कोरोना संक्रमित पानीजहाजबाट भारतले गर्‍यो नेपालीको उद्धार

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज(डायमन्ड प्रिन्सेस क्रुज)मा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ ।

कोरोना संक्रमित पानीजहाजबाट भारतले गर्‍यो नेपालीको उद्धार

भारत सरकारले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो । उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको छ । उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन् । उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारत सरकारले जनाएको छ ।

‘डायमन्ड प्रिन्सेस जहामा रहेका ११९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इन्डियाको विमान दिल्लीमा अवतरण गरेको छ,’ भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय समयअनुसार बिहान करिब पाँच बजे ट्वीटमा उल्लेख गरेका थिए । दिल्ली ल्याइएका भारतीयमध्ये ११३ जना पानीजहाजका चालक दलका सदस्य र ६ जना यात्रु रहेको बताइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ । दूतावासका प्रवक्ता हरि ओडारीले भारतको विदेश मन्त्रालयले टोकियोबाट उद्धार गरिएकामध्ये एक जना नेपाली नागरिक भएको जानकारी गराएको बताए । ‘हामीलाई एक जना नेपाली नागरिक रहेको जानकारी आएको छ,’ प्रवक्ता ओडारीले भने । उद्धार गरिएका ती नेपालीको परिचय भने खुलेको छैन । उनलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ ।

स्रोतका अनुसार भारतीय पक्षले पानीजहाजमा रहेका अन्य देशका नागरिकहरुले यदि चौध दिनको क्वारेन्टाइन अनिवार्य रुपमा बस्न तयार हुन्छन् भने उद्धार गर्ने प्रस्ताव राखेको थियो । जहाजमा रहेका एक जना नेपाली यात्रुले त्यसमा सहमति जनाए । त्यसपछि अन्य यात्रुसहित उनलाई पनि उद्धार गरेर दिल्ली ल्याइपुर्‍याइएको हो । तर, जहाजमा अरु कति नेपाली यात्रु छन् भन्ने चाहिँ खुलेको छैन ।

चार फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेको दश जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो । तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३७०० जना यात्रुमध्ये ७०० जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । र, चारजनाको त मृत्यु समेत भइसकेको छ । अमेरिकाले जहाजमा रहेका आफ्ना नागरिकहरुलाई यसअघि नै उद्धार गरिसकेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?