शान्तिपूर्ण ढंगले मतदान सम्पन्न हुँदा मतदाता खुसी

शान्तिपूर्ण ढंगले मतदान सम्पन्न हुँदा खुसी छन् काठमाडौं क्षेत्र नम्बर–६ का मतदाता । भन्छन्, ‘अब देशमा स्थायित्व कायम होस् । युवाहरुले देशमै रोजगार पाउन् । 

फाल्गुन २१, २०८२

आरती पौडेल

Voters happy as voting proceeds peacefully

काठमाडौँ — टोखा नगरपालिका–१ क्षेत्र नम्बर–६ को एक मतदान केन्द्र रहेको पब्लिक इङ्लिस सेकेण्डरी स्कुलमा मतदाताहरुको उत्साहजनक उपस्थिति देखिन्थ्यो । मतदाताहरु आफूले भोट हालिसकेपछि पनि मतदान केन्द्र बाहिरी प्रांगणमा, कोही चौतारीमा बसेका देखिन्थे, कोही उभिएर त कोही भने छेउमा रहेको पसलहरुमा बसिरहेका थिए । सबैले देशको विकासको लागि आफूले मतदान गरेको उम्मेदवारले जित्ने आशामा खुसीका साथ माहोल नियालिरहेका थिए । मतदान गरेपछि त्यहाँका मतदाता के चाहन्छन् । कस्तो महसुस भएको छ ? उनीहरुलाई पहिला र अहिलेको निर्वाचनमा के फरक लाग्यो ? अब बन्ने सरकार कस्तो चाहन्छन् ? कान्तिपुरले केही मतदातासँग मतदान केन्द्र पुगेर प्रत्यक्ष कुराकानी गरेको छ । 

लक्ष्मी तामाङ मतदान गरेर खुसी हुँदै बाटोको छेउ मोबाइलमा फोटो खिच्दै देखिन्थिन् । टोखा नगरपालिका-१ घर बताउने उनी आफूले भोट दिँदा निकै खुसी लागेको बताइन् । अहिलेसम्म ३ पटक मतदान गरेको बताउने तामाङ देश सोचेअनुरुप विकास होस् भन्ने चाहन्छिन् । ‘पहिलाको भन्दा अहिले चुनाव राम्रो भयो । अब शिक्षा, स्वास्थ्य र देशमै रोजगार मिलोस्,’उनले भनिन्,‘आउँदा दिनमा कोही पनि विदेशिन नपरोस् ।’ लक्ष्मी आफूले राम्रो उम्मेदवारलाई भोट दिएकोमा विश्वस्त रहेको जनाउँछिन् । भन्छिन्,‘राजनीतिप्रति पहिल्यैबाट चासो भएर पनि होला मैले त पार्टीका एजेन्डा पढेरमात्र भोट दिएकी छु ।’ जुन पार्टीको बहुमतको सरकार बनेपनि अब कुनै युवाले केही कुराको आन्दोलन गर्न नपरोस् भन्ने चाहना रहेको उनले सुनाइन् । भनिन्,‘जसले जितेपनि अबका दिनमा सबै कुरा राम्रो होस् । भदौमा भएको जेन-जी आन्दोलन जस्तो अब कहिल्यै देख्न नपरोस् । आन्दोलनका नाममा कुनै पनि युवाले ज्यान गुमाउन नपरोस् ।’ उनी देशमा स्थायित्व कामय रहोस् भन्ने चाहना रहेको सुनाइन् । 

                         ०००

मतदान गरेर आफ्नो घर फर्कँदै अवस्थामा भेटिएका ८५ वर्षीय मोहनप्रसाद दुलाल । यो पटक मतदान गर्दै गर्दा पहिलाको भन्दा फरक अनुभव पाएको सुनाए । भने,‘कतै कुनै किसिमको होहल्ला छैन । भीडभाड छैन, झगडा छैन । सोचेअनुसार भोट हाल्न पाइयो खुसी छु ।’

दुलालले नयाँ अनुहार आउानुपर्ने बताए । २०२२ देखि भोट हाल्दै आएको सुनाउने उनी युवा उम्मेदवार आउानुपर्छ भन्ने चाहन्छन् । ‘पहिलेकाले केहि नगरेपनि नयाँ युवाले गर्छन् कि भन्ने छ । देशमा खासै विकास भएको जस्तो लाग्दैन । अब हुन्छ कि,’ उनले भने । 

                       ०००

मतदान केन्द्रको छेउमा साथीसँग गफ गरेर बसिरहेको अवस्थामा भेटिएकी अर्की मतदाता हुन्, लक्ष्मी दुलाल । टोखा–१ झोर घर भएको बताउने उनी आफूले मत हालेपछि खुसी लागेको सुनाइन् । साथै शान्तिपूर्ण तरिकाले देशमा सम्पन्न भएको चुवानले हर्षित भएको बताइन् । ‘सहज तरिकाले जनताले भोट हाल्न पाए त्यसको लागि सरकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्,‘अहिलेको माहोल शान्तिपूर्ण छ ।  पहिला भिडभाड, एकआपसमा मेलमिलाप नभएको जस्तो । हुलदंगा हुन्थ्यो अहिले त्यस्तो वातावरण कतै देखिएन ।’

३ पटक भोट हालेको बताउने लक्ष्मी जसले जितेपनि देशको विकास होस् भन्ने चाहाना रहेको उनले सुनाइन् । भनिन्, ‘अब देशको लागि केही गर्छु भन्ने खालको उम्मेदवारले जितुन् भन्ने चाहना छ ।’ 

                     ०००

त्यसरी नै मतदान केन्द्रको माहोल नियालिरहेकी अर्की मतदाता हुन् निर्मला लामिछाने । ४८ वर्षकी उनी आफूले अहिलेसम्म ५ पटक मत हालेको जस्तो लागेको सम्झन्छिन् । उनलाई पनि विगतमा मतदान गरेको भन्दा फरक भएको महसुस गर्छिन् । ‘पहिला गन्जागोल हुन्थ्यो । अहिले शान्त वातावरणमा मतदान सम्पन्न भयो जस्तो लाग्छ,’ उनले भनिन् । राम्रो पार्टीले देश विकासको लागि नेतृत्व गरोस् भन्ने चाहना रहेको उनी सुनाइन् । ‘राम्रो उम्मेदवार, पार्टीले जितोस् । देशमा गरिब जनता मार्नु भएन । युवा, जेन-जीले नेपालमै रोजगार पाउने सरकार बनोस् भन्ने छ । 

                      ००० 

त्यसरी नै बाटोमा भेटिएका अर्का मतदाता ७५ वर्षका गोलप्रसाद पहिला र अहिलेमा खासै परिर्वतन नपाएको सुनाउँछन् । कानले कम सुन्ने बताउने उनी भन्छन्,‘मैले २०१७ देखिदेखि भोट हाल्दै आएको छु । फेरिएको जस्तो त खासै केही लाग्दैन ।’

अब कस्ता उम्मेदवारले जितुन् जस्तो लाग्छ भनि सोधेको प्रश्नमा गोलप्रसाद भने अरुको भन्दा भिन्न जवाफ फर्काउँदै भन्छन्,‘देखाउने र चपाउने दाँत फरक हुन्छन् । सबै एउटै हुन् कसैबाट केही आश लागेको छैन,’ उनले भने,‘नयाँ र पुराना दुवै उस्तै हुन् । तर पनि भोट दिएको छौँ हेरौँ ।’

                     ०००

टोखा–१ मालुङ चोक घर भएका प्रेमकृष्ण मानन्धर मतदान गरेर घर फर्कँदै गर्दा भेटिए । टोखा मनोहर माबिबाट भोट हालेर आएको बताउने उनी सोचेको भन्दा पनि राम्रो शैलीमा मतदान गर्न पाएकोमा खुशी छन् । भन्छन्,‘जेन-जी आन्दोलनपछि भागेका कैदिहरुको डर थियो । निर्वाचन बिथोलिन्छ कि भन्ने सबैमा छुट्टै डर थियो । शान्तिपूर्ण तरीकाले निर्वाचन भयो खुसी छु ।’

प्रेमकृष्ण अहिलेसम्म चार चोटी मतदान गरेको सुनाए । उनी राम्रो काम गर्नेले जित्नुपर्छ भन्ने चाहन्छन् । भन्छन्,‘पहिलाको भन्दा राम्रो काम गर्ने उम्मेदवारले यो पटक पालो पाउन्,’ उनले भने, ‘देशमा युवाले रोजगार पाउन् । विदेश जान नपरोस् त्यही नै हो हाम्रो माग भनेको ।’ 

                ०००

त्यसरी नै गायत्री देवकोटा पनि मतदान गरेर फर्कँदै गर्दा टोखा–१ झोर जाने बाटोमा भेटिइन् । ५ पटक भोट हालेको बताउने गायत्री पनि राम्रो उम्मेदवारले जितून् चाहन्छिन् । भन्छिन्,‘राजनिति बुझेको राम्रोले जित्नुपर्छ राम्रै आउानुपर्छ भन्ने छ ।’ अब युवाहरु देश छोडेर विदेश जाने वातावरण हटोस् भन्ने चाहना रहेको उनले सुनाइन् । 

मतदान गरेर घर फर्केर पनि आफ्नो काममा लागेका बद्रीप्रसाद बिडारी चुनाव सम्पन्न भएकोमा खुसी देखिन्छन् । गाई, भैँसीको दूध पसलमा छोडेर साँझपख घर फर्कँदै गरेका उनी बिहानै मतदान गरेको सुनाए । उनी क्षेत्र नम्बर ६ कै मतदाता रहेछन् । भन्छन्,‘बिहानै भोट हालेको थिए,’ उनले भने,‘मैले २०१४ सालबाट भोट हाल्न थालेको थिए । हाम्रो पालोमा त फरक थियो भोट हाल्ने तरीका अहिले फरक भयो ।’ उनी पनि अब राम्राले जितुन् । देश विकास होस् । सकारात्मक परिर्वतन आवोस् भन्ने इच्छा रहेको सुनाए । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully