कोरोना प्रकोप : अमेरिकामा एक जनाको मृत्यु

फाल्गुन १८, २०७६

एजेन्सी

वासिंगटन — कोरोना भाइरस(कोभिड-१९) का कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ । कोभिड १९ बाट संक्रमित वासिंगटनका ५० वर्षीय व्यक्तिको शनिबार मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

ती व्यक्ति हालसालै कतै नगएको र संक्रमित व्यक्तिको सम्पर्कमा पनि नरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका डाक्टर रोबर्ट रेडफिल्डले बताए ।

कोभिड १९ का कारण अमेरिकामा मृत्यु भएको यो पहिलो घटना भए पनि अमेरिकी नागरिकको मृत्यु भएको भने यो पहिलो घटना होइन । यसअघि वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो अमेरिकामा कोभिड-१९ को प्रकोपको खतरा कम रहेको भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  थप संक्रमणको सम्भावना भए पनि अमेरिका पूर्ण रुपमा तयार रहेको बताए ।

अमेरिकी अधिकारीहरुका अनुसार इरान, दक्षिण कोरिया, इटालीलगायतका देशबाट आउने यात्रुलाई केही समय प्रतिबन्ध लगाइने भएको छ । अमेरिकामा ६८ जनामा संक्रमण देखिएको छ । 

डिसेम्बरमा चीनको वुहानमा कोरोना संक्रमण देखिएयता विश्वभर करिब ३ हजारको मृत्यु भइसकेको छ । त्यस्तै विश्वका ५० भन्दा बढी देशमा ८६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

आइतबार बिहानसम्म चीनमा मात्रै २८७० को मृत्यु भएको छ भने ७९ हजार ८ सय २६ संक्रमित भएका छन् । त्यस्तै इरानमा ४३ जनाको मृत्यु भएको छ भने ५९३ जनामा संक्रमण देखिएको छ । 

दक्षिण कोरियामा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय २६ जनामा संक्रमण देखिएको छ । इटालीमा २९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक हजार एक सय २८ रहेको छ । 

त्यस्तै जापानमा ११ जनाको मृत्यु भएको छ भने एक हजार २ सय ९८ मा संक्रमण देखिएको छ । त्यस्तै कोभिड १९ का कारण फ्रान्स र हङकङमा २/२ जना तथा फिलिपिन्स, ताइवान र अमेरिकामा १/१ जनाको मृत्यु भएको छ ।  

कोरोना भाइरस

एजेन्सी

Link copied successfully