इरानबाट आउनेलाई प्रतिबन्ध
अस्ट्रेलिया — विश्वमा प्रकोपका रुपमा बढिरहेको कोरोना भाइरसका कारण अस्ट्रेलियाको पर्थमा एकको मृत्यु भएको छ । जापानमा रहेको डाइमण्ड क्रुजबाट उद्धार गरिएका ७८ वर्षीय व्यक्तिको यसै रोगका कारण आइतबार मृत्यु भएको पश्चिम अस्ट्रेलियाली सरकारले जनाएको छ ।
कोरोना भाइरसको रोकथामका लागि कडाइ गरिरहेको सरकारी स्वास्थ्य योजनाका बाबजुद एक वृद्धको मृत्यु भएको हो । पश्चिम अस्ट्रेलियास्थित प्रमुख स्वास्थ्य अधिकृत डा.एण्ड्रयु रोर्बटसनले पश्चिम अस्ट्रेलियास्थित सर चार्ल्स गार्डनर अस्पतालमा जापानमा रहेको डाइमण्ड क्रुजबाट उद्दार गरिएका एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।
क्वारेन्टाइनमा रहेकै अवस्थामा उनको मृत्यु भएको हो । १० दिनअघि मात्र कोरोना भाइरसको बारेमा पत्ता लगाइएका उनको स्वास्थ्य परीक्षण र उपचारका लागि विशेष व्यवस्था अपनाइएको थियो । प्रमुख स्वास्थ्य अधिकृत रोबर्टसनले एक व्यक्तिको मृत्युले अस्ट्रेलियामा कोरोना भाइरसको प्रकोपको अवस्थामा कुनै परिवर्तन नआएको दाबी सञ्चारमाध्यमहरुलाई गरेका छन् ।
यसैबीच अस्ट्रेलियाले इरानबाट अस्ट्रेलिया प्रवेश गर्ने सबै पर्यटकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसपहिले चीनको कुनैपनि क्षेत्रबाट यहाँ आउने विदेशी पर्यटकहरुलाई प्रतिबन्ध लगाएको अस्ट्रेलियाले इरानमा यस रोगको संक्रमण तीव्र रुपमा बढिरहेका कारण उक्त देशबाट आउने पर्यटकहरुलाई समेत भित्रिन प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनले सबै देशहरुलाई अस्ट्रेलिया भित्रन प्रतिबन्ध लगाउन असम्भव भएपनि आफूहरु देश र नागरिकको सुरक्षालाई मध्यनजर गर्दै योजना बनाइरहेको बताएका छन् । स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफूले यहाँस्थित स्वास्थ्य अधिकृतलाई सरकारले अहिले लागू गरेको व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने अवस्था भए जानकारी गराउन आग्रह गरिएको बताएका छन् ।
