कोरोना रोकथाममा अमेरिकाद्वारा नेपाललाई २१ करोड सहयोग

चैत्र ६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई करिब २१ करोड रूपैंया सहयोग गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीका अनुसार कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गर्ने घोषणा गरिएको हो ।

‘यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (यूएसएआईडी) को संक्रमक सरुवा रोगविरुद्ध आपतकालीन सञ्‍चित कोषको एक हिस्सा हो,’ विज्ञप्तीमा भनिएको छ । दूतावासका अनुसार कूल रकमको करिब १३ करोड रुपैयाँ कोरोना रोकथाम बारे समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्‍न प्रयोग गरिने छ । 


‘यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को खेपका अतिरिक्त हो,’ विज्ञप्तीमा उल्लेख छ ।


यसअघि फागुन २३ मा अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोक्न सरकारलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको थियो । यी पीपीई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले प्रदान गरेको गरेको थियो ।

अमेरिकाले नेपाललाई हस्तान्तरण गरिएका उपकरणमा मास्क, चेहरा कवच,जुत्ता ढाक्ने खोल, सर्जिकल टोपी, ट्राउजर तथा ट्युनिक र थर्मोल्यास थमोमिटर थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully