लन्डन — कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रणका लागि बेलायत सरकारले अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । सरकारले शुक्रबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा मे र जुनमा तय भएका जीसीएसई र ए लेभलका परीक्षा पनि रद्द हुने जनाए । संवेदनशील जागिर भएका प्रहरी, मेडिकल स्टाफ र डेलिभरी ड्राइभरका केटाकेटीका लागि भने स्कुल बन्द नहुने बताइएको छ ।
स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले पनि स्कुल बन्द गर्ने घोषणा गरेका छन् । बेलायतले इटाली, डेनमार्क र आयरल्याण्ड जस्ता अति प्रभावित युरोपेली मुलुकका कदम अनुशरण गरेको हो ।
कोरोना भाइरससंग जुध्न २० हजार सैनिक तयारी अवस्थामा समेत रहेका रक्षा मन्त्रालयले जनाएको छ । ति सेना सडक, अस्पताल र अन्य प्रमुख स्थानमा परिचालन हुने रक्षामन्त्री बेन वालेसको भनाइ उधृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
सेनाले नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने र सेनाका ट्यांक चालकहरुलाई अक्सिजन आपूर्तिमा समेत परिचालन गरिने बताइएको छ ।
उक्त भाइरसबाट बेलायतमा बुधबारसम्म एक सय ४ जनाको मृत्यु भएको छ भने २६२६ जना संक्रमित भएका बेलायती अखबारहरुले जनाएका छन् । बेलायतमा ५६ हजार दुई सय २१ जनाले कोरोना भाइरसको परीक्षण गराएका छन् जसमध्ये ५३ हजार ५ सय ९५ को नेगेटिभ पाइएको छ । सरकारले बेलायतमा झण्डै दोब्बर एकै दिनमा २५ हजार जनासम्मको परीक्षण गर्ने योजना बनाएको छ ।
बेलायत सरकारले फ्रान्स, इटालीमा जस्तै लन्डन पनि लक डाउन गर्ने तयारी गरिरहेको समाचार प्रकाशित भएका छन् । प्रधानमन्त्री कार्यालयले त्यस्तो निर्णय तत्काल हुने सम्भावना नभएको बताएपनि प्रधानमन्त्री जोन्सनले सही समयमा छिटो र कडा निर्णय लिन सकिने जनाउ दिएका छन् ।
कोरोना भाइरसका कारण अहिले सेन्ट्रल लन्डन सुनसान छ । सधैं भीड रहने प्रमुख पर्यटकीय स्थलहरु लन्डन आई, टावर ब्रिज, ट्राफलगर स्क्वायर, वेस्ट मिनिस्टर, अक्सफोर्ड स्ट्रिट आदि ठाउ मरभूमि जस्तै बनेका छन् । बेलायती अखबार गार्डियनका अनुसार रेल चढ्ने यात्रु विगत भन्दा ५० प्रतिशतले घटेका छन् भने बसमा यात्रा गर्ने यात्रुमा करिब ४० प्रतिशत कमी आएको छ ।
सरकारले गत सोमबार कोरोना भाइरस संक्रमण रोक्न पब, क्लब, रेस्टुरेन्ट, सिनेमा घर, थिएटर लगायत सामाजिक जमघटमा नजान अपिल गर्दै सबै बेलायती जनतालाई अनावश्यक यात्रा नगर्न र अरु मानिसहरुसंग सकभर सम्पर्कमा नआउन आग्रह गरेका थिए । सम्भव भए घरैबाट काम गर्न पनि उनको अनुरोध छ ।
