कोरोना प्रकोप : पेरिसमा एक जना फ्रान्सेली नागरिकको मृत्यु

फाल्गुन १४, २०७६

एजेन्सी

पेरिस — कोरोना भाइरसका संक्रमणका कारण एक जना फ्रान्सेली नागरिकको मृत्यु भएको छ । फ्रान्सेली स्वास्थ्य अधिकारीहरुका अनुसार बुधबार पेरिसमा ६० वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोरोना भाइरसबाट संक्रमित भएका ती नागरिकको पेरिसमा रहेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको फ्रान्सेली सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै बुधबार फ्रान्समा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  बुधबार बेलुकासम्म फ्रान्समा १७ जनामा कोरोना संक्रमण देखिएको छ । 

कोरोना भाइरसका कारण फ्रान्सेली नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि १५ फेब्रुअरीमा चीनको वुहानबाट आएका एक जना ८० वर्षीय चिनियाँ नागरिकको कोरोना भाइरसका कारण पेरिसमै मृत्यु भएको थियो । 

डिसेम्बर ८ मा चीनको हुबेई प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार बेलुकासम्म दुई हजार ७ सय नाघिसकेको छ । अहिलेसम्म चीनमा मात्रै दुई हजार ७ सय १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । त्यस्तै चीनमा ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । चीनमा कोरोना संक्रमितमध्ये ३० हजार निको भएको पनि जनाइएको छ । 

चीनबाहिर दक्षिण कोरिया, इटाली र इरानमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । दक्षिण कोरियामा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने एक हजार २ सय ६१ जनामा संक्रमण देखिएको छ । 

त्यस्तै इटालीमा १२ जनाको मृत्यु भएको छ भने ३७४ जनामा कोरोना संक्रमण देखिएको छ । इरानमा १९ जनाको मृत्यु भएको छ । इरानका उपस्वास्थ्यमन्त्री इरार हरिर्चीसहित १३९ जनामा संक्रमण देखिएको छ । 

त्यस्तै जापानमा ६ जनाको मृत्यु भएको छ । त्यसमध्ये डायमन्ड प्रिन्सेस क्रुजका ४ जना र अन्य दुई जना रहेका छन् । क्रुजमा ७०५ जनामा संक्रमण देखिएको छ भने बाँकी १७२ जनामा संक्रमण देखिएको छ । 

त्यस्तै कोरोनाका कारण हङकङ, ताइवान र फिलिपिन्समा एकएक जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर दुई हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ भने ८१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully