कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट फर्किएलगत्तै मंगोलियाका राष्ट्रपति क्‍वारेन्टाइनमा

एजेन्सी

उलानबटार — चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट्‍टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो । चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

चीनबाट फर्किएलगत्तै मंगोलियाका राष्ट्रपति क्‍वारेन्टाइनमा

कोभिड-१९ को संक्रमण देखिएपछि चीन भ्रमण गर्ने खल्तमा पहिलो राष्ट्रप्रमुख हुन् । उनी बिहीबार विदेशमन्त्री सोगबटार दामदिन र वरिष्ठ सरकारी अधिकारीहरुसँग चीन भ्रमणमा आएका थिए । राष्ट्रपति खल्तमाले चिनियाँ समकक्षी सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका थिए ।

शुक्रबार ७ मुलुकमा पहिलो संक्रमण

वटा मुलुकमा शुक्रबार पहिलोपटक कोभिड१९ संक्रमण पाइएको छ । अफ्रिकी राष्ट्रमध्ये सबैभन्दा धेरै जनसंख्या रहेको नाइजेरियामा भाइरस संक्रमण पुष्टि भएको छ । इटालीबाट आएका एक पुरुषमा संक्रमण पाइएको स्वास्थ्य अधिकारीले जनाएका छन् । न्युजिल्यान्डमा पनि पहिलो संक्रमित पुष्टि भएको छ । इरानबाट फर्किएका एक व्यक्तिमा कोभिड१९ देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पूर्वी युरोपका बेलारुस र लिथुवानियाले पहिलोपटक आफ्ना देशमा कोभिड१९ को संक्रमण पाइएको जनाएका छन् । इस्टोनिया, मोनाको र नेदरल्यान्ड्सले पनि भाइरस संक्रमित रहेको पुष्टि गरेका छन् ।

बेलायती नागरिकको मृत्यु

कोभिड१९ बाट जापानमा एक बेलायती नागरिकको मृत्यु भएको छ । योकोहामामा राखिएको प्रिन्सेस डामन्ड पानीजहाजमा रहेका उनको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले उत्पन्न गराउने रोग कोभिड१९ का कारण मृत्यु हुने उनी पहिलो बेलायती नागरिक हुन् । बेलायतले गत शनिबार उक्त पानीजहाजबाट ३२ जनालाई स्वदेश फर्काएको थियो । हाल उनीहरूलाई विर्रालस्थित एरो पार्क अस्पतालमा दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ । जापानमा मृत्यु भएका बेलायतीमा भने संक्रमण देखिएपछि त्यतै राखिएको थियो ।

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी : कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

बेलायतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इरानमा रहँदा अर्का दुई बेलायतीमा संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । बेलायतमा हालसम्म २० जनामा कोरोना संक्रमण पाइएको छ । हङकङबाट प्रिन्सेस डाइमन्ड पानीजहाजमा यात्रा गरेका एक पुरुषलाई कोरोना भाइरस संक्रमण पाइएपछि फेब्रुअरीको पहिलो सातादेखि उक्त जहाजलाई जापानको तटीय सहर योकोहामामा क्वारेन्टाइनमा राखिएको छ । पानीजहाजमा यात्रा गरेका मात्रै ६ जनाको कोभिड१९ ले मृत्यु भएको छ ।

विश्‍वभर २९२३ को मृत्यु, ८५ हजारभन्दा बढी संक्रमित

शनिबार बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय २३ पुगेको छ । त्यसमध्ये चीनमा मात्रै २ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । चीनबाहिर विभिन्न ८ मुलुकमा कोभिड-१८ ले ८८ जनाको मृत्यु भएको छ ।

चीनबाहिर इरानमा सबैभन्दा बढी ३४ जनाको मृत्यु भएको छ । शनिबार बिहानसम्म इरानमा ३ सय ८८ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । इरानका उपराष्ट्रपति र उपस्वास्थ्यमन्त्रीलाई नै संक्रमण देखिएको छ ।

त्यस्तै चीनबाहिर दक्षिण कोरियामा तीव्र रुपमा कोभिड-१९ को संक्रमण फैलिएको छ । शुक्रबार मात्रै दक्षिण कोरियामा थप एक हजार एक सय ६५ जनामा कोभिड संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरियामा १६ जनाको मृत्यु भएको छ भने दुई हजार ९ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटालीमा २१ जनाको मृत्यु हुनुका साथै ८ सय ८९ जनामा संक्रमण देखिएको छ ।

डायमन्ड प्रिन्सेस पानीजहाजमा समेत गरी जापानमा ११ जनाको मृत्यु भएको छ भने ९ सय ३९ जनामा संक्रमण देखिएको छ । त्यस्तै फ्रान्स र हङकङमा २-२ जना र फिलिपिन्स र ताइवानमा १-१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?