चीनबाट नेपाली ल्याउने विमानका १८ सदस्यलाई क्‍वारेन्टाइनबाट बिदाइ

फाल्गुन १८, २०७६

लिला श्रेष्ठ

भक्तपुर — कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएको चीनको बुहानबाट नेपाली नागरिक लिएर फर्केका नेपाल वायु सेवा निगमको विमानका चालक दलका १८ जनालाई क्वारेन्टाइनबाट बिदाई गरिएको छ ।

चाँगुनारायण नगरपालिका–६ पिपलबोटस्थित खानेपानी सरसफाई डिभिजन तालिम केन्द्र क्वारेन्टाइनमा रहेका १८ जना मै कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछि उनीहरूलाई आइतबार साँझ बिदाइ गरिएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, शहरी विभागका इन्जिनियर, नेपाल एयरलायन्सका पदाधिकारी, स्थानीयबासिन्दा लगायतले खादा, टिकासहित बिदाइ गरेका थिए ।

कोरोना भाइरस प्रभावित चीनको वुहानबाट नेपाली नागरिक ल्याएर क्वारेन्टाइन राख्‍न लागेको विषयलाई लिएर चर्को विरोधमा उत्रिएका स्थानीय बासिन्दाले समेत माफी माग्दै उनीहरुलाई खादा ओढाएर बिदाइ गरे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोना परीक्षणका लागि शनिबार उनीहरु सबैको नमुना संकलन गरिएको थियो ।

चाँगुनारायण–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सबैको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको हो ।

उनीहरुको नमुना परीक्षण भइरहेको र सोमबारसम्म रिपोर्ट आइसक्‍ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । क्वारेन्टाइनमा राख्‍नुअघि पनि उनीहरूको कोरोना परीक्षण गरिएको थियो । 

कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि हुने बित्तिकै खरिपाटी क्वारेन्टाइनमा रहेका नागरिकलाई पनि बिदाइ गर्ने पाण्डेले बताइन् । क्वारेन्टाइनमा रहेका मध्ये कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा आइसोलेसनको व्यवस्था गरिएको छ । 

लिला

Link copied successfully