कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण नरोकिए टोकियो ओलम्पिक स्थगित हुने सम्भावना

एजेन्सी

टोकियो — कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि जापानमा हुने ओलम्पिक प्रतियोगिता रोकिने सम्भावना बढ्दै गएको छ । आउँदो जुलाई २४ बाट जापानको टोकियोमा हुन लागेको ओलम्पिक २०२० रोक्नुपर्ने अन्तराष्ट्रिय ओलम्पिक समितिका सदस्य डिक पाउन्डले बताएका छन् । 

कोरोना संक्रमण नरोकिए टोकियो ओलम्पिक स्थगित हुने सम्भावना

क्यानडाका पूर्वपौडीबाजसमेत रहेका अन्तराष्ट्रिय ओलम्पिक कमिटी(आईओसी)का वरिष्ठ सदस्य पाउन्डले ओलम्पिकको ठाउँ सार्ने वा केही ढिला गर्नुभन्दा स्थगित नै गर्नु उपयुक्त हुने बताएका छन् । जुलाईबाट अक्टोबरमा प्रतियोगिता सार्ने कुरामा पनि ढुक्क हुने अवस्था नभएको उनले बताए ।

जापानमा भइरहेका विभिन्न लिग तथा विभिन्न खेलकुद प्रतियोगिताहरु पनि कोरोना संक्रमणका कारण रोकिएका छन् । जापानी फुटबल लिग(जे–लिग) पनि कोरोना संक्रमणका कारण मार्च १५ सम्मका लागि स्थगित गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले तत्कालका लागि सबै खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरु रोक्न निर्देशनसमेत दिएका छन् ।

फेब्रुअरी २२ बाट क्योटोमा हुने भनिएको दक्षिण अफ्रिका र जापानबीच हुने यु–२३ मैत्रीपूर्ण फुटबल पनि दुई महिनापछि मात्र हुनेगरी स्थगित गरिएको छ । अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगिता तथा विभिन्न मार्सल आर्ट प्रतियोगिताहरु पनि पछि सारिएको छ ।

जापानमा हालसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ भने ८६० जनामा( डायमन्ड प्रिन्सेस क्रुजका ६९१समेत) संक्रमण देखिएको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?