कोरोना संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

कोभिड–१९ संक्रमण तीव्र भएका देशबाट आउनेलाई रोक लगाउने विषयमा नेपालले कुनै तयारी गरेको छैन । बरु पर्यटन बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न पर्यटकलाई आग्रह गरिरहेको छ ।
जनकराज सापकोटा

काठमाडौँ — कोरोना भाइरस भनेर चिनिने ‘कोभिड–१९’ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो ।

कोरोना संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

डब्लूएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी देखिँदैन । जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडोस एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा ‘कोभिड–१९’ भित्रिन्न भनेर बस्न नहुने बताए ।‘कुनै पनि मुलुकले कोभिड–१९ आफ्नो देशमा भित्रिँदैन भनेर सोचे गम्भीर गल्ती हुनेछ,’ ट्रेडोसले भने, ‘यसले जात, जातीयता र मुलुकको विकास नहेर्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्छ, यो भाइरस महामारी बन्नेतर्फ उन्मुख छ,’ उनले भने, ‘यो डराउने बेला हैन । यो समय संक्रमण रोक्न उचित कदम चाल्नुपर्ने र मानिसको जीवन बचाउनुपर्ने बेला हो ।’


डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो साता मात्रै युरोप र मध्यपूर्वदेखि अफ्रिकाको नाइजेरियासम्म भाइरस संक्रमण फैलिइसकेको छ । डब्लूएचओका अनुसार बिहीबार मात्रै ब्राजिल, जर्जिया, ग्रिस, नर्ज म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा पहिलो पटक ‘कोभिड–१९’ को संक्रमण देखिएको छ । ५० देशका ८५ हजारभन्दा धेरै व्यक्तिमा यसको संक्रमण पाइएको छ । संक्रमण बढ्ने भयले विश्वका विभिन्न देशले ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् भने कैयन् देशले संक्रमितको संख्या उच्च रहेका देशका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।


शनिबार बिहानसम्म दक्षिण कोरियामा करिब ३ हजार र जापानमा ९ सयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ८ सय ८९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार चीनका अलावा दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमित धेरै छन् ।


यी पाँचै देशबाट नेपालमा निर्बाध पर्यटक भित्रिरहेका छन् । ‘कोभिड–१९’ को संक्रमण तीव्र बनेको जनवरीमा मात्रै विश्वका १ सय ७२ भन्दा धेरै देशबाट ६५ हजार ९ सय ९३ विदेशी र १ लाख १२ हजार ५ सय १४ नेपाली विश्वका विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको देखिन्छ । फागुन ८ यताको आठ दिनमा मात्रै १२ हजार ७ सय ९६ नेपाल भित्रिएका छन् । जसमध्ये भाइरसको मुख्य जोखिममा रहेका पाँच देश चीन, इरान, इटाली, जापान र कोरियाका नागरिक मात्रै १ हजार ३ सय ७८ जना छन् ।

अध्यागमन विभागका अनुसार पछिल्लो आठ दिनमा चीनबाट ५ सय ७२, इरानबाट १७, इटालीबाट २ सय १९, जापानबाट ३ सय ४१, कोरियाबाट २ सय २९ विदेशी नेपाल आएको देखिन्छ । डब्लूएचओका अनुसार शनिबार बिहानसम्म इरानमा ३४ जनाको मृत्यु भएको र ३ सय ८८ जनामा संक्रमण देखिएको छ । संक्रमण तीव्र भएपछि इरानले राजधानी तेहरानको सार्वजनिक क्षेत्र बन्द गरेको छ भने चीनबाट आउने पर्यटकलाई रोक लगाएको छ । त्यस्तै कोरियामा संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी : कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

अध्यागमन विभागका अनुसार फेब्रुअरी १ यताका २७ दिनमा मात्रै ७३ हजार ५ सय ३२ विदेशीसहित १ लाख ७६ हजार २ सय ७२ जना नेपाल भित्रिएका छन् । चीनबाट मात्रै ३ हजार एक सय ३० चिनियाँ आएका छन् । गत डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको यो भाइरस चीनबाहिरका पाँच हजारभन्दा धेरैमा देखिएको डब्लूएचओले जनाएको छ । संक्रमणका कारण चीनमा २ हजार ८ सय ३५ जनाको मृत्यु भएको र करिब ७९ हजारमा संक्रमण देखिएको पुष्टि भइसकेको छ । डब्लूएचओले इरान, इटाली र दक्षिण कोरियामा देखिएको भाइरसको पछिल्लो संक्रमणलाई गम्भीर र खतरनाक भनेको छ । छिमेकी देश भारतले बिहीबारबाट लागू हुने गरी जापान र दक्षिण कोरियाका नागरिकलाई भारत प्रवेशमा तत्कालका लागि रोक लगाएको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार संसारका करिब ५० देशले कोरियालीहरूलाई तत्कालका लागि प्रवेशमा रोक लगाएका छन् ।


भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहँदा अमेरिकाले स्वास्थ्यमा आपतकालीन अवस्था निम्तिएको घोषणा गरेको छ । बेलायतले गम्भीर स्वास्थ्य चुनौती देखापरेको भनेको छ भने जापानले सबै स्कुलमा पठनपाठन तत्कालका लागि बन्द गरेको छ । गत जनवरी ३० मा डब्लूएचओले ‘कोभिड–१९’ संक्रमणका कारण आपतकाल घोषणा गरिसकेको छ ।


अध्यागमन विभागलाई नियमन गर्ने गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले तत्कालका लागि विदेशबाट आउनेलाई रोक लगाउने विषयमा मन्त्रालयमा कुनै कुरा नभएको बताए । उनले विदेशबाट आउनेमा संक्रमण देखियो भने उनीहरूलाई विदेशकै विमानस्थलले पनि रोक्ने र त्यस्ता व्यक्ति आइहाले हाम्रो विमानस्थलमा रहेको हेल्थ डेक्सले पनि रोक्ने बताए । उनले भाइरस संक्रमण तीव्र भएका देशबाट आउनेलाई के गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले केही नभनेकाले यसबारे कुनै निर्णय नलिइएको बताए ।


नेपाल पर्यटन बोर्डले बुधबार कोराना भाइरसबारे पर्यटकलाई लक्षित गर्दै जारी गरेको सूचनामा नेपालमा एक जनालाई मात्रै भाइरसको संक्रमण देखिएको र उनी पूर्ण रूपमा निको भएर घर फर्किसकेको उल्लेख छ । बोर्डले चीनको वुहान प्रान्तबाट उद्धार गरेर ल्याइएका १ सय ७५ लाई आइसोलेसन गरेर विशेष निगरानीमा राखिएको र उनीहरूमा पनि भाइरसको कुनै संक्रमण अहिलेसम्म नदेखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले विमानस्थल र अन्य सीमा नाकामा पनि भाइरस संक्रमितलाई निगरानी गर्न विशेष समूह परिचालन गरेको जनाउँदै बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न आग्रह गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?