‘ज्यान रहे न सबकुछ छ’
नयाँदिल्ली — भारतको बैंग्लोरमा कुकका रुपमा कार्यरत डोटीका मनोज भट्टको दुई महिना पछि घर फर्कने योजना थियो । विगत तीन वर्षदेखि बैंग्लोरमा काम गर्दै आएका भट्टको कमाइ र बसाइ पनि राम्रो थियो ।
तर, पछिल्ला केही दिनमा भारतभरि नै कोरोनाको त्रास बढ्दै गएपछि उनले तत्काल घर जाने निर्णय गरे । र, उनी बुधबार नै घर जानका लागि बैंग्लोरबाट ट्रेन चढेका छन् । अन्य करिब ७० जना भन्दाबढी नेपालीहरुसहित हिँडेका भट्ट अहिले करिब ४६ घन्टे यात्रामा छन् । कोरोना त्रासले उनलाई अहिले कहिले घर पुगुँ जस्तो भएको छ । ‘कहिले घर पुगिएला झैं भएको छ । ज्यान रहे सब कुछ छ, घर पुगेपछि त जे होला होला,’ ट्रेनमा यात्रा गरिरहेका भट्टले कान्तिपुरसँग फोनमा भने ।
भारतको दक्षिणी राज्य कर्नाटकमा ठ्याक्कै कति संख्यामा नेपालीहरु छन् भन्ने यकिन तथ्याकं छैन । तर, प्रवासी नेपालीहरुका अनुसार करिब ५० हजारभन्दा बढी भएको अनुमान गर्छन् । त्यसमध्ये पनि धेरैजसो बैंग्लोर बस्छन् । तीमध्ये अधिकांश सेक्युरिटी गार्ड, होटल रेष्टुराँ र सोसाइटीमा कुक र वेटरका रुपमा कार्यरत रहेको बताइन्छ । त्यसबाहेक बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र घरायसी काम गर्नेहरुको पनि बाक्लो उपस्थिति रहेको प्रवासी नेपालीहरुको भनाइ छ ।
भारतका अन्य सहरमा भन्दा कर्नाटकमा कोरोनाको त्रास अत्यधिक देखिन्छ । त्यसो हुनुमा कोरोना संक्रमितहरुको संख्यामा दिनप्रति दिन भइरहेको वृद्धि पनि हो । पाँच दिन अघि कर्नाटककै एक जना संक्रमितको मृत्यु पछि त त्रास बढेर गएको हो । त्यसपछि त्यहाँको राज्य सरकारले पुरै राज्यमा आंशिक लकडाउन लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि कोरोनाको बढ्दो त्रासबाट भारतका अन्य सहरजस्तै बैंग्लोर पनि नराम्रो प्रभावित हुन पुग्यो ।
प्रदेश सरकारले सबै शैक्षिक संस्थाहरु, सपिङ मल, सिनेमा हल बन्द गर्न निर्देशन दिएको थियो । बुधबार थप तीन जनामा कोरोना पुष्टि भएपछि त्यहाँको सरकारले थप कडाई गरेको छ । योसँगै भारतमा केरला र महाराष्ट्र पछि कर्नाटकमै सबैभन्दा १३ जनामा कोरोना पुष्टि हुने प्रदेशमा पर्छ । बुधबार थप तीन जनामा कोरोना पुष्टि भएपछि त्यहाँको प्रदेश सरकारको आपतकालीन बैठकले ३१ मार्चसम्म पुरै राज्यलाई आंशिक लक डाउन गर्ने निर्णय गरेको छ ।
सरकारको निर्णय हुनुअघि नै बहुराष्ट्रिय कम्पनीहरु बन्द भइसकेका छन् । सामान्य पसल, होलसेल मात्र खुलेका छन् । चकमन्न हुन थालेको छ । त्यहाँ रहेका नेपालीहरुका अनुसार सडकमा सार्वजनिक सवारीसाधनहरु क्रमशः पातलिँदै गएका छ्न । चलेका सिमित सार्वजनिक सवारी साधनहरु पुरै खाली छन् । ५०/६० क्षमताका बसमा पनि दुईचार जना यात्रु हुने गरेका छन् ।
सरकारले ठूलो संख्यामा भेला हुन रोक लगाएका कारण सोसाइटीमा हुने विवाहलगायतका कार्यक्रम पनि हुन छाडेका छन् । कोरोनाको त्रासले मानिसहरुको चहलपहल नै न्यून हुँदै गएपछि त्यहाँ रहेका होटल, रेष्टुराँले आफ्ना कर्मचारीलाई बिदा दिन थालिसकेका छन् । जसले गर्दा तिनमा काम गर्ने नेपाली कुकहरुको काम पनि बन्द भएको छ ।
बैंग्लोरमा आईटीका बहुराष्ट्रिय कम्पनीहरुको केन्द्र पनि हो । तर, कम्पनीका कर्मचारीहरुका घरमा ठूलो संख्यामा नेपालीहरुले सुरक्षाकर्मीदेखि घरका सहयोगीका रुपमा काम गर्दै आएका छन् । ती कम्पनीहरुले कार्यालय बन्द गरेर सबै कर्मचारीहरुलाई घरबाटै काम गर्न भनेका कारण उनीहरुले नेपाली कामदारहरुलाई अहिले घर जानु र पछि अवस्था सामान्य भए पछि बोलाउने भन्दै बिदा दिन थालेको एन बहादुर रावलले बैंग्लोरबाट कान्तिपुरलाई बताए । ‘मानिसहरुको चहलपहल पुरै पातलिएको छ, यहाँका रेष्टुराँ, होटल, सोसाइटी सबै क्रमशः बन्द हुन थालिसके । त्यही भएर कोरानाको त्रास पनि भएकाले नेपालीहरु घर फर्कन थालेका छन्,’ रावलले भने ।
कर्नाटक सरकारले पीजी (होस्टल)हरु पनि खाली गराउन निर्देशन दिइसकेको छ । सरकारको निर्देशनपछि ती पीजीमा कुक, सहयोगी र सुरक्षाकर्मीको रुपमा कार्यरत नेपालीहरु पनि काम विहीन भएका छन् । त्यही भएर नै उनीहरु क्रमशः घर फर्किरहेको रावलले जानकारी दिए । तर, घर फिरिरहेका नेपालीहरुमा रोजगारी गुमेको भन्दा पनि कोरोनाको भय बढी रहेका कारण घर फर्कने क्रम बढेको रावलको भनाइ छ । ‘ज्यान नै के हुने हो भन्ने चिन्ता रहेको देखिन्छ, रोजगारी त त्यसै पनि गुमिहाल्यो,’ रावलले भने ।
अखिल भारत नेपाली एकता मञ्चसँग समेत आबद्ध रहेका भट्टले पनि रोजगारी भन्दा पनि ज्यान ठूलो कुरा भएको बताए । भट्टका अनुसार त्यही भएर नै घर फिरिरहेका नेपालीहरुमा पनि रोजगारीको भन्दा पनि परिवारसँग कहिले भेट होला भन्ने चिन्ता बढी छ । ‘मरे पनि घरपरिवारकै आडमा मर्न पाए हुन्छ भन्ने छ सबैमा,’ उनले भने । ‘त्यही भएर नेपाल सरकारले रोजगारी दिन नसके पछि यस्तो विपद्को बेला सुरक्षित रुपमा घर फर्किने वातवरण बनाइदिए मात्र पनि पुग्छ,’ उनले भने ।
कोरोनाको संक्रमितको संख्यामा वृद्धिसँगै विस्तारै बस र ट्रेन समेत बन्द हुन्छ भन्ने हल्लाका कारण नेपालीहरुलाई थप आतंकित बनाएको भट्टको भनाइ छ । त्यसो गरे पनि अन्यथा सोच्नुपर्ने विषय नभएको उनी बताउँछ्न् । ‘जसले पनि आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न सकेसम्म प्रयास गर्छ । भोलि सबै बन्द पनि हुनसक्छ । त्यही भएर पनि नेपालीहरु घर फिर्न थालेका हुन्,’ उनले भने ।
