सिड्नी — अस्ट्रेलियाले शुक्रबार रातिबाट सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री स्कट मरिसनले सबै विदेशी नागरिकमाथिको प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
‘हामीले अस्ट्रेलियन नागरिक र तिनका परिवारका सदस्यबाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउनै पर्ने निर्णयमा पुगेका छौं,’ बिहीबार दिउँसोको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले भने । ‘हामीले प्रतिबन्ध लगाउनुको मुख्य कारण अस्ट्रेलियामा देखिएको कोरोना भाइरस संक्रमणमध्ये ८० प्रतिशत केस विदेशमै वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा आएको कारण भएको देखिन्छ,’ प्रधानमन्त्री मरिसनले भने । बिहीबार बिहानसम्म अस्ट्रेलियामा ६३६ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।
यसैबीच न्युजिल्यान्डले पनि शुक्रबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डेनले बिहीबार न्युजिल्यान्डको सुरक्षाका लागि विदेशी नागरिकको प्रवेशमा रोक लगाएको बताएकी छिन् । ‘न्युजिल्यान्डको इतिहासमा कहिल्यै यस्तो शक्ति प्रयोग गरिएको थिएन, मैले यसलाई अहिलेसम्मकै नयाँ कदम मानिएको छ । हामीले देश र हाम्रा नागरिकको स्वास्थ्यका लागि यो कदम चाल्नैपर्छ ।’ बिहीबार बिहानसम्म न्युजिल्यान्डमा २८ जनामा संक्रमण देखिएको छ ।
बिहीबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ८ हजार ९ सय ७० को मृत्यु भएको छ भने २ लाख १९ हजार ३ सय ६७ जना संक्रमित भएका छन् । त्यस्तै संक्रमितमध्ये ८५ हजारभन्दा बढी निको भइसकेका छन् ।
