'अहिले भोट हाल्दा जति खस्नुपर्ने हो, त्यति खसेको छ । अहिलेको यथार्थ हो, पहिलाको होइन । पहिला बुथ क्याप्चर गरेर मत खसाइदिएकोले बढी प्रतिशत देखिएको हो । '
काठमाडौँ — भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनको बलमा बनेको सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गरेको छ ।बिहीबार देशभर शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । यही सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग गरिएको संक्षिप्त कुराकानी :
जेन-जी आन्दोलनपछि सिर्जित अवस्थामा जिम्मेवारी सम्हालेर अहिले निर्वाचन सम्पन्न गर्ने अवस्थासम्म आइपुग्दा सरकारका सामु मुख्य चुनौती के थिए ?
जेन-जी आन्दोलनमा ठूलो जनधन र राष्ट्रिय सम्पत्तिको क्षति भयो । एक किसिमको कानुनी राज्यविहीनता अथवा शक्ति शून्यताको अवस्था आयो । त्यसमा एकदमै अन्योल त्यसपछि आक्रोश र आशंका थियो । त्यसमा बीचमा द्वन्द्व न्यूनीकरण हुने गरी, हिंसा रोक्ने र दोहोरिन नदिने गरी काम गर्नुपर्ने थियो । त्यो खालको भूमिका खेल्न हामीले सबैको विश्वास जित्नुपर्ने अवस्था थियो ।
हिजोको सत्ता गुमाएका शक्तिले फेरि संसद् पुनर्स्थाना भइदिए हुन्थ्यो भन्ने र विद्रोहबाट आएकाहरुले चुनाव अगावै सबै चिज पाउनुपर्छ भन्ने खालको अवस्था थियो । मुख्य चुनौती नै त्यही थियो ।
कतिपय सरकारवालाले सुरुमा हामीमाथि पनि आशंका गरेका थिए, सबैभन्दा ठूलो चुनौती त्यही नै थियो । तर, बिस्तारै हामीले परस्पर विरोधी समूह अथवा शक्तिहरुलाई सन्तुलनमा राख्ने र सबैको विश्वास जित्ने गरि काम गर्यौं । त्यसबाट स्थिति सामान्यीकरण हुँदै गयो । कानुनी राज्यको प्रत्याभूति भएपछि, सुशासन र सेवा प्रवाहमा सुदृढीकरण भएपछि क्रमश: चुनावको वातावरण बन्यो ।
ती चुनौती पार गर्न सरकारले के गर्यो ?
हामी कानुनी राज्यको वकालत गर्ने र त्यसैमा अभ्यास गर्ने पृष्ठभूमिबाट आएकाले पनि कानुनको पालना गराउने विषय प्रमुख रह्यो । कानुनी राज्यविहीनता हुँदा देशै असुरक्षित हुने, संविधान पनि असुरक्षित हुने र नागरिकको जीवन पनि असुरक्षित हुने अवस्था आएपछि सबैले परिस्थिति बुझे ।
बीचमा निर्धारित समयमा चुनाव पनि हुन नसक्ने र सरकारको पनि विकल्प खोजिने भन्ने चर्चा व्यापक थियो, त्यसलाई सरकारले कसरी चिर्यो ?
केही व्यक्तित्वहरुले त्यो खालको भाष्य निर्माण गर्नुभयो । यो संविधान पनि राम्रो छैन, त्यसैले फाल्नुपर्छ, नयाँ सहमति गर्नुपर्छ भन्ने खालको विचार आफूलाई केन्द्रबिन्दुमा राखेर र आफू नै लाभग्राही हुने गरि कतिपय भाष्यहरु बनाउनु भयो । स्वार्थ समूहसँग त्यो खालको साझेदारी गर्दै यो प्रणालीको खिलापमा त्यस्ता खालका क्रियाकलाप गरियो । त्यसरी विषयान्तर गर्ने कामहरु पनि भए । तर, ती कुरालाई हामीले चिर्यौं ।
आज निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि यसअघि भन्दा कम खस्यो नि ?
पहिला बुथ क्याप्चर गरिन्थ्यो, मरेका तथा विदेशमा रहेका मान्छेको नाममा पनि भोट हालिन्थ्यो । दोलखा र स्याङ्जाका कतिपय केन्द्रमा ९८–९९ प्रतिशतसम्म मत खसेको अवस्था हुन्थ्यो । अहिले हामीले त्यसलाई पूर्णतया रोक्यौं । स्याङ्जामा अहिले हामीले जानकारी पाएसम्म ५२ प्रतिशत जति मत खसको छ । त्यसकारण अहिले भोट हाल्दा जति खस्नुपर्ने हो, त्यति खसेको छ । अहिलेको यथार्थ हो, पहिलाको होइन । पहिला बुथ क्याप्चर गरेर मत खसाइदिएकोले बढी प्रतिशत देखिएको हो ।
अब नयाँ सरकारको प्राथमिकता के हुनुपर्छ ?
एक नम्बर प्राथमिकता त भ्रष्टाचार निवारणमा हुनुपर्छ । सेवा प्रवाहमा सुधार हुनुपर्यो । अराजकता निम्तिनु भएन । भ्रष्टाचार र अराजता दुइटैलाई जित्नु पर्यो ।
![Earlier, it seemed that a large percentage of votes were lost due to booth capture, but this is the reality now: Home Minister [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/ped/interviewomprakasharyal20260226dsc2847-0132026033358-1000x0.jpg&w=1001&h=0)