कोरिया कामदार पठाउन तत्कालका लागि रोकियो

फाल्गुन ११, २०७६

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा नयाँ नेपाली कामदार पठाउन तत्कालका लागि रोकेको छ । दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि विभागले नयाँ कामदार पठाउन तत्काल रोक लगाएको हो ।

‘कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान राखिएको छैन । अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ विभागको कोरिया शाखा प्रमुख कृष्ण खनालले कान्तिपुरलाई भने । उनले फागुन १८ का लागि तय गरिएको उडान तालिका प्रभावित हुन सक्ने बताए । ‘फागुन १८ गते ४० जना कामदारको प्रस्तावित उडान छ । यसलाई कोरियाको मानव संसाधन विभागले स्वीकृत गरिसकेको छैन,’ उनले भने, ‘अब कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको अवस्था कस्तो हुन्छ । त्यसमा भर पर्छ ।’


रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए । थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको छ । 


नियमित प्रक्रियाअनुसार सहज वातावरण भएको भए यही साता झन्डै दुई सय कामदार कोरिया जान्थे । दुवै देशले अवस्थालाई निकै गम्भीरतापूर्वक हेरिरहेको खनालको भनाइ छ ।


कोरियामा हाल झन्डै ४२ हजार ६ सय नेपाली छन् । जसमध्ये ३३ हजार अदक्ष कामदार छन् । ४ हजार ८ सय जना महिला छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully