काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को प्रभावका कारण बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी शनिबारदेखि अस्थायी रुपमा बन्द हुने भएको छ ।
‘अप्रिल २१ तारिख ( वैशाख ९) सम्म होटेल पूर्ण रुपमा बन्द गरिने निर्णय भएको हो,’ होटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बन्दको अवधिमा होटलभित्रका रेस्टुरेन्ट, बार, क्लब सबै बन्द रहने छन् ।
२ सय ८० कोठा भएको हायातमा कम्तीमा ३ सय ५० कर्मचारी छन् । सरकारले विदेशी यात्रुको आवागमन रोकेपछि यहाँ केही एयरलायन्सका चालकदल बस्दै आएका थिए । तर, बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले कोभिड-१९ प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाएपछि होेटल बन्द गर्ने निर्णयमा पुगेको होटलका निर्देशक सुमन श्रेष्ठले बताए ।
सरकारले युरोप, पश्चिम एसियाअर्न्तगत खाडी मुलुकहरु, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका कोभिड–१९ प्रभावित मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाउने जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्य रातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमन र ती मुलुकका एयरलायन्सको उडानमाथि प्रतिबन्ध लगाएको छ ।
