ्यु’ लगाएजस्तै असामान्य अवस्था हो ।

यसै सन्दर्भमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेलसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानी :

‘लकडाउन’ को निर्णय गर्नुपर्ने अवस्था किन आयो ?

आइतबारको मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर कोरोनाको संक्रमण फैलिन नदिन केही आदेश जारी गरेको थियो । त्यो आदेश कार्यान्वयन गर्ने सिलसिलामा सोमबार उच्चस्तरीय समन्वय समितिमा छलफल भएर त्यसलाई औपचारिक ढंगले सार्वजनिक गरेका हौं । दोस्रो कुरा, समितिले देशभरि क्वारेन्टाइन स्थापना गर्ने सम्बन्धमा पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको एउटा कार्यदल बनाएको थियो, त्यो कार्यदलका तर्फबाट उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयो र त्यसलाई उच्चस्तरीय समितिले पारित गरेको छ ।

अब काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा प्रदेश सरकार र स्थानीय तहका सरकार कार्यविधिअनुसार अघि बढ्नेछन्, तयारी पनि त्यहीअनुरूपको छ । तेस्रो कुरा, सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रूपमा अघि बढाउने र त्यसका लागि स्वास्थ्य मन्त्रालयले समन्वय गर्ने निर्णयको कार्यविधि तयार भएको छ । उक्त अस्पतालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायतका स्वास्थ्यकर्मीलाई केन्द्रित गरिन्छ ।

मन्त्रिपरिषद् बैठकले आइतबार नाका बन्द गर्नेलगायतको निर्णय गरेको थियो तर सोमबार पनि भारतबाट आउने नेपाली नाकामा धेरै देखिए । नेपालमा कोरोनाका संक्रमित पनि भेटिए । यसबाट स्थिति नियन्त्रणबाहिर गयो भनेर सरकारले लकडाउनको निर्णय गरेको हो ?

स्थिति नियन्त्रणबाहिर छैन तर सतर्कताका लागि बन्द गर्ने निर्णय गरेका हौं । कोरोना संक्रमण विश्वव्यापी महामारीका रूपमा फैलिरहेको सन्दर्भमा हामीले सुरुदेखि नै सजगता, सतर्कता अपनाएका थियौं । खुला सिमानामा आउजाउ रेगुलेट गर्दागर्दै पनि कतिपय मान्छे आउने क्रम रोकिएन । फेरि यो संक्रमण अहिलेको अहिल्यै देखिने पनि होइन, कति संक्रमण पछि देखिन्छन् । यस्तो जटिलताका कारण पनि अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने निर्णय लिनुपरेको हो । कोरोना संक्रमण देखिएका व्यक्तिबारे हामीले जुन बेला पत्ता लगायौं, थाहा पाउनेबित्तिकै अस्पताल लगेर उपचार प्रक्रिया सुरु भएको छ । उहाँ छिट्टै निको भएर फर्किनुहुनेछ । त्यसो त पहिले वुहानबाट आएका एक जनामा पनि संक्रमण देखिएको थियो । त्यतिबेला पनि हामीले उपचार गरी निको पारेर घर पठाएका थियौं ।

कहिलेसम्म यसरी बन्द हुन्छ ?

अहिलेलाई १८ गते बिहान ६ बजेसम्म बन्द गर्ने निर्णय गरेका हौं । 

सीमा नाकाबाट आउने बिनाजाँच आएकै छन्, कति त क्वारेन्टाइनबाट भागेका पनि छन् ।कति सीमामै अलपत्र पनि छन् यो विषयमा केही निर्णय भयो ?

खुला सीमा र महामारी आतंकको एउटा स्थितिका कारण मान्छे आफ्नो देशमा फर्किन चाहेका छन् । कतिपय अवस्थामा आउने–जाने समय नमिल्ने पनि हुन सक्छ । खासगरी नेपालीहरू आउने स्थितिमा त्यहाँका सीमा प्रहरी र प्रदेश सरकारले उनीहरूलाई क्वारेन्टाइनमा राखेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको छ ।


सोमबारको निर्णयअनुसार के–के कुरा बन्द हुन्छन् ?

औषधि, उपचार र खाद्यवस्तु खरिदजस्ता काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्किन पाउने छैनन् । मूलतः व्यक्तिहरू घरभित्रै सुरक्षित रहुन् भन्ने उद्देश्यले हामीले यो निर्णय गरेका हौं । त्यसैगरी अनुमति प्राप्त सवारीसाधनजस्तै स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक सबै प्रकारका सवारी, निजी र यात्रुवाहक सवारीसाधन पूर्णरूपमा प्रतिबन्धित हुनेछन् । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक सबै आन्तरिक व्यावसायिक उडान पनि बन्द हुन्छन् । स्वास्थ्य उपचार, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथ सञ्चार आदि सेवाबाहेक आवश्यक पर्ने कर्मचारी मात्रै कार्यालयमा उपस्थित हुने र अन्य कर्मचारीलाई आवश्यक परेको बखतमा उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखहरूले बिदा दिने निर्णय भएको छ ।


औषधि, खानेपानी, दुग्ध उद्योग, इन्धन उत्पादनबाहेक निजी क्षेत्रबाट सञ्चालित उद्योग र कारखानामा काम गर्ने कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिनुपर्छ भन्ने कुरा भएको छ । जस्तो व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्नुपर्छ । अभाव देखाएर कालोबजारी गर्ने वा लुकाउने जस्ता काम भएमा नियन्त्रणमा लिने र सामग्री जफत गर्नेजस्ता निर्णय गरेका छौं । प्रमुख जिल्ला अधिकारीमार्फत् यी निर्णय कार्यान्वयनमा आउनेछन् । उहाँहरूले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिम्मेवारी पूरा गर्नुहुनेछ ।

खाद्यान्न किन्न जानेलाई नरोक्ने भनियो तर त्यसको नियमन कसरी गर्ने भन्ने निर्णयमा उल्लेख छैन नि ?

यो मानवताको रक्षाका लागि चालिएको अत्यन्त महत्त्वपूर्ण कदम हो । यसमा त सबै सहभागी हुनुपर्छ । सरकारको या राज्य सञ्चालन गर्ने रुलिङ पार्टीको मात्रै विषय त होइन । त्यसैले हरेक नागरिक सचेत पनि हुनुपर्छ । यो डन्डा बजार्ने मात्रै कुरा होइन । त्यसकारण नागरिक आफैं सचेत, सजग हुनुपर्ने र आफैं सुरक्षित भएर बस्नुपर्‍यो नि । कोही लुकेर जाला या अनियमितता गर्ला यो त अपवादको कुरा हो । तर नागरिक आफैंले सजगता अपनाउनुपर्छ ।

निर्णय कार्यान्यनका लागि प्रहरीसँगै नेपाली सेना पनि परिचालन हुन्छन् ? त्यसका केही निर्णय या तयारी गर्नुभएको छ ?

सेना परिचालनको विषयमा अप्ठ्यारो केही छैन । कुनै पनि आपत्‌विपत् परेका बेला, महामारी वा प्रकृति प्रकोपको बेला सेनाले आदेश पर्खिंदैन । यहीअन्तर्गतको अहिलेको परिस्थिति हो । यो अहिले थप प्रस्ट पार्नुपर्ने विषय नै होइन । कार्यान्वयन गर्ने काम प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिले गर्छन् ।


प्रेसलगायतको सञ्चालनको विषयमा पनि केही कुरा भएको छ ?

संक्रमणको बेलामा कतिपय ठाउँमा ब्रोडसिट पत्रिकाहरू पनि अरू ढंगले सञ्चालन हुने स्थिति छ । हामी त्यही ठाउँमा त पुगेका छैनौं तर अब विशेष परिस्थितिहरू के–के आइलाग्छ, हेर्दर् ैजाऔं न । प्रेसका सवारीसाधन पनि अनुमति लिएर मात्रै चल्न पाउँछन् ।

सीमानाकाकोरोना भाइरसकोभिड–१९ संक्रमण रोकथाम समिति

बिनु

Link copied successfully