२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कोरोना भाइरसविरुद्धको भ्याक्सिन यसै साता जनावरमा परीक्षण गर्ने तयारी

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन यसै साता जनावरमा परीक्षण गर्ने तयारी

विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको यो भ्याक्सिन परीक्षण सफल भए ठूलो उपलब्धि हुने युनिभर्सिटी अफ क्विन्सल्यान्डले जनाएको छ ।

मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले २० जना वैज्ञानिकको टोलीले यस काममा अहोरात्र खटेपछि सफलता हात लागेको बताएको छ । ‘मुख्य काम नै जनावरमा परिक्षण गर्नुभन्दा पहिले भ्याक्सिनको निर्माण गर्नु थियो र यसै साता यस भ्याक्सिनको परीक्षण जनावरमा गरिनेछ,’ योङ्गले भने ।

उनले आफूहरुले निर्माण गरेको भ्याक्सिन यस रोगविरुद्ध विश्वकै पहिलो भएको दाबी गर्न नसकिने पनि यो अभूतपूर्व सफलता भएको सञ्चारमाध्यमलाई बताएका छन् ।

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरस संक्रमित व्यक्तिबाट नमुना संकलन गरेर करिब एक महिना अघि कृत्रिम भाइरसको सृजना गरेका थिए । अनुसन्धानकर्ताहरुले पहिलो चरणको ‘प्रि क्लिनिकल ट्रायल’ जनावरमा परिक्षण सम्पन्न गरेपछि यस वर्षको मध्यसम्ममा मानिसहरुमा परिक्षण गर्ने लक्ष्य राखेका छन् । यद्यपि भ्याक्सिनको पूर्णरुपमा विकास गर्न १२ देखि १८ महिनासम्म लाग्नसक्ने उनीहरुले बताएका छन् ।

जनावरमा सफल रुपमा भ्याक्सिनको परीक्षण सम्पन्न भएपछि उनीहरुले यसको विस्तृत परिक्षणका लागि अस्ट्रेलियाली बैज्ञानिक निकाय सिएसआइआरओमा पठाउनेछन् । यहाँ विकास गरिएको यो भ्याक्सिनको कार्यक्रमलाई विश्वमा महामारीका रुपमा फैलिन सक्ने सरुवा रोगको रोकथाममा काम गरिरहेको विश्वव्यापी संस्था कोअलिसन फर इपिडेमिक प्रिपियडनेस इन्नोभेसन (सिइपिआई) ले सहयोग पुर्‍याएको जनाइएको छ ।

स्थानीय समाचारसंस्था सिड्नी मर्निङ्ग हेराल्डले मेलबर्नमा रहेको ल्याबमा परिक्षणका लागि आवश्यक पर्ने मात्राहरुको उत्पादन सुरु गरिसकिएको जनाएको छ । भ्याक्सिन पहिला कति सुरक्षित छ भनेर जनावरमा जाँच गरिनेछ भने त्यसपछि यसको प्रभावकारिताका बारेमा अर्को परीक्षण हुनेछ । यदि यो नयाँ विकसित भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको खण्डमा मानिसहरुमा परीक्षण सुरु हुनेछ ।

चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने करिब २ हजार ४ सयले ज्यान गुमाइसकेका छन् । अस्ट्रेलियामा मात्र यस भाइरसबाट २१ जना संक्रमित भएको पाइएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?