कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

काठमाडौंबाट भारत आउने हवाई यात्रुको कोरोना परीक्षण हुने

विमानस्थलमै कोरोना संक्रमण छ/छैन परीक्षण गरिने
सुरेशराज न्यौपाने

नयाँ दिल्ली — चीनको वुहानबाट सुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यून गर्न भारत सरकारले काठमाडौंबाट हवाईमार्ग हुँदै आउने यात्रुहरुको पनि ‘स्क्रिनिङ’ गर्ने भएको छ । मन्त्रिपरिषद्का सचिवको अध्यक्षतामा शनिबार बसेको उच्चस्तरीय बैठकले त्यस्तो निर्णय गरेको हो ।

काठमाडौंबाट भारत आउने हवाई यात्रुको कोरोना परीक्षण हुने

स्वास्थ्य तथा सामाजिक कल्याण सचिव, नागरिक उड्डयन, रक्षा, सूचना तथा प्रसारण मन्त्रालयका सचिवहरु लगायतका अन्य सरोकारवाला निकायका उच्च अधिकारीहरुसमेत उपस्थित रहेको उक्त बैठकले कोरोनाको भाइरस भित्रिन सक्ने सम्भावित मुलुक र सहरहरुको विस्तृत समीक्षा गरेर त्यस्तो निर्णय लिएको यहाँको स्वास्थ्य तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।

‘वृहत समीक्षा पछि काठमाडौं, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत आउने उडानका लागि वृहत स्वास्थ्य परीक्षण गरिनेछ’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ । यो निर्णयसँगै अब काठमाडौं हुँदै हवाई मार्गबाट भारतका विभिन्न गन्तव्यमा आउने यात्रुहरुको विमानस्थलमै कोरोना भाइरसको संक्रमण छ छैन भन्ने परीक्षण गरिनेछ । हाल काठमाडौंबाट विभिन्न एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंग्लोर र बनारस लगायतका सहरमा सिधा उडान गर्दै आएका छन् । भारतले एक महिनादेखि नै नेपालसँगका जोडिएका प्रमुख नाकामा थर्मल स्क्यानर राखेर सीमा ओहोरदोहोर गर्नेहरुको स्क्रिनिङ सुरु गरेको थियो ।

चीनसँग सीमा जोडिएको हुँदा नेपालबाट आउने यात्रुहरुकोसमेत स्वास्थ्य परीक्षण हुनुपर्ने माग भारत सरकारअन्तर्गतका विभिन्न सरोकारवाला निकायहरुले केही दिन अघिदेखि नै गर्दै आएका थिए । साथै पछिल्लो समय दक्षिण कोरियालगायतका मुलुकमा पनि भाइरसको संक्रमण देखिएको पृष्ठभूमिमा भारत सरकारले पछिल्लो निर्णय लिएको बताइएको छ ।

भारत सरकारले एकसाता अघि विशेष निर्देशन जारी गर्दै चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्यान्ड र सिंगापुरबाट आउने यात्रुहरुको पूर्ण स्वास्थ्य परीक्षण सुरु गरेको थियो । त्यसअनुसार भारतका विभिन्न २१ वटा विमानस्थलमा त्यस्तो परीक्षण हुँदै आएको छ । त्यसैगरी बैठकले यसअघिको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्थालाई निरन्तरता दिँदै अत्यावश्यक प्रयोजनका लागि बाहेक सिंगापुरको भ्रमण नगर्न पनि आग्रह गरेको छ । मन्त्रालयका अनुसार शनिबारसम्ममा ३ लाख ९७ हजार १५२ हवाई यात्रु र समुद्री मार्गबाट भारत प्रवेश गरेका ९ हजार ६९५ यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । साथै २१ हजार ८ सय ५ भन्दा बढीलाई सामूहिक निगरानीमा राखिएकोसमेत मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म तीनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । र, दक्षिण भारतीय राज्य केरलाका ती तीनै जनालाई दसदिनसम्म क्वारेन्टाइनमा राखिएको थियो । र, हाल उनीहरु संक्रमणबाट मुक्त भइसकेको बताइएको छ ।

गत पुसको दोस्रो साता वुहानबाट फैलिएको यो भाइरसको संक्रमण विश्वभरका ३२ देशका ७६ हजारभन्दा बढीमा पहिचान भइसकेको छ । चीनमा मात्र यो संक्रमणबाट २ हजार ३ सय नाघिसकेकाे र अन्य मुलुकमा १५ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म एक जनामा मात्र संक्रमण देखिएको थियो । र, ती संक्रमित व्यक्ति पनि उपचार पछि निको भइसकेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?