मोरङ — प्रदेश १ को संसद अनिश्चितकालका लागि बिहीबारदेखि स्थगित गरिएको छ । नोबल कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाएपछि प्रदेश १ को संसद पनि स्थगित गरिएको हो ।
प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरिएको सदनमा जानकारी गराए ।
बिहीबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सरकारले गरेको घोषणालाई मध्य नजर गर्दै प्रदेशसभा बैठक बसिरहन उपयुक्त नभएकाले स्थगित गर्ने सहमति अनुसार भण्डारीले संसद स्थगित गरेका हुन् ।
वातावरण विधयेक संशोधनसहित पारित
प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ संशोधनसहित बिहीबार प्रदेशसभालेसर्वसम्मतिले पारित गरेको छ । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे जबेगुले बुधबार सदनमा उक्त विधयेकको दफाबार छलफलपछि प्रतिवेदन पेस गरेकी थिइन् ।
उक्त विधयेकमा ११ जना सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावलगायत विज्ञको उपस्थितिमा दफाबार छलफलपछि जबेगुले सदनमा प्रतिवेदन पेस गरेका थिइन् । सभामुख प्रदीपकुमार भण्डारीले सदनमा समितिले पेस गरेको विधयेक निर्णयार्थ प्रस्तुत गरेपछि सांसदहरुले सर्वसम्मतिले पारित गरेको थियो ।
