यात्रुको स्वास्थ्य जाँच प्रबन्धका लागि कार्यदल

फाल्गुन १८, २०७६

रासस

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउने व्यवस्था गर्नका लागि कार्यदल गठन गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आइतबार मन्त्रालयमा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो । 


नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा. हेमन्त चन्द्र ओझा, विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थी, एयरलाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको छ । 


मन्त्रालयले उक्त कार्यदललाई स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरणसमेतको आवश्यकता पहिचान गरी आइतबारदेखि नै तयारी गर्न निर्देशन दिएको छ । त्यस्तै उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुलाई स्वास्थ्य जाँचको डेस्क पार गरी जानुपर्ने प्रावधानसम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरूपमा जहाज अवतरणको क्रममा र आगमन तथा प्रस्थान कक्षबाट निरन्तररूपमा प्रवाह गर्ने व्यवस्थाका लागि प्राधिकरणलाई निर्देशन दिइएको छ । 


सडकमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गरी उक्त मन्त्रालयलाई अनुरोध गर्ने, भाइरसको प्रभाव न्यूनीकरण तथा रोकथामका क्रममा विभिन्न मुलुकले अवलम्बन गरेको उडानसम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँगको छलफलको आधारमा नेपालले उडान रोक्न पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन पेश गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ ।


नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समीक्षा गरी पेश गर्न, नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ । 


नेपालको पर्यटन प्रवद्र्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखी आवश्यक आन्तरिक तयारी गर्ने, नेपाल वायुसेवा निगमबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको उडान सुरुवातमा दुवै मुलुकमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्न निर्देशन दिइएको छ । 

निगमको नारिता उडानको औपचारिक कार्यक्रम रद्द

मन्त्रालयमा भएको उक्त बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, अध्यागमन विभागका महानिर्देशकलगायतको उपस्थिति रहेको थियो ।

कोरोना भाइरस

रासस

Link copied successfully