काठमाडौँ — चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताउँदै आज अपरान्हदेखि घर फर्काउन थालिएको जानकारी दिए ।
डाक्टर देवकोटाले भने, ‘सबै जनाको ल्याब रिपोर्ट आइसकेको छ र नेगेटिभ देखिएकाे छ ।' उनीहरुलाई अभिभावकको जिम्मा लगाएर पठाउने कार्य भइरहेको नेपाली सेनाका मेजर डा.नविन फूयाँल जानकारी दिए । घर टाढा भएकाहरु मंगलबारसम्म फर्कने मेजर फूयाँलले बताए ।
खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड-१९ को संक्रमण नदेखिएकाे हाे । क्वारेन्टाइनमा राखिएका नेपालीहरुकाे चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो। उनीहरुको दाेस्राे पटककाे नमुना शनिबार संकलन गरिएको थियो।
उनीहरुलाई ल्याउने विमानका चालक दलसहितका १८ जनाको टिममा पनि कोभिड-१९ काे संक्रमण नपाइएपछि हिजाे नै चालक दलका टिम आइतबार नै घर फर्किसकेका छन्। उनीहरुलाई भने नगरकोट क्वारेन्टाइनमा राखिएको थियो।
सम्बन्धित समाचार
