काठमाडौँ — कोरोनाको संक्रमणको आशंकामा दुई जना व्यक्तिलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
उनीहरु दुवै चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली भएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए । आइसोलेसन वार्डमा राखिएका दुवै पुरुष हुन् । ‘एकजनालाई हिजो र एक जनालाई आज आइसोलेसन वार्डमा राखिएको छ,’ बाँस्तोलाले भने ।
उनका अनुसार उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको हो । दुई जना अस्पताल भर्ना भएको ३ बजेसम्मको तथ्यांक हो ।
बाँस्तोलाले नमुना संकलन गरेर ल्याबमा पठाइसकेको बताउँदै साेमबारसम्ममा रिपोर्ट आउने बताए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिसकेको छ।
