७ जनाले निगमको यात्रा रद्द गरे
काठमाडौँ — कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण देखाउँदै नेपाल वायुसेवा निगमले आइतबार राति जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानको औपचारिक कार्यक्रम स्थगन गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तय गरिएको पहिलो उडानको औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएका हुन् ।
उनको निर्देशनपछि निगमले राति विमानस्थलमा गरिने कार्यक्रम रद्द गरेको निगम प्रवक्ता अर्चना खड्काले कान्तिपुरसँग बताइन् । ‘नेपाल वायुसेवा निगमबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको उडान सुरुवातमा दुवै मुलुकमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्ने,’ मन्त्रालय मातहतका निकाय सम्वद्धसँगको बैठकपछि गरिएको निर्णयमा लेखिएको छ ।
निगमको जहाजमा २१ जना सित्तै जापान उड्दै [को को छन् ?]
मन्त्रालयका एक अधिकारीका अनुसार जापान सरकारले उक्त मुलुकमा भिडभाड नगर्न नगराउन देशभर सरकुलर जारी गरेकाले यस्तो निर्णय गर्नुपरेको हो । जापानले कोरोनाको प्रभावका कारण समूहमा हिँडडुल नगर्न, भिडभाड, सभासम्मेलनमा रोक लगाएकाले यस्तो गर्नुपरेको ती अधिकारीले बताए ।
यसैबीच निगमको पहिलो उडानमा सित्तैमा घुम्न जाने सूचीमा रहेका मध्ये कांग्रेस सांसद पुष्पा भुसाल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, घनश्याम उपाध्याय र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यात्रा रद्द गरेको निगमको वाणिज्य विभागले जनाएको छ । त्यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिव दीपेन्द्र दाहाल र निगमको सञ्चालक समितिका सदस्य विष्णुराज ढकालले अन्तिम घडीमा यात्रा रद्द गरेको निगमले जनाएको छ ।
यात्रा रद्द गर्नेमध्येका एक यात्रुले जापानमा कोरोनाको प्रभाव तथा उता कुनै पनि औपचारिक कार्यक्रम गर्न नमिल्ने भएकाले आफूले यात्रा रद्द गर्न लागको बताए । ‘अहिले परिस्थिति राम्रो छैन त्यसमाथि निगमको आर्थिक अवस्था बिग्रेका बेला, कुनै उजुरबाजुर भइहाले संसदीय समितिहरुले खर्च असुलउपर गराउनु भनेर कुनै दिन निर्देशन दिइहाले बदनाम मात्रै हुने त्यसैले भिसा लागिसकेपछि यात्रा रद्द गर्ने निर्णय गरें,’ तीनले नाम नछापिदिने शर्तमा भने ।
वाणिज्य विभागका एक अधिकृतका अनुसार पहिलो उडानमा सित्तैमा १६ जनामा सांसदहरु बोधमायाकुमारी यादव, सरलाकुमारी यादव, बलबहादुर साम्सोहाङ, गणेशकुमार पहाडी र कृष्णप्रसाद दाहाल छन् । त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका स्वकीय उपसचिव प्रेमप्रसाद गुरागाईं, उनका प्रेस संयोजक राजेश राई, पत्रकारहरु बेन्जु सुवेदी, कालिका खड्का, निमा कुमारी काफ्ले र खगेन्द्र अधिकारी छन् ।
त्यस्तै, निगमको सञ्चालक समितिका सदस्य अच्युत पहाडी, निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्द, निर्देशक टंकनिधि दाहाल,काठमाडौं विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, प्रधानमन्त्रीका सञ्चार विज्ञ कर्मचारी रामशरण बजगाईं छन् । यी सबैलाई निगमले बिजनेस श्रेणीको सिटमा सित्तैमा घुमाएर ल्याउने छ । निगमले यो कार्यक्रमका लागि न्यूनतम लागत २५ लाख लाग्ने भनेको छ ।
