१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सीमा बन्दले पनि रोकिएन आवागमन

जाने–आउनेको लर्को थामिएन, नेपालतर्फ घर फिर्नेकै संख्या धेरै
प्रदेश ब्युरो

काठमाडौँ — सरकारले सात दिनका लागि नेपाल–भारत सीमा नाका बन्द गर्ने घोषणा गरे पनि पूर्वी नाकामा नाकाबाट आउजाउ रोकिएको छैन । भारतबाट आउजाउ दिउँसो रोकिए पनि बिहान–बेलुका जारी थियो । सोमबार अघिल्ला दिनभन्दा बढी यात्रु आएको प्रहरीले जनाएको छ । दिउँसो मेची पुलमा र राति इलाका प्रहरी कार्यालय काँकडभिट्टा परिसरमा यात्रुको भीड थियो ।

सीमा बन्दले पनि रोकिएन आवागमन

बिहान ११ बजेपछि नाकाबन्द गर्ने निर्देशन अनुसार स्थानीय सरकार र प्रहरीले बिहान १ हजार ७ सय ४२ जना यात्रीलाई भारत जाने अनुमति दियो । भारतबाट ३ सय १५ जना नेपाल प्रवेश गरे ।


१० बजेपछि भने नाका केही समय चकमन्न बन्यो । मालवहाक गाडीलाई मात्रै प्रवेश दिइएको थियो । यही क्रममा भारत पश्चिम वंगालको पानीट्यांकी नाकामा तैनाथ सुरक्षाकर्मीले करिब ५ सय हाराहारी नेपालीको शरीरको तापक्रम जाँचेर पठायो । नेपालतर्फ सुरक्षाकर्मीले नाकावन्दीको कारण देखाउँदै उनीहरुलाई प्रवेश गर्न दिएनन् । करिब ५ घन्टा उनीहरु मेची पुलमै अलपत्र परे । अलपत्रहरुमा बालवालिका र वृद्धवृद्धा उल्लेख्य थिए ।


प्रवेश गर्न नदिएको विरोधमा नेपाली यात्रीहरुले पुलमै नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएपछि प्रमुख जिल्ला अधिकारीले केन्द्रमा पत्राचारसम्म गरे । कुनै ठोस निर्णय भने आएन । प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले भने, ‘उनीहरुलाई नेपाल ल्याउन पहलसम्म गरेको थिएँ ।’


प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सीमा नाकाको निरीक्षणमा आएका थिए । दुबैतर्फको अलपत्र यात्रीलाई आउजाउ गर्न दिने सहमति केन्द्रले दिएको उनले जनाए । ‘तपाईहरुको समस्यालाई मध्यनजर गरेर प्रवेश अनुमति दिएका छौ’ उनले भने, ‘कम्तीमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला ।’ यसपछि वागडोग्रा, सिलिगुडी जस्ता सहर फर्किएका केही यात्रीहरु पुनः आएका थिए ।


अधिकांश भारतीय सहर मुम्वई, दिल्ली, केरला, चेन्नई र कोलकातावाट घर फर्किएका थिए । धेरैजसा श्रमिक र कपिपय विद्यार्थी थिए । बंगलादेशवाट आएका विद्यार्थी पनि थिए । प्रहरीका अनुसार सोमवार साँझ २ हजार भन्दा वढी नेपाली भारतवाट आए । १ हजार ५ सय हाराहारीमा भारततिर गएका थिए ।


फोटो छ


बिहान ११ बजेपछि नाकाबन्द गर्ने निर्देशन अनुसार स्थानीय सरकार र प्रहरीले बिहान १ हजार ७ सय ४२ जना यात्रीलाई भारत जाने अनुमति दियो । भारतबाट ३ सय १५ जना नेपाल प्रवेश गरे । १० बजेपछि भने नाका केही समय चकमन्न बन्यो । मालवहाक गाडीलाई मात्रै प्रवेश दिइएको थियो । यही क्रममा भारत पश्चिम वंगालको पानीट्यांकी नाकामा तैनाथ सुरक्षाकर्मीले करिब ५ सय हाराहारी नेपालीको शरीरको तापक्रम जाँचेर पठायो । नेपालतर्फ सुरक्षाकर्मीले नाकावन्दीको कारण देखाउँदै उनीहरुलाई प्रवेश गर्न दिएनन् । करिब ५ घन्टा उनीहरु मेची पुलमै अलपत्र परे । अलपत्रहरुमा बालवालिका र वृद्धवृद्धा उल्लेख्य थिए ।


प्रवेश गर्न नदिएको विरोधमा नेपाली यात्रीहरुले पुलमै नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएपछि प्रमुख जिल्ला अधिकारीले केन्द्रमा पत्राचारसम्म गरे । कुनै ठोस निर्णय भने आएन । प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले भने, ‘उनीहरुलाई नेपाल ल्याउन पहलसम्म गरेको थिएँ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सीमा नाकाको निरीक्षणमा आएका थिए । दुबैतर्फको अलपत्र यात्रीलाई आउजाउ गर्न दिने सहमति केन्द्रले दिएको उनले जनाए । ‘तपाईहरुको समस्यालाई मध्यनजर गरेर प्रवेश अनुमति दिएका छौ’ उनले भने, ‘कम्तीमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला ।’ यसपछि वागडोग्रा, सिलिगुडी जस्ता सहर फर्किएका केही यात्रीहरु पुनः आएका थिए । अधिकांश भारतीय सहर मुम्वई, दिल्ली, केरला, चेन्नई र कोलकातावाट घर फर्किएका थिए । धेरैजसा श्रमिक र कपिपय विद्यार्थी थिए । बंगलादेशवाट आएका विद्यार्थी पनि थिए । प्रहरीका अनुसार सोमवार साँझ २ हजार भन्दा वढी नेपाली भारतवाट आए । १ हजार ५ सय हाराहारीमा भारततिर गएका थिए ।


उता आवागमन बन्द गरिए पनि सुदूर पश्चिमको नाका कञ्चनपुरको गड्डाचौकीमा भारतबाट फर्किनेको लर्को चलेको छ । गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार सोमबार ११ बजेपछि साँझसम्म ३ सयभन्दा बढी नेपाली फर्किएका हुन् । नाका बन्द भएका कारण उनीहरुलाई सांँझमात्र नेपाल भित्रिन दिइएको थियो । ‘आउने क्रम चलिरहेकै छ,’ हेल्थ डेस्ककी प्रमुख अनमी निर्मला जोशीले भनिन्, ‘बिहान भीडभाड कम थियो, दिउँसोपछि फेरि चाप बढेको छ ।’


नाकामा यातायातका साधन बन्द गरिएका छन् । नेपालीलाई भारततर्फ जान रोक लगाइएको छ । भारतबाट फर्किने नेपाली भने आइरहेकै छन् । ‘भारतमा पनि यातायात बन्द, कर्फ्यु आदिका कारण हिजोअस्ति आउन सकिएन,’ केरलाबाट घर फर्किन लागेका बझाङका राकेश बमले भने, ‘हामी बाटोमै थियौं, यता बन्द घोषणा भइहाल्यो ।’ आइतबार सरकारले नाका बन्द गर्ने घोषणा गर्दा कतिपय यात्रु बाटोमै थिए ।


सोमबार बिहान नाका बन्द हुनुअघिसम्म साढे ४ सय नेपाली भित्रिएको हेल्थ डेस्कले जनाएको छ । ११ बजेपछि पुगेका नेपाली साँझसम्म पनि सीमामा अलपत्र परेका थिए । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै भित्रिन दिने जानकारी दिए ।


नाका मात्रै होइन लकडाउन गरिएको कञ्चनपुरमा पनि सर्वसाधारणको आवागमन चलिरहेको छ । महेन्द्रनगरसँगै अन्य बजार बन्द रहे पनि विभिन्न बहानामा मानिस घरबाहिर निस्किरहेका छन् । ‘हामीले भीडभाड कम गराउन यो निर्णय गरेका हौं,’ प्रजिअ खतिवडाले भने, ‘महेन्द्रनगरसँगै जिल्लाका सबै क्षेत्रमा भीड नियन्त्रण भएको छ ।’ उनले बिस्तारै घरबाहिर निस्कने क्रम पनि नियन्त्रण हुने बताए । प्रशासनले आइतबार राति १२ बजेदेखि आकस्मिक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको थियो । सोमबार बजारमा यातायातका साधन पनि आंशिक रूपमा बन्द रहे ।


कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकाबाट सोमबार ५ हजारभन्दा बढी नेपाली भारतबाट भित्रिएका छन् । आइतबार भारतमा भएको जनता कर्फ्युका कारण भन्सार नाकामा पुगिसकेका नेपालीलाई प्रवेशमा रोक लगाउन सक्ने अवस्था नभएको स्थानीय प्रशासनले जनाएको छ । त्रिनगर नाकाबाट बिहान ११ बजेसम्म २ हजार र त्यसपछि ८ सय ७५ जना भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरकारको सीमा बन्द गर्ने निर्णय गरे पनि नाकामा आइसकेकालाई भने प्रवेश दिन बाध्य भएको बताए । ‘उनीहरूको स्वास्थ्य जाँच र अन्य विवरण लिएर घर पठाएका छौं,’ बोहराले भने, ‘सम्बन्धित पालिकामा पनि क्वारेन्टाइनको व्यवस्था भएकाले ज्वरो र रुघाखोकी देखिएका त्यहीँ बस्नेछन् ।’ उनले यताबाट प्रवेश गरेका नेपालीको सूची सम्बन्धित पालिकामा पठाउने गरेको बताए ।


अवैध नाकाबाट छिर्नेको भीड

वैध नाका सिल भएपछि भारतका विभिन्न सहरबाट नेपाल भित्रिने कैलालीका अवैध नाकाको प्रयोग गर्न थालेका छन् । फूलबारी, हसुलिया, लालबोझी नाकाबाट आउने क्रम बढेको छ । जिल्लाको १०१ किलोमिटर खुला सीमामा कहीँबाट पनि प्रवेश गर्न सकिन्छ । स्थानीय प्रशासनले नेपाल प्रवेश रोक्न सशस्त्र प्रहरीले गस्ती गरिरहेको बताएको छ ।


दिनभर नाकामै अलपत्र

सोमबार रूपन्देहीको भैरहवास्थित सुनौली नाका हुँदै फर्किरहेको नेपालीको ठूलो समूह अलपत्र परेको थियो । प्रदेश ५ का अन्य नाकाबाट फर्किनेहरू साँझसम्म अलपत्र परे । अलपत्र हुनेमा धेरै महिला र बालबालिका थिए । भारतको विभिन्न स्थानबाट रेल र बसबाट बिहान १० बजे आइपुगेका करिब २ सय जना नेपालतर्फ प्रवेश नपाएपछि अलपत्र परेका थिए । सोमबार साँझमात्रै उनीहरूलाई प्रवेश गर्न दिइएको थियो । सोमबार बिहान १० बजे नाका बन्द हुनुअघि सुनौलीबाट ८ सय ६७ जना नेपाल आएका थिए ।


भारतीय बजार सुनौली बन्द रहेकाले अलपत्र व्यक्ति भोक र प्यासले छटपटिएका देखिन्थे । धेरैबेर प्रवेश नआएपछि उनीहरू आक्रोशित थिए । उनीहरु दशगजामा रहेको स्वागतद्वारमुनि घण्टौंसम्म झोलागुन्टा राखेर बसेका थिए । उनीहरू प्रवेश दिन बिन्तीभाउ गरिरहेका थिए । ‘यात्राका क्रममा सिमाना बन्द भएको जानकारी थिएन,’ मुम्बईबाट फर्किएका नवलपरासी बुग्दीकालीको टेकबहादुर नेपालीले भने, ‘मुलुक प्रवेश नपाउँदा ग्लानि भएको छ ।’ सबैको स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा बस्न तयार रहेको उनले बताए ।


प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मानवीय हिसाबले सोमबार साँझ मुलुक प्रवेश गर्न दिइएको बताए । ‘यसबारे विस्तृत रूपमा सरकारलाई जानकारी गराएका थियौं,’ उनले भने, ‘सबै यात्रुको विवरण राखेर सम्बन्धित जिल्लामा पठाएका छौं ।’ पहिलो दिन मानवीय नाताले प्रवेश गर्न दिए पनि मंगलबारबाट यस्तो अवसर नमिल्ने बताए । जिल्लाका अन्य खुला नाकाबाट आवतजावत नियन्त्रण गरिएको उनको भनाइ छ । अधिकांशले भारतमा आफू कार्यरत संस्था तथा रोजगारदाता कम्पनी बन्द भएकले मुलुक फर्किनु बाध्यता भएको जनाए । ‘सिमाना बन्द गर्नेबारेमा केही दिनको पूर्वसूचना दिएर निर्णय गरिनुपर्थ्यो,’ भारतको केरलामा आफू कार्यरत होटल बन्द भएपछि नेपाल फर्केको बताउने धादिङका मिलन भारतीले भने, ‘हामीजस्तै घर आएका धेरै नेपाली अझै बीच बाटोमै छन् ।’


कपिलवस्तुको सीमा क्षेत्रमा आवागमन रोकिएपछि बिहान भारतबाट फर्किरहेका २ सय जना अलपत्र परेका छन् । उनीहरूलाई साँझसम्म मुलुक प्रवेश गर्न दिइएको छैन । उनीहरू दशगजा र भारतीय रेल्वे स्टेसन आसपास बसिरहेका छन् । उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले प्रवेश गर्न दिएको छैन । दाङ र सल्यानका उनीहरू केरला, सिकन्दराबाद, पञ्जाब र चेन्नईबाट आएका हुन् । ‘भारतमा पनि आइतबार रातिबाट धारा १४४ लागू गरिएको छ,’ भारतको सिद्धार्थनगरस्थित राष्ट्रिय दैनिक सहाराका बढनी ब्युरो प्रमुख अजय गुप्ताले भने, ‘५ जनाभन्दा बढी भेला हुन पाउँदैनन् ।’


-पर्वत पोर्तेल (काँकडभिट्‍टा), भवानी भट्‍ट (कञ्‍चनपुर), मोहन बुढाऐर (धनगढी), चाँदनी कठायत (वीरेन्द्रनगर) र माधव ढु‌ंगाना (भैरहवा)को रिपोर्ट

प्रकाशित : चैत्र ११, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?