कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर बाहिर निस्कन नगरपालिकाको अनुमति लिनु पर्ने 

भक्तपुरमा घर बाहिर निस्कनु परेमा नगरपालिकाले वितरण गरको पास देखाउनु पर्ने हुन्छ । अत्यावश्यक काममा एउटा पासमा एकजना मात्रै निस्कन पाइन्छ  । 
मकर श्रेष्ठ

काठमाडौँ — कोभिड–१९ संक्रमणबाट नगरवासीलाई जोगाउन भक्तपुर नगरपालिकाले घर बाहिर निस्कन अनुमति लिनु पर्ने निर्णय गरेको छ ।

घर बाहिर निस्कन नगरपालिकाको अनुमति लिनु पर्ने 

अन्यत्र सुनसान हुँदा पनि भक्तपुरमा सर्वसाधरणको चहलपहल भएको सामाचार सार्वजनिक भएको थियो ।


भक्तपुर नगरपालिकाको सोमबार बसेको नगर कार्यपालिकाको बसेको बैठकले लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एकजना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालयहरु मार्फत अनुमति पत्र वितरण गर्ने निर्णय गरेको हो । ‘तरकारी र खाद्यान्न पसलमा पनि हुलका हुल जान थालेपछि घर बाहिर निस्कन पनि पास लिनु पर्ने निर्णय गर्नु परेको हो,’मेयर सुनिल प्रजापतिले भने,‘तरकारी किन्न होस् वा खेतबारीमा जान पनि पास देखाउनु पर्ने हुन्छ ।’ एउटा घरलाई एउटा मात्रै पास दिइने उनले बताए । घर बाहिर निस्कनु परेमा पालैपालो निस्कनु पर्ने हुन्छ । पासबिनाको व्यक्ति बाहिर निस्किए कारबाही गर्न प्रशासनलाई पत्राचार गरिसकेको प्रजापतिले बताए । भक्तपुर नगरमा ०६८ को जनगणना अनुसार १७ हजार घरधुरी थियो । अहिले २० हजार घरधुरी रहेको अनुमान गरेर पास छपाइ गरिसकेको नगर प्रमुख प्रजापतिले बताए । मंगलबारदेखि वडा कार्यालयबाट पास वितरण गर्न लागेको उनले जानकारी दिए ।


कोरोनाको सम्भावित जोखिमबाट नगरबासी जनतालाई सुरक्षित राख्न यस्तो निर्णय लिनु परेको उनले बताए । सम्भावित विपद्को जोखिम न्यूनिकरण गर्न प्रत्येक वडामा वडाध्यक्ष वा उनले तोकेको जनप्रतिनिधिको संयोजकत्वमा स्थानीय अग्रज सम्मिलित समन्वय समिति गठन गरिएको छ । यो समितिले घर बाहिर निस्कने पास वितरणदेखि राहत वितरणमा सघाउने छन् ।

सरकारले लकडाउन घोषणा गरेको अवस्थामा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन र घरमै सुरक्षित रुपमा बस्न नगरवासीहरुलाई आग्रह गरिरहेको नगरपालिकाले जनाएको छ । ‘यस अवधिमा रोगको जोखिमबाट जोगिन मन्दिर, मस्जिद, चर्च, बहा बही लगायतका धार्मिक स्थलहरुमा पूजा प्रार्थना नगर्न, मर्निङवाक, योग र शारीरिक व्यायामको लागि घरबाट बाहिर ननिस्कन सबैमा अनुरोध गर्ने निर्णय भएको छ,’ भक्तपुर नरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वाले भने ।


लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमबाट जोगिन तरकारी बजार समेत बिस्तार गरेको छ । मुल सडकमा हुँदै आएको बजार समेत बन्द गरेको नगरपालिकाले जनाएको छ । बुधबारदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगर क्षेत्रमा गैरसरकारी संस्थाले आफूखुसी राहत समेत वितरण गर्न नपाउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘विपद्को समयमा कुनै गैरसरकारी संस्था वा व्यक्तिले राहत वा सहयोग वितरण गर्न चाहेमा यस नगरपालिकामा सहयोग रकम वा सामग्री जम्मा गरी वडा कार्यालयमार्फत मात्र वितरण गर्ने ।’

प्रकाशित : चैत्र १७, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?