मजदुरमा भोकको डर- उपत्यका - कान्तिपुर समाचार

मजदुरमा भोकको डर

‘अहिले त सरकारी प्राथमिकता पनि के हो भनेर बुझिएको छैन । निषेधाज्ञा लम्बिँदै जाँदा भोकै हुनेहरुको संख्या पहिलेजस्तै बढ्ने निश्चित छ ।’ 
जनकराज सापकोटा

काठमाडौँ — गतवर्षको लकडाउनभर सडकमा निःशुल्क खाना खुवाउँदै हिँडेकी बन्दी सहायता नेपालकी इन्दिरा रानामगर यसपालि छटपटीमा छिन् । जेलमा रहेका कैदीबन्दीका सन्तानहरूको अभिभावकत्व सम्हालिरहेकी उनी आश्रित संस्थाका एक जना संक्रमित भएपछि घरभित्रै आइसोलेसनमा छिन् ।

तर उनलाई निषेधाज्ञाको दोस्रो दिनदेखि नै नियमित ज्याला मजदुरीको भरमा पेट भरिरहेका र सडक जीवन बाँचिरहेकाहरूले ‘भोक लाग्यो’ भन्दै फोन गर्न थालिसके ।

संक्रमण रोकथामका निम्ति सरकारले लागू गरेको निषेधाज्ञाको दिन लम्बिँदै जाँदा सडकमा आश्रित र ज्याला मजदुरीमा हातमुख जोर्नेहरू फेरि समस्यामा पर्न थालेका छन् । इन्दिराले आफूलाई महाबौद्ध र ठमेलतिर रिक्सा चलाउने र सडकमा बस्नेहरूले ‘खाना लिएर कहिलेबाट आउनुहुन्छ’ भनेर सोध्दै फोन गर्न थालिसकेको बताइन् । उनले भनिन्, ‘शनिबार त दुई जना भाइ अफिस खोज्दै यहीं आइपुगे । आफूहरू र अरू तीन जना साथीलाई प्याकेटमा भात लिएर गए ।’

गतवर्षको चैत दोस्रो सातायता निरन्तर भोका र असहायहरूलाई खाना खुवाइरहेको समूह हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालका अनुसार यसपालि निषेधाज्ञाको तेस्रो दिन नै भोकाहरूको संख्या बढ्न थालिसकेको छ । हाम्रो सानो प्रयासमार्फत निःशुल्क खाना खुवाउन सक्रिय पुकार बमले अघिल्लो लकडाउनमा सरकारीस्तरबाट आफूहरूको प्रयासमा धेरथोर सहयोग मिलेको तर यसपाला अवस्था फरक रहेको बताए । उनले भने, ‘अहिले त सरकारी प्राथमिकता पनि के हो भनेर बुझिएको छैन । लकडाउन लम्बिँदै जाँदा भोकै हुनेहरूको संख्या पहिलेजस्तै बढ्दै जाने भने निश्चित छ ।’

निःशुल्क खाना खुवाउन सक्रिय हाम्रो टिम नेपालका विमल पन्तले शुक्रबार र शनिबार मात्रै करिब दुई सयलाई खाना खुवाइएको बताए । उनका अनुसार शुक्रबारभन्दा शनिबार खाना खोज्नेहरूको संख्या धेरै थियो । अब दुई/चार दिनमै यो संख्या तेब्बरसम्म पुग्ने उनले बताए । हाम्रो सानो प्रयास र हाम्रो टिम नेपालले स्कुटरमा खानाका प्याकेट डुलाएर बाँड्ने गर्छ । थापाथलीको प्रसूति गृह पछाडि पनि खाना उपलब्ध गराइएको छ । विमलका अनुसार रिक्सा चलाउने, भारी बोक्ने र दैनिक ज्याला गरेर छाक टार्नेहरूलाई समस्या पर्न थालिसकेको छ । उनले भने, ‘नियमित डायलसिस गराइरहेका, सडकमा गीत गाएर छाक टार्ने दृष्टिविहीनको समस्या सुरु भइसक्यो ।’

अघिल्लो लकडाउनका बेला झन्डै १० महिनासम्म खुलामञ्चमा भोकाहरूलाई निःशुल्क भोजन खुवाउने हन्ड्रेड समूहका अगुवा बब्लु गुप्ता शनिबार टंकेश्वर र पशुपति क्षेत्रमा पुगेका थिए । उनी त्यहाँ पुग्दा ‘कहिलेबाट निःशुल्क खाना बाँड्ने हो’ भनेर सोध्नेहरू प्रशस्तै भेटिए । बब्लुले सुनाए, ‘सडकमा आश्रित र ज्यामी काम गर्नेहरू आर्थिक संकटमा पर्न थालिसकेका छन् । अबको केही दिनमै उनीहरू खानाको खोजी गर्दै सडकमा आउनेछन् ।’ उनले दैनिक कमाइको भरमा काम गर्ने सहरी गरिबहरू छिट्टै आर्थिक संकटमा पर्ने र उनीहरू भोजनको खोजीमा निस्कनुपर्ने अवस्था आउनै लागेको बताए । भोकाहरूबारे राज्यले समयमै सोचेन भने कोरोना संक्रमण जस्तै यो पनि जटिल समस्या बनेर आउन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजना आधारपत्र २०७५ का अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालको कुल जनसंख्यामा १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् । आयोगकै नेपाल बहुआयामिक गरिबी सूचकांक २०१८ का अनुसार सहरी जनसंख्याको ७ र ग्रामीण जनसंख्याको ३३ प्रतिशत मानिस गरिब छन् । निषेधाज्ञापछि दैनिक ज्यालाका भरमा गुजारा चलाइरहेका र अरूमा आश्रित ठूलो जनसंख्या गरिबीको रेखामुनि धकेलिने देखिन्छ ।

प्रकाशित : वैशाख १९, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्

रेम्डेसिभिरमा कालोबजारी

जनकराज सापकोटा

काठमाडौँ — कोरोना संक्रमणसँगै स्वास्थ्यमा जटिलता देखिएपछि भक्तपुर बोडेका सञ्जय श्रेष्ठले भाइ मनोजलाई बिहीबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज भर्ना गरे । चिकित्सकहरूले संक्रमितलाई रेम्डेसिभिर इन्जेक्सन लगाउनुपर्ने भएकाले खोजेर ल्याउन भने ।

सञ्जय बिहीबार मध्याह्नको झरीको बेवास्ता गर्दै निस्किए । ‘हारगुहार गरेर बल्लतल्ल अस्पतालले भाइलाई भर्ना त लियो तर उपचारका निम्ति आवश्यक पर्ने रेम्डेसिभिर उपलब्ध गराएन,’ उनले भने, ‘खोज्दाखोज्दै सास्ती भोग्नुपर्‍यो ।’

संक्रमित सिकिस्त बिरामीलाई लगाइने रेम्डेसिभिर खोज्न सञ्जय कहाँकहाँ मात्रै पुगेनन् । ३ बजेतिर सुन्धारामा रहेको यति केम डिस्ट्रिब्युटर नामक औषधि सप्लायर्स कम्पनीको अफिससम्म पुगेका थिए । तर अफिस बन्द थियो । कम्पनीबाहिर भेटिएका सेक्युरिटी गार्डले बिहानदेखि २५ जनाभन्दा धेरै बिरामीका आफन्त रेम्डेसिभिर खोज्न आइपुगेको बताए । सञ्जयले बल्लतल्ल साँझतिर २ डोज रेम्डेसिभिर १० हजार ७ सयमा पाए । उनले भने, ‘लकडाउनमा औषधि खोज्दाको सास्ती भएको छ । अब बाँकी ४ डोज औषधि मैले कहाँबाट कसरी जुटाउने ?’

पाँच दिनअघि कपनका डिकबहादुर थापामगर कोरोना संक्रमित भएपछि सिनामंगलकै काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । उनका दाजु हस्तबहादुरले बुधबार मात्रै ५ हजार ३ सय ६० रुपैयाँको दरमा दुई डोज रेम्डेसिभिर चढाए । थप ४ डोज भने अस्पतालमा नभएको भनेपछि हस्तबहादुर बिहीबार रेम्डेसिभिर खोज्न निस्किए । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल छेउछाउका सबै औषधि पसल चहारेर थाकेका उनले भने, ‘पैसा तिरेर औषधि किन्न नपाइने यस्तो अवस्था पनि हुन्छ ?’

रेम्डेसिभिर नपाएर आत्तिएका उनले उस्तै कथा भएका अन्य तीन जनालाई औषधि व्यवस्था विभागमै गएर धर्ना बस्नुपर्छ कि क्या हो भनेर आक्रोश पोखे । डिकका निम्ति औषधि खोज्न दिनभर पाटनदेखि वीर अस्पतालसम्मका पसलपसल चहारेका साथी नगेन्द्र पाण्डले दिनभर घुम्दा पनि औषधि नपाइएको बताए । उनले भने, ‘यो औषधि खोज्न हिँड्ने त कति हो कति, कसैले पाएको देखिनँ ।’

बुधबारसम्म शिक्षण अस्पतालभित्रकै औषधि पसलमा उपलब्ध रेम्डेसिभिर बिहीबार भने थिएन । अस्पतालका डेपुटी कन्ट्रोलर रामविक्रम अधिकारीले रेम्डेसिभिर सकिएको बताए । केही बिरामीका आफन्तले बाहिरबाट खोजेर ल्याए पनि केहीले त्यो पनि पाएनन् । शिक्षण अस्पतालमै संक्रमितको उपचार गराइरहेका एक जनाले आफूले सातदोबाटोस्थित एक क्लिनिकमा १२ हजारमा एक डोज रेम्डेसिभिर बेचिरहेको सूचना पाएको बताए । उनले भने, ‘सजिलैसँग नपाइने भएपछि बिरामीका आफन्त कालोबजारीमा जति भने पनि मूल्य तिर्न बाध्य भइरहेका छन् ।’

तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचाररत संक्रमितका आफन्त विजयप्रसाद चौरासियाका लागि रेम्डेसिभिर खोज्न निस्केका थिए, रौतहट बीपी चौकका रामसागर भगत । उनले बिहानदेखि कैयौं ठाउँ चहारे पनि रेम्डेसिभिर नपाइएको बताए । ‘लौ न हजुर कतै मिल्छ भने मिलाइदिनुस्,’ उनले भने, ‘जति पैसा भए पनि खर्चिन्छौं ।’ विजयकी छोरी प्रियाले एक डोज रेम्डेसिभिर अस्पतालबाटै किनेर लगाए पनि थप डोज सजिलै किन्न नपाइएको बताइन् । उनले कतैकतैबाट ६ डोज औषधि ९० हजारमा बेच्ने गरेको सुनाइन् । उनले भनिन्, ‘काठमाडौंमा सजिलै नपाइने भइसकेछ ।’

कोरोनाका सिकिस्त बिरामीका निम्ति भन्दै औषधि व्यवस्था विभागले यती केमसहित तीन सप्लायर्सलाई नेपालमा रेम्डेसिभिर औषधि ल्याउने अनुमति दिएको छ । बिहीबार यती केमको बागडोलस्थित कार्यालय पुग्दा रेम्डेसिभिरको खोजीमा पुगेका बिरामीका आफन्त निराश भएर फर्किरहेका थिए । कम्पनीले मुख्य गेटमै ‘यहाँ रेम्डेसिभिर छैन । अर्को ठाउँबाट व्यवस्था गर्नुहोला’ लेखिएको सूचना टाँसेको थियो । नेपाल भित्रिने यो औषधिको मूल्यमा एकरूपता नभए पनि एक डोजको ५ हजारभन्दा बढी पर्दैन ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक सागरराज भण्डारीले दुई दिनयता अस्पतालमै रेम्डेसिभिरको स्टक सकिएको बताए । उनले बंगलादेशबाट ल्याउने प्रक्रिया भइरहेको सुनेको र केही दिनमा रेम्डेसिभिर नेपाल आइपुग्ने सुनाए । ‘अहिले त हामीकहाँ सघन उपचार भइरहेका बिरामीकै निम्ति पनि रेम्डेसिभिर नपुग्ला भन्ने भइसक्यो । अरू अस्पतालका बिरामीलाई दिन सक्ने अवस्था नै छैन,’ उनले भने ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बंगलादेशका दुई कम्पनीलाई ३० हजार डोज रेम्डेसिभिर ल्याउने अनुमति दिइसकिएको बताए । बजारमा देखिएको अभाव छिट्टै पूर्ति हुने उनको भनाइ छ । उनले भने, ‘सम्भवतः आइतबारसम्म ५ हजार डोज रेम्डेसिभिर नेपाल आइपुग्छ ।’

प्रकाशित : वैशाख १७, २०७८ १०:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×