मजदुरमा भोकको डर

‘अहिले त सरकारी प्राथमिकता पनि के हो भनेर बुझिएको छैन । निषेधाज्ञा लम्बिँदै जाँदा भोकै हुनेहरुको संख्या पहिलेजस्तै बढ्ने निश्चित छ ।’ 

वैशाख १९, २०७८

जनकराज सापकोटा

काठमाडौँ — गतवर्षको लकडाउनभर सडकमा निःशुल्क खाना खुवाउँदै हिँडेकी बन्दी सहायता नेपालकी इन्दिरा रानामगर यसपालि छटपटीमा छिन् । जेलमा रहेका कैदीबन्दीका सन्तानहरूको अभिभावकत्व सम्हालिरहेकी उनी आश्रित संस्थाका एक जना संक्रमित भएपछि घरभित्रै आइसोलेसनमा छिन् ।

तर उनलाई निषेधाज्ञाको दोस्रो दिनदेखि नै नियमित ज्याला मजदुरीको भरमा पेट भरिरहेका र सडक जीवन बाँचिरहेकाहरूले ‘भोक लाग्यो’ भन्दै फोन गर्न थालिसके । 

संक्रमण रोकथामका निम्ति सरकारले लागू गरेको निषेधाज्ञाको दिन लम्बिँदै जाँदा सडकमा आश्रित र ज्याला मजदुरीमा हातमुख जोर्नेहरू फेरि समस्यामा पर्न थालेका छन् । इन्दिराले आफूलाई महाबौद्ध र ठमेलतिर रिक्सा चलाउने र सडकमा बस्नेहरूले ‘खाना लिएर कहिलेबाट आउनुहुन्छ’ भनेर सोध्दै फोन गर्न थालिसकेको बताइन् । उनले भनिन्, ‘शनिबार त दुई जना भाइ अफिस खोज्दै यहीं आइपुगे । आफूहरू र अरू तीन जना साथीलाई प्याकेटमा भात लिएर गए ।’

गतवर्षको चैत दोस्रो सातायता निरन्तर भोका र असहायहरूलाई खाना खुवाइरहेको समूह हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालका अनुसार यसपालि निषेधाज्ञाको तेस्रो दिन नै भोकाहरूको संख्या बढ्न थालिसकेको छ । हाम्रो सानो प्रयासमार्फत निःशुल्क खाना खुवाउन सक्रिय पुकार बमले अघिल्लो लकडाउनमा सरकारीस्तरबाट आफूहरूको प्रयासमा धेरथोर सहयोग मिलेको तर यसपाला अवस्था फरक रहेको बताए । उनले भने, ‘अहिले त सरकारी प्राथमिकता पनि के हो भनेर बुझिएको छैन । लकडाउन लम्बिँदै जाँदा भोकै हुनेहरूको संख्या पहिलेजस्तै बढ्दै जाने भने निश्चित छ ।’ 

निःशुल्क खाना खुवाउन सक्रिय हाम्रो टिम नेपालका विमल पन्तले शुक्रबार र शनिबार मात्रै करिब दुई सयलाई खाना खुवाइएको बताए । उनका अनुसार शुक्रबारभन्दा शनिबार खाना खोज्नेहरूको संख्या धेरै थियो । अब दुई/चार दिनमै यो संख्या तेब्बरसम्म पुग्ने उनले बताए । हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालले स्कुटरमा खानाका प्याकेट डुलाएर बाँड्ने गर्छ । थापाथलीको प्रसूति गृह पछाडि पनि खाना उपलब्ध गराइएको छ । विमलका अनुसार रिक्सा चलाउने, भारी बोक्ने र दैनिक ज्याला गरेर छाक टार्नेहरूलाई समस्या पर्न थालिसकेको छ । उनले भने, ‘नियमित डायलसिस गराइरहेका, सडकमा गीत गाएर छाक टार्ने दृष्टिविहीनको समस्या सुरु भइसक्यो ।’ 

अघिल्लो लकडाउनका बेला झन्डै १० महिनासम्म खुलामञ्चमा भोकाहरूलाई निःशुल्क भोजन खुवाउने हन्ड्रेड समूहका अगुवा बब्लु गुप्ता शनिबार टंकेश्वर र पशुपति क्षेत्रमा पुगेका थिए । उनी त्यहाँ पुग्दा ‘कहिलेबाट निःशुल्क खाना बाँड्ने हो’ भनेर सोध्नेहरू प्रशस्तै भेटिए । बब्लुले सुनाए, ‘सडकमा आश्रित र ज्यामी काम गर्नेहरू आर्थिक संकटमा पर्न थालिसकेका छन् । अबको केही दिनमै उनीहरू खानाको खोजी गर्दै सडकमा आउनेछन् ।’ उनले दैनिक कमाइको भरमा काम गर्ने सहरी गरिबहरू छिट्टै आर्थिक संकटमा पर्ने र उनीहरू भोजनको खोजीमा निस्कनुपर्ने अवस्था आउनै लागेको बताए । भोकाहरूबारे राज्यले समयमै सोचेन भने कोरोना संक्रमण जस्तै यो पनि जटिल समस्या बनेर आउन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजना आधारपत्र २०७५ का अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालको कुल जनसंख्यामा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् । आयोगकै नेपाल बहुआयामिक गरिबी सूचकांक २०१८ का अनुसार सहरी जनसंख्याको ७ र ग्रामीण जनसंख्याको ३३ प्रतिशत मानिस गरिब छन् । निषेधाज्ञापछि दैनिक ज्यालाका भरमा गुजारा चलाइरहेका र अरूमा आश्रित ठूलो जनसंख्या गरिबीको रेखामुनि धकेलिने देखिन्छ ।

कोरोना भाइरस

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully