के गर्दैछन् ‘सेल्फ क्‍वारेन्टाइन’मा बलिउड कलाकार ?

कान्तिपुर संवाददाता

मुम्बई — सेल्फ क्‍वारेन्टाइनमा बसेका अभिनेता सलमान खानले आफ्नो खाली समय स्केचिङमा लगाएका छन् । कोरोना भाइरस(कोभिड-१९) बाट सतर्कता अपनाउन मार्च ३१ सम्मलाई फिल्मको सुटिङ रोक्ने निर्णयसँगै उनको फिल्म 'राधे: योर मोस्ट वान्टेड भाइ'को सुटिङ पछाडि धकेलियो ।

क्वारेन्टाइनमा समय बिताइरहेका बलिउड अभिनेता खानले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्केचिङ गरेको भिडियोसमेत सार्वजनिक गरेका छन् । त्यस्तै अभिनेत्री प्रियंका चोपडा र उनकी पति निक जोनस आठ दिनका लागि 'सेल्फ आइसोलेसन'मा बसेका छन् । उनले इन्स्टाग्राम भिडियोमा भनेकी छिन्'म र निक ८ दिनका लागि सेल्फ आइसोलेसनमा छौं । हामीले सँधै धेरै मानिसहरुको वरपर बसेर काम गर्‍यौं । अहिले अवस्था फरक छ । यो एकदम अनौठो अनुभव हो । हामी सतर्कता अपनाइरहेका छौं । हामी सुरक्षित छौं, 'सोसल डिस्ट्यान्स'को अभ्यास गर्दैछौं ।'

अभिनेता अमिताभ बच्चनले त आइसोलेसनमा बसेर कविता कोरेको कुरा इन्स्टाग्राममार्फत जानकारी गराएका छन् । उनले आफ्नो कविताबाट दर्शकलाई सुरक्षित रहन सन्देश दिएका छन् । अमिताभले आफू क्वारेन्टाइनमा बसेको कुरा इन्स्टाबाटै जानकारी दिएका हुन् । हातमा स्ट्याम्पले'होम क्वारेन्टाइन' लेखिएको तस्बिर उनले सार्वजनिक गरेका छन् ।




View this post on Instagram

“बहुतेरे इलाज बतावें ,जन जनमानस सब , केकर सुनैं, केकर नाहीं, कौन बताए इ सब ; केयु कहिस कलौंजी पीसौ, केयु आँवला रस केयु कहस घर म बैठो, हिलो न ठस से मस ईर कहेन औ बीर कहेन, की ऐसा कुछ भी Carona , बिन साबुन से हाथ धोई के ,केहू के भैया छुओ न ; हम कहा चलो हमौ कर देत हैं , जैसन बोलैं सब आवय देयो , Carona-फिरोना , ठेंगुआ दिखाऊब तब !" ~ अब

A post shared by Amitabh Bachchan (@amitabhbachchan) on

त्यस्तै अभिनेत्री कट्रिना कैफले यो खाली समयमा जिम बन्द भएपछि घरमै जिम गरेर समय काट्ने सोचेकी छिन् । उनको इन्स्टा भिडियोमा शारीरिक अभ्यासले शरीरलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने बताएकी छिन् । फिटनेससँगै 'सेल्फ आइसोलेसन'को समयमा कट्रिनाले गीतार बजाउने समय पनि पाएकी छिन् ।

अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा माक्स लगाएर हात धुँदै गरेको भिडियो सार्वजनिक गरेकी छिन् । अभिनेता आयुष्मान खुरानाले श्रीमती, छोराछोरीसँग पेन्टिङ गरेर 'सेल्फ क्वारेन्टाइन'को समय बिताएका छन् । श्रीमती तहिरा कश्यप, छोरा विराजवीर र छोरी भरुस्कासँग पेन्टिङ गरेको तस्बिर आयुष्मान सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अभिनेत्री करिना कपूरले भने आफूलाई मन पर्ने परिकार बनाउन समय व्यतित गरेकी छिन् । उनले घर बसेर गाजरको हलुवा खाँदै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेता अर्जुन कपुरले भने पूराना फिल्महरु हेर्ने समय पाएका छन् । उनले हालै फिल्म 'हेराफेरी' हेर्दै गरेको जानकारी इन्स्टाग्राममा राखेका छन् ।

सुटिङ स्थगित गरेसँगै कलाकारहरुले परिवारका लागि समय पाएका छन् । 'सेल्फ क्वारेन्टाइन'को समयमा अक्षय कुमारले पनि परिवारलाई समय दिन पाए । यसखघि उनी 'सूर्यवंशी'को प्रचारमा व्यस्त थिए ।अहिले माधुरी दीक्षित पनि आफ्नो परिवारसँग समय बिताइरहेका छन् । अभिनेत्री कंगना रनावत मनाली पुगेकी छिन् । अभिनेत्री सोनम कपुर भने परिवारसँग समय बिताउन लन्डनमा पुगेकी छिन् । त्यस्तै नेहा धुपिया आफ्नी आमासँग अनि राधिका आप्टे लन्डनमा रहेको पतिसँग सेल्फ क्वारेन्टाइनमा बस्न पुगेकी छन् । प्रकाशित : चैत्र ६, २०७६ १५:०८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्कुल बन्द भयो, अब के गर्ने ? 

खेल, चित्रकला तथा विविध क्रियाकलापले बालबालिकामा भएको तनाव, त्रास र मनो–सामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सहयोग पुग्छ ।
मिनाक्षी दाहाल

कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसको संक्रमण देखिएको छ । संसारभर सबैलाई  यसले आतंकित र सशंकित बनाएको छ । विद्यालय, कलेजहरू बन्द गरिएका छन् । सर्वसाधारणको हिंडडुल, दैनिकी र दिनचर्या समेत प्रभावित भएको छ ।

समाचार तथा सामाजिक सञ्जालहरूमा आउने विभिन्न सूचनाले सबैलाई मनमा भय र त्रासको अनुभूति भइरहेको छ । बिना गहिरो अध्ययन, अनुसन्धान प्रेसित खबरहरूले त अझ वास्तविक सूचनालाई नै ओझेलमा पारेको महसुस हुन्छ । कति पत्याउने, कति नपत्याउने यस्ता समाचारहरूबाट हामी प्रभावित भएका छौं । परिवारका सबै सदस्य भयभीत र तनावग्रस्त रहेका बेला बालबालिकाको अवस्था अझ गम्भीर र असामान्य हुने गर्छ ।

सामान्य अवस्थामा त बालबालिकालाई विशेष हेरविचार र वातावरण आवश्यक पर्छ भने यो विषम र असहज परिस्थितिमा त अझ संयमीत र संवेदनशील भएर उनीहरूसँग कार्य गर्नुपर्ने हुन्छ । यस्तो समयमा बालबालिकामा मानसिक तनाव तथा डर उत्पन्न हुन्छ । अभिभावक तथा अन्य वयस्कले गरेका कुराले उनीहरू अझ धेरै त्रसित भएका हुन सक्छन् ।

अब वार्षिक परीक्षा सकिएर विद्यालयहरू बन्द भएका छन् । तर अभिभावकहरूको भने काममा नियमित जानुपर्ने अवस्थामा बालबालिकालाई कसरी सुरक्षित राख्‍ने ? अझ भनौं कहाँ राख्‍ने भन्ने तनावले सबैलाई चिन्तित बनाएको छ । यस्तो त्रास र तनावका असरलाई तुरून्तै सम्बोधन गर्न सकिएन भने बालबालिकामा यसको प्रभाव लामो समयसम्म रहीरहन्छ । तसर्थ यस्तो विषम परिस्थितिमा बालबालिकालाई विशेष सहयोगको आवश्यकता पर्छ ।

अब कोरोना भाइसरबारे बुझौं । विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो भाइरस स्वासप्रश्वाससम्बन्धी रोग ल्याउने थुप्रै भाइरसका प्रजातिमध्येको एक हो जसले मान्छे र जनावरलाई बिरामी बनाउँछ । अहिलेको महामारीको कारक भाइरस चाहिं कोभिड १९ हो । चीनको वुहानमा यो संक्रमण देखिनुभन्दा पहिले यस भाइरसबारे केही तथ्य थाहा भएको थिएन ।

कोभिड १९ भाइरसको सामान्य लक्षणहरूमा ज्वरो आउने, थकाइ लाग्ने, सुख्खा खोकी लाग्ने, सिंगान बगिरहने, नाक बन्द हुने, घाँटी दुख्ने र झाडापखाला समेत लाग्ने हुन्छ । अहिलेसम्मको लक्षणहरू हेर्दा यसको असर सामान्य, मध्यमदेखि उच्चस्तरको ज्यान नै जानेसम्म रहेको छ । अझ महत्वपूर्ण पक्ष चाहिं के हो भने यस भाइरसको संक्रमण भएका सबै मानिसमा यसको माथि उल्लेख गरिएका लक्षणहरू नदेखिन पनि सक्छ ।

विश्वस्वास्थ्य संगठन (डब्लूएचओ) को हालसम्मको तथ्याङ्कअनुसार यस भाइरसको संक्रमण भएका ८० प्रतिशत मानिस निको भएका छन् र यसबाट मृत्यु भएका मानिसबारे अध्ययन गर्दा उमेर ढल्किएका, अन्य रोगबाट ग्रसित र कमजोरलाई यसको असर धेरै भएको पाइएको छ ।

यो भाइरसको सबैभन्दा खतरनाक पक्ष यसलाई जो कोहीले पनि सार्न सक्छ वा जो कोहीबाट पनि यो भाइरस सर्न सक्छ । त्यस्ता व्यक्ति जसले रोगको लक्षण देखाउँदैन वा देखिन्न तिनीहरू पनि एकअर्कालाई भाइरस सार्ने माध्यम बन्न सक्छन् । लक्षण नदेखिएका मानिसबाट सर्नुलाई अहिलेसम्म संक्रमण बढाउन प्रमुख कारक भएको र यसलाई रोक्न कठीन हुनुको एउटा कारण मानिएको छ ।

अहिले यस संक्रमणको महामारीमा बालबालिकालाई कसरी सुरक्षित गर्ने ठूलो चूनौती बनेको छ । आत्तिएर, डराएरभन्दा पनि विवेकपूर्ण तरीकाले सुरक्षित रहने उपायहरू अवलम्बन गर्नुपर्छ । विद्यालय बन्द भएको बेला बालबालिकालाई कहाँ राख्ने, के गराउने भन्ने अन्योलको अवस्थामा सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको आफू र परिवार सुरक्षित रहनुका साथै आफ्ना वरिपरिको वातावरणलाई पनि सुरक्षित गराउनु, रोग सार्ने वा सर्ने अवस्था आउन नदिनु नै हो । यसका लािग सर्वप्रथम त हामीले स्वस्थ बानीको विकास र अनुशरण गर्नुपर्छ ।

कोरोना भाइरस, कोभिड १९ को संक्रमणबाट जोगिन सबैभन्दा पहिले सरसफाइमा नै ध्यान दिनु पर्छ । सरल र सफा जीवन पद्धति अपनाउनु पर्छ । बालबालिकालाई सफासुग्घर राख्नु पर्छ । यो संक्रमण खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने हावाबाट प्रत्यक्ष सर्छ । तर हावामा भएका विषाणुहरू (भाइरस) अन्य स्थानमा पनि रहन सक्छन् । जस्तो— हातमा वा हातले छोइने वस्तुहरू (टेबलको सतह, फाइल वा किताब) । तसर्थ हावामा भएका विषाणु हात वा अन्य वस्तुमा रहन सक्ने भएकाले हात हरक्षण सफा राख्नु पर्छ ।

हात मिलाउँदा वा अरूले प्रयोग गरेका अन्य सामग्री (टेवल, फाइल वा किताब) हातले छुादा पनि हातमार्फत सर्ने भएकोले जुनसुकै समाग्री चलाएपछि हात सफा राख्ने बानी गर्नुपर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाबाट नै सर्ने हुनाले निश्चित दूरी कायम राख्नु पर्छ ।

तसर्थ यस समयमा बालबालिकालाई नियमितरूपमा साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुने बानी लगाउनुपर्छ । यदि खोकी लागेमा वा हाच्छ्युँ आएमा नाक र मुख छोपेर खोक्ने र हाच्छ्युँ गर्न सिकाउनु पर्छ । साथमा रूमाल नभएको अवस्थामा कुहिनाले नाकमुख छोपेर खोक्ने र हाच्छ्युँ गर्न भन्नु पर्छ । हात लगाउनु हुँदैन र हातले मुख, नाक छुनेजस्तो कार्य गर्नु हुँदैन भनी सिकाउनु पर्छ । खोक्ने र हाच्छ्युँ गर्नेहरूबाट टाढा रहनु नै उत्तम विकल्प हो ।

बालबालिका स्वभावले नै कुनै न कुनै क्रियाकलापमा अल्झिरहन मन पराउँछन् । उनीहरूलाई यस समयमा डर देखाउने, अनावश्यक रोकटोक गर्ने र घरभित्र नै बन्दी बनाउने गर्नुभन्दा विभिन्न क्रियाकलापमा व्यस्त गराउनुपर्छ । खेल, चित्रकला तथा विविध क्रियाकलापले बालबालिकामा भएको तनाव, त्रास र मनो–सामाजिक असरलाई न्यूनीकरण तथा निराकरण गर्न सहयोग पुग्छ ।

मनोविज्ञहरू भन्छन्— अभिभावकहरूमा नै बालबालिकाको मनो–सामाजिक असर हटाउने प्रमुख जिम्मेवारी हुन्छ । तसर्थ यस्तो असामान्य परिस्थितिलाई क्रमशः सामान्यीकरण गर्न अभिभावकले पर्याप्त समय दिनुपर्छ ।बालबालिकाले अनौपचारिक रूपमा पनि सिकिरहेका हुन्छन् । आफूलाई लागेका भावना प्रस्तुत गर्ने वातावरणबाट उनीहरूमा सिकाइका साथै सकारात्मक मनो–सामाजिक प्रभाव पर्छ । बालबालिकासँग थुप्रै जिज्ञासा हुन्छन् । उनीहरूको जिज्ञासालाई सुनीदिने र झर्को नमानी त्यसको सही उत्तर दिने गरेमा अभिभावकसँगको सम्बन्धमा प्रगाढता आउनुका साथै उनीहरू यस्ता सबै प्रकारका विषम परिस्थितिप्रति सचेत र सुरक्षित हुनेछन् ।

सुरक्षित रहने भन्दैमा बाहिर निस्कनै नमिल्ने होइन । बालबालिका धेरै प्रकृतिसँग रमाउने हुनाले उनीहरूलाई बाहिर खेल्न, उफ्रन दिनुपर्छ । दिनभरि घरभित्र बन्द गरेर राख्नेभन्दा भीडभाड नहुने स्थानहरूमा लिएर जान सकिन्छ । हामीकहाँ बालबालिकाका लागि खेल्ने त्यस्ता खुला स्थान अति नै कम भए पनि जहाँ, जे जस्तो परिवेश छ सोअनुसार उनीहरूलाई खेल्न, घुम्न र रमाउन दिनुपर्छ ।

बालबालिकालाई आफूबाट अलग राख्ने, लामो समयसम्म टीभी, कम्प्युटर वा फोनजस्ता प्रविधिसँग अलमलिन दिएमा उनीहरूमा सिकाइभन्दा धेरै अन्य समस्या देखिन थाल्नेछन् । जस्तो— चिडचिडाहट बढ्ने, झर्किने, एक्लै बस्न मन पराउने साथै आँखा दुख्ने, घाँटी दुख्ने हुन्छ ।

उनीहरू हरेक समय सिक्न तयार हुन्छन् र सिकिरहेका पनि हुन्छन् । उनीहरूको यो स्वःस्फूर्त सिकाइलाई अनावश्यक दबाब र तनाव नदिइकन आफूसमेत सहभागी भई पढीदिने, उनीहरूसँग खेल्न जाने र घरको काममा पनि उनीहरूलाई सहभागी गराउने गर्नाले बालबालिकाले रमाइलो महसुस गर्नेछन् । यस्तो वातावरण बालबालिकाको समग्र विकास र सिकाइको लागि महत्वपूर्ण हुन्छ ।

अभिभावकहरूले सतर्कता र सजगतासाथ कहाँ, केसँग खेल्न दिने, के के गर्ने र के गर्न नहुने भन्ने कुरा बालबालिकालाई तर्कसहित भनी दिएमा उनीहरूले अनावश्यक झगडा र माग पक्कै पनि गर्ने छैनन् । बालमनोविज्ञहरू भन्छन्— बालबालिकालाई लामो समयसम्म अन्योल र त्रासको वतावरणमा राख्न हुँदैन । जतिसक्दो छिटो उनीहरूको दैनिकीमा सामान्यीकरण गर्दै लैजानु पर्छ । तसर्थ यो अवस्थालाई अवसरको रूपमा अभिभावकहरूले स्वस्थ बानीको विकास गर्न, बालबालिकासँग समय बिताउन, उनीहरूको कुरा सुन्न र बुझ्न सदुपयोग गर्नसकेमा हामी कोरोना विरुद्धको यो लडाईंमा पक्कै पनि विजयी हुनेछौं ।

काठमाडौँ विश्वविद्यालयबाट ‘ओरल ल्यांग्वेज एण्ड अर्ली लिटरेसी’मा विद्यावारिधि गरेकी दाहाल सोही विश्वविद्यालयमा शिक्षा संकायकी भिजिटिङ फ्याकल्टी पनि हुन् ।

प्रकाशित : चैत्र ६, २०७६ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×