जसले कोरोनाले लगेका बुबाको खबर आमालाई सुनाउन सकेनन्- उपत्यका - कान्तिपुर समाचार

जसले कोरोनाले लगेका बुबाको खबर आमालाई सुनाउन सकेनन्

लक्षण देखिनेबित्तिकै अस्पताल पुर्‍याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्नेमा उनलाई थकथकी लागिरहेको छ
‘एक जना दिदीले दाहसंस्कार गर्नुभयो भन्ने सुनें, हामीले त बुबाको नाममा केही पनि गर्न सकेका छैनौं’
सुशीला तामा‌ङ

काठमाडौँ — अवस्था सामान्य थियो भने यतिबेला उनी सेतो वस्त्रमा हुने थिए । परिवारसँगै बाबुको मृत्यु संस्कारमा जुटिरहेका हुन्थे । तर उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेढ साताको बसेर शनिबार साँझमात्रै घर फर्किएका छन् ।

कोरोनाबाट निको भएको खुसीभन्दा बढी उनमा वियोगको घाउ छ । ‘बुबाको मृत्युको खबर आमालाई कसरी सुनाऊँ ?’ टेकुका डिकेन सुवालले भने, ‘अझ काजकिरिया गर्न पनि बाँकी नै छ ।’ आफू कोरोनामुक्त भए पनि सुक्खा खोकी लाग्ने गरेको उनले सुनाए ।

अघिल्लो शुक्रबार उनले बुबा शंकरराज सिंह सुवाललाई कोरोना संक्रमणकै कारण टेकु अस्पतालमा गुमाए । डिकेनकी आमा, श्रीमती र छोरालाई समेत संक्रमण भयो । ‘अस्पताल ल्याएको चार/पाँच दिनपछि बुबा बित्नुभएको खबर पाए पनि चुपचाप मन दह्रो बनाएर बसें,’ उनले भने, ‘मेरो छोरा र आमालाई अझै बुबा बित्नुभएको खबर थाहा छैन ।’ बुबाको मृत्युको खबर सुन्नुबाहेक अरू केही गर्न नसकेकोमा उनले दुखेसो पोखे । ‘हामी सबै हस्पिटलमै थियौं । हस्पिटल, वडा अध्यक्ष र एक जना दिदीले बुबाको दाहसंस्कार गर्नुभयो भन्ने सुनें । बुबाको नाममा हामीले केही पनि गर्न सकेका छैनौं,’ उनले भावुक हुँदै सुनाए । उनका अनुसार सुवाल केही वर्षदेखि मुटुका बिरामी थिए । मुटुमा पेस मेकर राखिएको उनलाई कोरोनाको लक्षण देखिएको थियो । संक्रमण भएको थाहा पाएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याएको डिकेनले बताए । ‘फोक्सोमा संक्रमण बढिसकेकाले बुबालाई तत्काल आईसीयूमा राख्नुपर्ने भयो । बल्ल टेकुमा आईसीयू वार्ड पाएपछि बुबासहित हामी पनि भर्ना भएका थियौं,’ उनले भने । पाँच दशकभन्दा बढी कला सिर्जनामा बिताएका सुवाल पछिल्लो समय पनि उत्तिकै सक्रिय थिए । ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनादेखि नेपालमा आधुनिक चित्रकला विकासमा योगदान पुर्‍याएका उनको मृत्युमा छोराले अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् । सुवाल ‘मेम्बर अफ आर्टिस्ट सर्कल’ का सदस्य तथा आधुनिक कलाकार समाज (सोमा) का अध्यक्षसमेत थिए ।

डिकेनकी आमा र श्रीमतीलाई सुवालको निधनपछि तुरुन्तै ललितपुरस्थित स्टार अस्पतालमा सारिएको थियो । शय्या अभावका कारण डिकेनलाई भने पुनः टेकुमै ल्याइयो । अस्पतालमा दैनिक देखिने भयावह अवस्थालाई उनले नजिकैबाट नियालिरहेका छन् । घरमा अब अभिभावकत्व बहन गर्नुपर्ने भएकाले मनलाई बलियो बनाउने प्रयास गरिरहेको उनले बताए । निको भएर उनकी आमा र श्रीमती शुक्रबार घर फर्किएका छन् । छोरा होम आइसोलेसनमा छन् । भर्खर तंग्रिएकी ७० वर्षीया आमाले आफ्ना श्रीमान्को मृत्युको खबर कसरी सहलिन् भन्ने चिन्ताले उनलाई अझै सताइरहेको छ । उनले सुनाए, ‘शरीर र अन्य रोगका कारण आमाको स्वास्थ्य अवस्था ठीक छैन । त्यही भएर हामीले अझैसम्म केही भनेका छैनौं । अब बिस्तारै सबै मिलाउनुपर्छ भन्ने सोचमा छु ।’

मृत्युसँग लडिरहेको सिंगो परिवार र आँखै अगाडि बुबाको जीवनको अन्तिम समयलाई बेहोरेका डिकेन कोरोनाले लाचार बनाएको सुनाउँछन् । यसलाई कमजोर नठान्न सबैप्रति उनको आग्रह छ । लक्षण देखिनेबित्तिकै अस्पताल पुर्‍याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई थकथकी लागिरहेको छ । ‘अहिलेको अवस्थामा कोरोना भएको थाहा पाएपछि घरमा नै निको होला कि भनेर बस्नु हाम्रो ठूलो गल्ती हो,’ उनले भने, ‘अहिले मेरो परिवारले भोगेर थाहा भयो । भोलि अर्को परिवारले पनि यस्तै भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।’

प्रकाशित : वैशाख १९, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितको पीडा : अस्पतालमा बेड छैन, घरमा बसेकाको सोधीखोजीसम्म गरिँदैन

संक्रमण भई होम आइसोलेसनमा बसिरहेकाहरु आफ्नो अवस्थाबारे स्थानीय तहको स्वास्थ्य संयन्त्रले सम्पर्कसम्म नगर्दा आत्तिएका छन् 
सन्जु पौडेल, मधु शाही, नवीन पौडेल

रूपन्देही/बाँके/परासी — अचानक घाँटी दुखेपछि उनलाई शंका लाग्यो– कतै कोरोना संक्रमण त भएन ! बुटवल–४ की ४६ वर्षीया ती महिलाको शुक्रबार पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आयो । उनी नौ दिनदेखि संक्रमित छोरी र श्रीमान्को हेरचाह गरिरहेकी थिइन् । त्यस क्रममा आफूलाई पनि संक्रमण सरेको हुन सक्ने उनले बताइन् । ‘घरमै बाबुछोरीको स्याहार गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘संक्रमणले समस्या हुने रहेछ भन्ने बल्ल भोगेँ ।’ 

पहिले संक्रमित श्रीमान् र छोरीलाई के खुवाउने/नखुवाउने आफन्तसँग सोधेर रेखदेख गर्दै आएकी थिइन् । आफैं संक्रमित बनेपछि भने समस्यामा परेको उनले बताइन् । आफूले मधुमेह र थाइराइडको औषधि सेवन गरिरहेकाले डर लागेको उनले बताइन् । ‘अहिले डाक्टरलाई सोधेर घरमै औषधि खाइरहेका छौं,’ उनले भनिन्, ‘अस्पतालमा जानुपर्ने अवस्था आए के गर्ने भन्ने चिन्ताले सताएको छ ।’ यहाँका अस्पतालमा बेड अभाव रहेको जानकारी पाएको उनले सुनाइन् । अहिले उनको परिवारका चार सदस्य कोरोनासँग लडिरहेका छन् । छोरीहरूको अवस्था सामान्य छ । श्रीमान् र आफूले बढी ख्याल गर्नु परिरहेको उनले बताइन् । संक्रमित भएपछि उपमहानगरपालिकाबाट कुनै चासो नदिएको उनले गुनासो गरिन् । होम आइसोलेसनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था बुझ्न कोरोना उपचारसम्बद्ध स्थानीय तका प्रतिनिधि कसैले सम्पर्क गरेका छैनन् ।

तिलोत्तमा–६ का ३४ वर्षीय एक युवकलाई संक्रमणको सुरुवातमै धेरै गाह्रो भयो । चिकित्सक नचिनेकाले कता सम्पर्क गर्ने भन्ने भेउ नै पाएनन् । सामाजिक सञ्जालमा होम आइसोलेसनमा बसेका संक्रमितले के गर्ने भन्ने सुझावसहितका विभिन्न पोस्ट हेरेर दैनिकी सुरु गरे । बिहान उठ्ने, श्वासप्रश्वासको योग गर्ने, गुर्जो मिसाएको पानी पिउने गरे । ‘फोन उठाउन र सामाजिक सञ्जाल हेर्न छाडेंँ,’ उनले भने, ‘ठोसभन्दा झोल खाना खाएँ ।’ होम आइसोलेसनमा आफैंले स्वास्थ्यलाई ध्यान दिइरहेको उनले बताए । ‘कहिलेकाहीँ डाक्टर देख्न पाए हुन्थ्योजस्तो लाग्छ,’ उनले भने, ‘आफ्ना अगाडि डाक्टर देख्दा ढाडस मिल्थ्यो कि ।’

गत बुधबारदेखि घरमै आइसोलेसनमा बसेका उनले कामको सिलसिलामा संक्रमण भएको हुन सक्ने बताए । ‘परिवार अरू कसैलाई पनि समस्या देखिएन, म बाहिर काम गर्ने भएकाले संक्रमित भएँ कि भन्ने लागेको छ,’ उनले भने, ‘लगातार ज्यान दुख्ने, ज्वरो आउने गरे पनि अहिले सहज महसुस भएको छ ।’ सुरुमा साथीभाइलाई संक्रमित भएको जानकारी नगराएका उनले चिकित्सकको फोन नम्बर खोजेर आफ्नो अवस्था र आवश्यक सल्लाह लिएको बताए । तिलोत्तमा–५ की १८ वर्षीया युवती दुई रातदेखि निदाउन सकेकी छैनन् । दिनभरि आँखा दुखेर हैरान हुने, साँझ परेपछि घाँटी समाउने र ज्यान बेस्सरी दुख्ने गरेको उनले बताइन् ।

‘खाना नखाएको धेरै दिन भइसक्यो,’ उनले भनिन्, ‘अस्पतालमा बेड छैन, घरमा रेखदेख छैन ।’ उनका अनुसार न वडा कार्यालयले सोध्छ न त नगरपालिकाको स्वास्थ्य शाखाले कुनै चासो दिएको छ । संक्रमितका समस्याबारे परिवारबाहेकलाई चासो नरहेको उनले दुःखेसो गरिन् । ‘के गर्ने, कसो गर्ने अन्योल छ,’ उनले भनिन्, ‘स्वास्थ्य बिग्रिहाल्यो भने कहाँ जाने चिन्ता छ ।’ बिहान उठ्न मन नलाग्ने, सुत्दा जीउ दुख्ने, घाँटी धेरै दुख्ने र केही अड्किएजस्तो भइरहेकाले कुल्ला गर्ने, दिनभरि कहिले निको होला भन्ने मात्र सोच्ने गरेको उनले बताइन् ।

रूपन्देहीमा शनिबारसम्म पत्ता लागेका २ हजार ९ सय ३० जना सक्रीय संक्रमितमध्ये २ हजार ८ सय ५६ जना होम आइसोलेसनमा छन् । यहाँका स्थानीय तहले स्वास्थ्य कार्यालयबाट प्राप्त सूचना अनुसार नजिकका केही व्यक्तिको स्वास्थ्य अवस्था बुझेपछि धेरै संक्रमित ओझेलमा छन् । तिलोत्तमा नगरपालिकाले हरेक वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरेर प्रत्येक संक्रमितको अवस्था बुझेर घरघरमा स्वास्थ्य सामग्री पुर्‍याउन सुरुवात गरेको कोभिड फोकल पर्सन केशव भट्टराईले दाबी गरे । सरकारी नीतिअनुसार प्रत्येक संक्रमित चिकित्सक वा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्ने भए पनि कुनै स्थानीय तहले उक्त व्यवस्था लागू नगरेको जनरल फिजिसियन डा. सुदर्शन थापाले बताए । ‘होम आइसोलेसनमा बसेका बिरामीले पनि स्वास्थ्यकर्मीको रेखदेख अनिवार्य पाउनुपर्ने हो,’ उनले भने, ‘न जनशक्तिले पुग्ने न त सरकारले पहल नै गरिरहेको छ ।’

महामारीमा घरमा बसेर निको हुने कोसिस गर्ने ९० प्रतिशत बिरामीको स्वास्थ्य केही दिन सामान्य रहने र पछि गम्भीर बन्दै गएपछि अस्पतालमा बेड नपाउने, श्वास प्रश्वासमा समस्या हुने, निमोनियाले फोक्सोमा क्षति गरिसक्ने उनले बताए । फोनको माध्यमबाट भए पनि बिरामीको हालखबर बुझ्ने र उपचार एवं सल्लाह दिनुपर्ने चिकित्सक थापाको भनाइ छ ।

वास्तै छैन’

चार दिनअघि भेरी अस्पतालमा स्वाब परीक्षण गराउँदा बाँकेको नेपालगन्ज–२ का ४७ वर्षीय पुरुषको परिवारका तीन सदस्यमा कोरोना संक्रमण पत्ता लाग्यो । सँगै परीक्षण गराएकी कान्छी छोरीको रिपोर्ट शनिबारसम्म आएको छैन । छोरीको अवस्था नखुल्दा चिन्ता छ । अहिले उनीहरू होम आइसोलेसनमा छन् । अस्पताल पुगेर रिपोर्टबारे सोधपुछ गर्ने अवस्था छैन । छोरीमा पनि कोरोनाका लक्षण देखिएकाले स्वास्थ्यको ख्याल गरिरहेका छन् । ‘हामीलाई केही भइहाल्यो भने पनि कसैले थाहा पाउँदैनन्,’ उनले भने, ‘हामी अहिले भगवान् भरोसामा छौं ।’ भेरी अस्पतालको भित्तामा औषधिको नाम टाँसिएको देखेका थिए । त्यही नामका औषधि खरिद गरेर घरमै सेवन गरिरहेको उनले बताए । ‘आफैं बिरामी आफैं डाक्टर भएका छौं,’ उनले भने, ‘न डाक्टरले सोधेका छन्, न जनप्रतिनिधिले अनुगमन नै गरेका छन् ।’ परिवार संक्रमित हुँदा छिमेकीको व्यवहार सहज छैन । घरबाहिर निस्किएर हारगुहार गर्ने स्थिति छैन । शुक्रबार राति खोकी र ज्वरोले च्यापेपछि आत्तिए । चिकित्सकको सल्लाह लिन उनीसँग फोन नम्बर थिएन । ‘त्यस्तो बेला परिवारले एक अर्काको मनोबल बढायौं,’ उनले भने । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेमा शनिबारसम्म ३ हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । सामान्य अवस्थाका संक्रमितलाई घरमै सुरक्षित भएर बस्ने र उपचार गर्ने सरकारले मापदण्ड बनाएको छ । तर, यसरी बसेका संक्रमित अलपत्रजस्तै छन् ।

प्रहरी सेवामा कार्यरत नेपालगन्ज–१८ की एक महिलाले ज्वरो र रुघाखोकी लागेपछि चार दिनअघि आफ्नो र श्रीमान्को स्वाब भेरी अस्पतालमा पीसीआर परीक्षण गराइन् । दुवैको रिपोर्ट पोजिटिभ आयो । संक्रमण पुष्टि भएपछि दुवै घरैमा बस्न थाले । अहिले २१ वर्षका छोरा र १६ वर्षकी छोरी पनि बिरामी परेका छन् । छोराछोरीमा पनि कोरोनाको लक्षण देखिएको ती महिलाले बताइन् । ‘छोराछोरीको त पीसीआर जाँच पनि गराएनौं, सबैको घरमै उपचार गरिरहेका छौं,’ उनले भनिन्, ‘अस्पताल गएर के गर्नु ?’ उनले पनि होम आइसोलेसनमा बसेपछि स्वास्थ्यकर्मीको फोन नआएको बताइन् । नेपालगन्ज–९ का ७२ वर्षीय वृद्ध संक्रमित भएको शनिबार १० दिन पुग्यो । स्वाबको नमुना परीक्षणका लागि दिएको अर्को दिन मोबाइलमा पोजिटिभ भएको सन्देश आयो । त्यसपछि घरमै छन् । ‘छोराले औषधि ल्याइदियो, त्यही खाएर बसेको छु,’ उनले भने, ‘कम्तीमा आफ्ना नागरिकको अवस्था के छ भनेर सरकारले सोध्नुपर्छ ।’

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले स्वास्थ्यकर्मी र वडाका सम्बन्धित फोकल पर्सनले दिनमा तीनपटक होम आइसोलेसनमा बसेका बिरामीको अवस्थाबारे बुझ्नुपर्ने बताए । ‘संक्रमित भएको लामो समयसम्म फोन नआउनु भनेको गैरजिम्मेवारी हो,’ उनले भने ।

उपचारार्थ कता जाने ?

पश्चिम नवलपरासीमा लक्षण देखिएका कोराना संक्रमित पनि होम आइसोलेसनमा छन् । उपचारका लागि कहाँ जाने र कसरी जाने पत्तो छैन । लक्षण देखिएमा र श्वासप्रश्वासमा समस्या भएमा जिल्लाबाहिर रूपन्देही वा चितवन जानुपर्ने बाध्यता छ । त्यसैले संक्रमितले घर छाडेका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्म ५३ जना संक्रमित होम आइसोलेसनमा छन् । उनीहरूको रेखदेख र आवश्यक सहयोगको जिम्मा स्थानीय तहलाई छ । गत वर्षसम्म होम आइसोलेसनमा बसेका संक्रमितलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी पुगेर भेट गर्ने र सल्लाह सुझाव दिने गर्थे । यसपालि सोधीखोजी नभएको संक्रमितहरूको गुनासो छ ।

‘होम आइसोलेसनमा बस्दा मन आत्तिने रहेछ । अचानक स्थिति गम्भीर भए के गर्ने भन्ने पिर हुँदो रहेछ,’ रामग्राम–५ का एक संक्रमितले भने, ‘जनप्रतिनिधि र स्वास्थ्यकर्मी आएर सम्झाउने र मनोबल बढाउने काम पनि भएको छैन ।’

प्रकाशित : वैशाख १९, २०७८ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×