काठमाडौँ — नेपाली सेनाले कोभिड–१९ रोकथाम र नियन्त्रणको तयारीमा मुख्यालयदेखि आठ पृतनासहित विभाग, महानिर्देशनालय, निर्देशनालय, बाहिनी, गण, गुल्मदेखि जिल्लाका युनिटसम्मलाई ‘हाई अलर्ट’ मा राखेको छ । आवश्यक परे लकडाउनसम्मको स्थिति आकलन गरेर सेनाले गृहकार्य गरिरहेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले चरणबद्ध रूपमा के के गर्ने भन्ने विषयमा रणनीति बनाएको छ । सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित सैनिक अधिकारीहरूबीच बिहीबार भएको बैठकमा लकडाउनमा जानुपर्दा के गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
सैनिक अधिकारीहरूको बैठकले विपद् व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मेवारी व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयलाई दिएको छ । महानिर्देशनालयले कोभिड–१९ रोकथाम र नियन्त्रणलाई आवश्यक पर्ने औषधि र औजारहरू पनि व्यवस्था गर्ने छ । बैठकले पछि आवश्यक पर्न सक्ने सामग्रीलाई खरिद गर्न बजेट पनि छुट्याएको छ । प्रवक्ता पाण्डेले २० वटा आईसीयू बेड राख्न पनि पहल भइरहेको जानकारी दिए । उनले आफ्ना युनिट र अस्पतालमा क्वारेन्टाइनका लागि आवश्यक आइसोलेसन वार्ड तयार गर्न निर्देशन दिइसकेको पनि बताए । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १० तथा पोखरा, इटहरी र नेपालगन्जका सैनिक अस्पतालमा २/२ वटा आइसोलेसन बेड तयार छन् । १८ वटा फिल्ड एम्बुलेन्स पनि तयारी अवस्थामा रहेको प्रवक्ता पाण्डेले बताए । ‘सेनाका युनिटमा २/२ वटा गरी ३६ आइसोलेसन बेड तयार हुन्छन्,’ उनले भने ।
सेनाले जिल्लाका आफ्ना हरेक युनिटमा पाल टाँगेर क्वारेन्टाइनको व्यवस्था गरिरहेको छ । संगठनभित्र अत्यावश्यकबाहेकका छुट्टी नदिन पनि निर्देशन दिइएको छ । सैनिक मुख्यालयले विपद् व्यवस्थापन सेल गठन गरेको छ ।
व्यक्तिगत सुरक्षा उपकरणको प्रयोगबारे जानकारी गराउँदै एक सैनिक तस्बिर इलिट जोशी/कान्तिपुर
सेनाले विपद् पर्दा तयारीमा रहन भूतपूर्व सैनिकहरूलाई पनि भनेको छ । राष्ट्रिय सेवा दलमा तालिम लिएका सबैलाई आवश्यक पर्दा काम गर्न तयारीमा रहन भनेको छ । ‘सम्पूर्ण पृतना, गण, बाहिनी, विभाग, निर्देशनालयमा पत्र पठाउँदै को–कोसँग मेडिकल शिक्षासम्बन्धी ज्ञान छ भनेर नामांकन गरेको छ,’ प्रवक्ता पाण्डेले भने, ‘आवश्यकताअनुसार उनीहरूलाई परिचालन गर्छौं ।’
सेनाले नाकामा स्वास्थ्य परीक्षणमा सघाउन सैनिक खटाएको छ । पाण्डेले आफ्नो संगठनका हरेक स्थानमा धेरै जना भेला नहुने, ५ जनाभन्दा कम मात्र एक स्थानमा काम वा व्यायाम गर्ने र बिदामा गएर फर्केकाका लागि केही दिन छुट्टै राख्नेलगायतका क्रियाकलाप गर्न निर्देशन दिइएको पनि जानकारी दिए ।
सेनाले मंगलबार र बुधबार सैनिक मुख्यालयमा कोभिड–१९ रोकथामका लागि प्रशिक्षण दिएको थियो । जसमा मुलुकभरका संगठनमातहतका अस्पताल र युनिटबाट करिब ५० डाक्टर भेला भएका थिए । क्वारेन्टाइन र आइसोलेसन वार्ड व्यवस्थित गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । ‘उनीहरू प्रशिक्षण लिएर कार्य क्षेत्रमा फर्किसकेका छन् । त्यहाँ गएर उनीहरूले मातहतकालाई प्रशिक्षण दिनेछन्,’ पाण्डेले भने । सेनामा २ हजार ३ सय दक्ष स्वास्थ्यकर्मी छन् । नेपाल सेनामा ९६ हजार जनाको दरबन्दी छ । आवश्यक पर्दा सबै ‘फिल्ड’ मा परिचालन हुने प्रवक्ता पाण्डेले बताए ।
