विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी : कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

फाल्गुन १६, २०७६

एजेन्सी

जेनेभा — बिहीबार विभिन्न ७  देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ ।

प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देश ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोभिड-१९ भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ । कोभिड-१९ ले बोर्डरको मतलब राख्दैन ।साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयतको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताए ।

चीनमा तुलनात्मक रुपमा कोभिड-१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए । बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोभिड१९ को संक्रमण पहिलो पटक देखिएको छ ।

हामी एकदमै निर्णायक मोडमा रहेका छौं,’ महानिर्देशक गेहब्रेयससले भने, ‘इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले कोभिड१९ कति खतरनाक छ भनेर देखाएको छ ।इरान, इटाली र दक्षिण कोरियामा अचानक संक्रमण बढेपछि चिन्ता बढेको पनि उनले बताए । महानिर्देशक गेहब्रेयससले सही ढंगले सतर्कता र रोकथामका उपाय अपनाए यसलाई रोक्न सकिने पनि बताए । सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि, अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने उनले बताए । एउटा केस र सयवटा केसको पूर्वतयारी एउटै नहुने भन्दै सबै देश त्यसका पूर्ण रुपमा तयार भएर बस्नुपर्ने चेतावनी पनि उनले दिए ।

विश्वभर कोरोना त्रास

अन्य मुलुकमा कोभिड१९ को संक्रमण दरले चीनलाई उछिनेको छ । बिहीबारसम्म भाइरसको संक्रमण कम्तीमा ५० देशमा पुगेको छ ।

डिसेम्बरमा भाइरस देखिएयता चीनबाहिर हजारभन्दा बढीमा संक्रमण पाइएको छ भने ७० जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ८८ जनाको मृत्यु हुनुका साथै ७८ हजार सय ३२ संक्रमित भएका छन् । कोभिड१९ ले चीनपछि सबैभन्दा धेरै इरानमा २६ जनाको मृत्यु भएको छ भने २ सय ४५ जना संक्रमित पुष्टि भएका छन् । संक्रमितको संख्यामा वृद्धि भएपछि तेहरानले सबै सार्वजनिक क्षेत्र बन्द गरेको छ । चीनबाट आउने पर्यटकलाई निषेध गर्ने निर्णय पनि उसले गरेको छ । संक्रमित संख्याका हिसाबले चीनपछि सबैभन्दा धेरै दक्षिण कोरियामा दुई हजार २२ छ । बिहीबारसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ ।

कोभिड१९ संक्रमित वृद्धि हुन थालेपछि विश्वभर यसले त्रास उत्पन्न गराएको छ । सार्वजनिक स्थलमा मानिसको उपस्थिति कम हुँदै गएको छ । धेरै देशले रोकथामका उपायमा जोड दिएका छन् । अमेरिकामा उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा प्रकोप नियन्त्रण तथा रोकथाम कार्यलाई अगाडि बढाइने घोषणा गरिएको छ । अस्ट्रेलियामा पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गर्न आदेश दिइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों स्वयं नै कोभिड१९ सम्बन्धी सचेतना र्‍यालीमा सहभागी भएका छन् ।

साउदी अरबले तीर्थयात्रु रोक्यो

इरानसहित मध्यपूर्वी देशमा कोभिड१९ संक्रमितको संख्यामा वृद्धि भएपछि साउदी अरबले मुसलमान धर्मावलम्बीका पवित्रस्थल मक्का र मदिनालगायतका धार्मिक क्षेत्रमा विदेशी तीर्थालुलाई रोक लगाएको छ । साउदी अरबमा हालसम्म कोभिड१९ को संक्रमण देखिएको छैन । विदेश मन्त्रालयले निर्णय अस्थायी भएको बताए पनि कहिलेदेखि प्रतिबन्ध हट्छ भन्नेबारे जानकारी दिएको छैन ।

अमेरिकादक्षिण कोरिया सैन्य अभ्यास स्थगित

अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सैनिकसहित दक्षिण कोरियाली सेनाका कम्तीमा २१ जनामा कोभिड१९ संक्रमण पाइएपछि अर्को सूचना जारी नभएसम्मका लागि सैन्य अभ्यास रोकिएको हो ।

 नगर प्रमुख नै क्वारेन्टाइनमा

कोभिड१९ संक्रमण फैलिएको इटालीको लम्बर्डी क्षेत्रका प्रमुख एट्टिलियो फोन्टाना स्वयं क्वारेन्टाइनमा गएका छन् । एक कर्मचारीमा भाइरस पुष्टि भएपछि उनी वारेन्टाइनमा गएका हुन् । अहिले मलाई कुनै संक्रमण नदेखिए पनि दुई साता आफैंलाई आइसोलनमा राख्न प्रयासरत छु,’ उनले फेसबुकमा लेखेका छन् । लम्बार्डी क्षेत्रमा मात्र ३ सयभन्दा बढीमा कोभिड१९ संक्रमण पाइएको छ र १० जनाको मृत्यु भएको छ । समग्र इटालीमा सय ५५ जना संक्रमित भएका छन् र १ जनाको मृत्यु भएको छ ।

पाकिस्तान र जापानमा विद्यालय बन्द

पहिलोपटक बुधबार दुई जनामा कोभिड१९ को संक्रमण पाइएपछि पाकिस्तानले बिहीबार केही क्षेत्रका विद्यालय बन्द गरेको छ ।

जापानले अप्रिलसम्मका लागि सबै विद्यालयहरु बन्द गर्ने भएको छ ।  त्यहाँ हालसम्म २०७ जनामा संक्रमण पाइएको छ भने योकोहामा रोकिएको पानीजहाजमा ७ सय ४ जनामा संक्रमित पुष्टि भएका छन् । पानीजहाजका ४ सहित जापानमा ८ जनाको कोभिड१९ ले मृत्यु भएको छ ।

त्यस्तै कोभिड-१९ कारण हङकङ र फ्रान्समा २-२, ताइवान र फिलिपिन्समा १-१ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully