शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीसँगको बयानमा रविले के भने ?

श्रृंखला : १
जनकराज सापकोटा

काठमाडौँ — आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने प्रहरीसँगको बयानमा आफूले शालिकरामकी प्रेमिका भनिएकी अस्मतालाई नचिनेको बताएका छन् । उनले बयानमा भनेका छन, ‘रुकु भन्ने अस्मितालाई मैले चितवनको थुनुवा कक्षमा मात्रै चिनेँ ।’ रविले आत्महत्याको दुई/तीन दिनअघि अस्मिता न्युज २४ को कार्यलयमा आएको र क्यामेरामेन अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

रविको बयान यस्तो छ :

कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे।


करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो।


घटनाको दुई/तीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको मत्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।

निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा निजले के-कति कारणले भने मलाई थाह छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ।

यो पनि पढ्नुहोस्:
शालिकराम पुडासैनी आत्महत्या प्रकरण : बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले

प्रकाशित : भाद्र ९, २०७६ १२:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोटरमा तिलिचो !

पर्यटकीय गन्तव्यमा सबैको पहुँच पुर्‍याउन सडकले सजिलो हुने भए पनि २८०० मिटरबाट एकैपटक ५ हजार मिटरमा पुग्नेलाई लेक लाग्ने र पदयात्रा मन पराउनेको आकर्षण घट्ने जोखिम पनि उत्तिकै छ । 
दीपक परियार

पोखरा — योजनाअनुसार काम भए यही वर्षभित्र पोखराबाट तीन दिनमै तिलिचो ताल पुगेर फर्कन सकिनेछ । मुस्ताङतर्फबाट तिलिचो आधार शिविर पुग्ने गरी मोटर बाटो जोडिन लागेको हो । सदरमुकाम जोमसोमबाट ठिनी हुँदै नमखु (नमु) लेकमा रहेको आधार शिविर पुग्ने पदमार्गलाई विस्तार गरी सडक खोलिएको छ ।

थकाली गाउँ ठिनीबाट १५ किमि टाढाको चार हजार मिटर उचाइको नमखु पुग्न ट्रेकिङ रुटैरुट आधा बाटो खनिसकिएको छ । चालु आर्थिक वर्षभित्रै सडक बनाइसक्ने घरपझोङ गाउँपालिकाको योजना छ । तत्कालीन जिल्ला विकास समिति र सांसद विकास कोषको बजेटबाट ५ वर्षअघि ट्र्याक खोल्न सुरु भएको थियो ।

त्यतिबेलै नमुघान पिपिथाङसम्म ४ किमि खनिएको थियो । ट्र्याकमा गाडी गुड्ने अवस्था भने थिएन । गत आर्थिक वर्ष गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ छुट्टियो । उक्त रकमले ठिनीदेखि स्तरोन्नति गर्दै लगेको ठिनी–नमखु सडक निर्माण उपभोक्ता समिति अध्यक्ष सविकुमार थकालीले बताए । हाल ठिनीबाट ७ किमिमाथि भथाङसम्म सडक पुगेको छ । तर नियमित सवारी चल्दैनन् । समूह ट्रेकिङमा जानेले जिप रिजर्भ गरेर लैजाने गरेका छन्।

प्रदेश सांसद चन्द्रमोहन गौचनको पहलमा प्रदेशबाटै यो वर्ष पनि ६५ लाख रुपैयाँ उक्त सडकलाई विनियोजन भएको छ । उक्त रकमले नमखु आधार शिविरसम्म बाटो पुर्‍याउने योजना छ । समिति अध्यक्ष थकाली बाटोमा पर्ने तचिघ्युङ खोलामा बेलिब्रिज राख्नुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘६५ लाखले नमखु खर्कसम्म ट्र्याक खोल्न पुग्छ,’ उनी भन्छन्, ‘त्यसपछि कालोपत्रे गर्ने योजना छ ।’ पहिला खनिएको ४ किमी स्तरोन्नति र ३ किमि नयाँ ट्र्याक खोल्न एक महिना लागेको थियो । भथाङबाट नमखुसम्मको बाँकी ट्र्याक दुई महिनामा खोल्न सकिने उनी बताउँछन् ।

हाल ठिनीबाट नमखु पुग्न एक दिन पैदल पर्छ । नमखुबाट मेसोकान्तो पास (५१०० मिटर) हुँदै तिलिचो पुग्न ३ घण्टा लाग्छ । आधार शिविरमा पौवा मात्रै छ । तिलिचो जान बन्दोबस्तीका सबै सामान आफैं बोकेर लैजानुपर्छ । मोटरबाटो पुगेपछि दुई घण्टामै नमखु पुग्न सकिने घरपझोङ–५ का वडाध्यक्ष वीरेन्द्र थकाली बताउँछन् । ठिनीबाट एक दिनमै तिलिचो पुगेर फर्कने गरी मोटरबाटो बनाउन लागिएको उनले बताए ।

‘अहिले ठिनीबाट माथि गएपछि तिलिचोसम्म चियापसल पनि छैन,’ उनले भने, ‘मोटरबाटो पुगेपछि चहलपहल हुन्छ । होटल, रेस्टुरेन्ट खुल्लान् । बेस क्याम्पबाट तिलिचो जान घोडा चल्लान् । यसले रोजगारी सिर्जना गर्छ । युवा विदेशिनबाट रोक्न सकिन्छ ।’ पदमार्गमा मोटरबाटो बनाउँदा खासै असर नपर्ने दाबी उनको छ । ‘ठिनीबाट नमखुसम्म हेर्ने चिज केही छैन, हिंड्ने मात्रै हो,’ उनी भन्छन्, ‘दृश्य हेर्ने माथि हो । बाटो क्लियर गर्नेवित्तिकै पर्यटक धेरै बढ्छन् ।’

चक्रीय अन्नपूर्ण पदयात्रा गर्ने पर्यटक मनाङबाट थोरङ पास (५४१६ मिटर) हुँदै मुक्तिनाथ झर्छन् । मनाङ र मुस्ताङको सिमानामा दायाँपट्टि रहेको मेसोकान्तो पास पनि थोरङजत्तिकै सम्भावनाको क्षेत्र छ । मनाङपट्टि ठाउँठाउँमा टी हाउस छन् । तिलिचोबाट मुस्ताङ झर्दा ठिनी नपुगेसम्म तातोपानीसमेत पाइँदैन ।

निजी जमिन नभएकोले आधार शिविरमा होटल, रेस्टुरेन्ट चलाउन नीतिगत अप्ठेरो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा पर्ने भएकोले जग्गा प्राप्तीमा अप्ठेरो भएको वडाध्यक्ष बताउँछन् ।

उनका अनुसार ०४०/४१ सालमा तत्कालीन जोमसोम गाउँ पञ्चायतले नमखु लेकमा ‘एक घर, एक घडेरी’ अभियान ल्यायो । जसअनुसार जोमसोम र ठिनीका स्थानीयले १० फिट चौडाइ र १५ फिट लम्बाइको घडेरी पाउने भए । प्रधानपञ्च सोहनलाल थकालीले विरोध जनाए । ‘कटुवाल नै घोकाएर सबैलाई जानकारी गराइएको थियो,’ वडाध्यक्षले सम्झिए, ‘प्रधानपञ्चले आफूलाई जानकारी नै छैन भनेर खारेज गरिदिए । त्यतिबेला होटल खुलेको भए यतापट्टिबाट धेरै पर्यटक तिलिचो पुग्ने थिए ।’

तीन वर्ष अघि १३ स्थानीय युवा मिलेर हरियाली कृषक समूह गठन गरे । नमखुमा टी हाउस खोल्न जग खने । त्यतिबेला एक्यापले रोक्यो । त्यसपछि जग्गा प्राप्त गर्न स्थानीयले कुनै पहल गरेका छैनन् ।

धेरैजसो पर्यटक मनाङबाट तिलिचो पुग्छन् । लमजुङको बेंसीसहरबाट मनाङको निस्याङ गाउँपालिकामा रहेको खाङ्सार गाउँसम्म मोटरबाटो पुगेको छ । पहिलो दिन बेंसीसहरबाट ८ घण्टामा खाङ्सार पुगिन्छ । दोस्रो दिन खाङ्सारबाट सिरिखर्कमा रहेको मनाङतर्फको आधार शिविर पुग्न ५ घण्टा पैदल हिंड्नुपर्छ । तेस्रो दिन आधार शिविरबाट तिलिचो पुग्न ३ घण्टा हिंड्नुपर्छ । धेरै पर्यटक तिलिचोबाट फर्केर बास बस्न सिरिखर्कको आधार शिविरमा फर्कन्छन् । निकै थोरै मात्रामा पर्यटक मनाङ र मुस्ताङको सिमानामा
पर्ने मेसोकान्तो पास, नमखु, ठिनी हुँदैजोमसोम ओर्लन्छन् ।

खाङ्सार माथि मोटरबाटो पुर्‍याउने कुनै योजना नभएको मनाङको निस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन् । ‘यति बाटो पैदलमार्ग नै रहोस् भनेका छौं,’ उनले भने, ‘अब बाटो खन्दैनौं ।’

एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार वार्षिक १५ देखि २० समूहले मुस्ताङतर्फबाट तिलिचो ट्रेक गर्छन् । विश्वकै अग्लो स्थानमा रहेको ठूलो ताल तिलिचो (४९१९ मिटर) लाई मनाङ र मुस्ताङका स्थानीयले तीर्थस्थल मान्छन् । साउन र भदौमा मुस्ताङका स्थानीय बन्दोबस्तीका सामान लिएर उक्लिन्छन् । तालको वरिपरि लसुन खान हुँदैन भन्ने मान्यता छ । मुस्ताङका विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका रूपमा तिलिचो जान्छन् ।

ठिनीमा मुस्ताङकै पहिलो थकाली सामुदायिक होमस्टे खुलेको छ । होमस्टे अध्यक्ष लालप्रसाद थकाली मोटरबाटो खुले आन्तरिक पर्यटक बेस्सरी बृद्धि हुने दाबी गर्छन् । ‘सडक खुलेपछि मेसोकान्तो पास हुँदै आउन चाहने पर्यटक बीचैमा बिचल्ली पर्दैनन्,’ उनी भन्छन्, ‘रोजगारी पनि वृद्धि हुन्छ ।’ त्यसो त, घरपझोङ गाउँपालिकाले जोमसोमबाट ठिनी, ढुम्बाताल, छैंरो, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने रिङरोङको टेन्डर गरिसकेको छ ।

पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलिया ‘सबैका लागि पर्यटन’ भन्ने अवधारणा अनुसार पर्यटकीय गन्तव्यमा सबैखाले पर्यटकको पहुँच पुर्‍याउन सडकले सहयोग पुर्‍याउने बताउँछन् । तिलिचो आधार शिविरसम्म सडक पुग्दा पर्यटकको संख्या बढ्ने सम्भावना उनी देख्छन् । ‘पूर्वाधार विकाससँगै विकल्पपनि सँगसँगै आउनुपर्छ,’ उनी भन्छन्, ‘पदयात्रा गर्ने चाहना भएका पर्यटकले मनाङबाट गर्न सक्छन्, छोटो समयमा गर्नचाहनेले मुस्ताङ रोज्न सक्छन् ।’ सडक खन्दा वैकल्पिक पदमार्गको संरक्षण र संवर्द्धन भने गर्नुपर्ने उनको तर्क छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टर अध्यक्ष हरि भुजेल मोटरबाटो पुग्दा पर्यटकको बसाइ अवधि छोटिने चिन्ता व्यक्त गर्छन् । मनाङबाट बाटो खन्दा ८ दिनको ट्रेक ३ दिनमा झरेको उनले सुनाए । ‘धेरै पर्यटक भित्र््याउन सके राम्रै हो,’ उनी भन्छन्, ‘तर, अहिले भइरहेको मोटरेबल बाटोले नेपालको पदयात्रा सम्बन्धमा नकारात्मक सन्देश गइरहेको बेला नयाँ सडक खन्नु उचित होइन ।’

प्रकाशित : भाद्र ९, २०७६ १२:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT