इन्डोनेसियाबाट फुटबलर रोहित चन्द भन्छन्– ‘लकडाउन भए पनि स्वदेश फर्कन दिइयोस्’

‘म नेपाल फर्किनका लागि तयारी अवस्थामा छु । आफ्नो देशमा आएर बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ । परिवार काठमाडौंमा छ, एक्लै बाहिर बस्नुपर्दा नरमाइलो लागेको छ ।’

चैत्र १७, २०७६

राजु घिसिङ

काठमाडौँ — इन्डोनेसियाको राजधानी जकार्तामा रहेका फुटबलर रोहित चन्दले देशमा लकडाउन भए पनि नेपाली नागरिकले क्वारेन्टाइनमा बस्नेगरी स्वदेश फर्कन पाउनुपर्ने बताएका छन् ।

संघीय सरकारले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न एक सातादेखि लकडाउन गरेको छ । त्यसअघि नै इन्डोनेसियाको शीर्ष डिभिजनको फुटबल ‘लिग वान’ मा नेपाली मिडफिल्डर रोहित चन्द समावेश क्लब पर्सिजा जकार्ताको खेल कोरोना भाइरसकै कारण स्थगित भइसकेको थियो । फेरि खेल सुचारु हुने मिति कुरेका उनी नेपालमा लकडाउन भएपछि उतै रोकिएका छन् ।


जकार्ताबाट रोहितले सोमबार भने, ‘फेरि लिग सुरु हुने निर्णय पाएपछि स्वदेश फर्किने सोचेको थिएँ । त्यो निर्णय आउनुअघि नै नेपालमा लकडाउन भयो । म स्वदेश फर्किनका लागि तयारी अवस्थामा छु ।’ उनले थपे, ‘हिजो लकडाउन खुल्छ कि भन्ने आशा थियो तर फेरि लम्बियो । लकडाउन गर्नु देशका लागि राम्रो हो तर आफ्नो नागरिकलाई स्वदेश आउन दिनुपर्ने थियो । नेपालमा क्वारेन्टाइन बनाइएको छ, स्वदेश फर्किनेलाई त्यहाँ बस्न दिएर संक्रमित भए/नभएको परीक्षण गरे भइहाल्छ ।’


आफ्नो करिअरको पछिल्लो आठ वर्ष इन्डोनेसियन लिगमै व्यस्त रहेका रोहितले भने, ‘नेपाली नागरिक भएकोले आफ्नो देशमा आएर बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ । अरुको देशले नागरिक उद्धार गरेर लगिरहेका छन्, आफू भने बाहिरै हुँदा नरमाइलो लाग्छ ।’ सरकारले १० चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि युरोपेली देशहरूले आफ्ना नागरिकलाई विमान चार्टर गर्दै लगिरहेका छन् । सरकारले अन्तर्राष्ट्रिय उडान वैशाख ३ सम्मलाई रोक्ने निर्णय गरिसकेको छ ।


इन्डोनेसियामा पहिलोपल्ट मार्च २ मा कोभिड १९ पोजिटिभ देखिएको थियो । २७ करोड जनसंख्या रहेको इन्डोनेसियामा विश्व स्वस्थ्य संगठनका अनुसार कोभिड १९ बाट आइतबारसम्म १,२८५ संक्रमित भएका छन् भने ११४ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या ६४ मात्रै छ । आइतबार मात्रै १३० जना नयाँ संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो । रोहितका अनुसार हालसम्म इन्डोनेसियामा लकडाउन भने गरिएको छैन ।


‘घाटी खसखस हुँदा पनि डर लाग्छ’

कोभिड १९ बाट आफू सचेत रहेको उल्लेख गर्दै २८ वर्षीय रोहितले भने, ‘खोकी लाग्दा पनि कहिलेकाहीं तनाब हुन्छ । कहिलकाहीं त घाटी खसखस हुँदा पनि डर लाग्छ ।’


शुक्रबारसम्म मैदानमा पुगेर फिटनेसका लागि आफैं ट्रेनिङ गरेका उनी त्यसयता भने अपार्टमेन्टमै बसिरहेका छन् । ‘अब त बाहिर निस्कन पनि डर लाग्छ,’ उनले भने, ‘खेलिरहने मान्छेलाई केही नगरी बस्न एकदमै गाह्रो हुँदोरहेछ । अरु सबै परिवासँग छन्, ममात्रै एक्लै । पहिला खाना अर्डर गरेर बाहिरैबाट ल्याउँथे । कोरोनाको डरले तीन दिन भयो, आफैं खाना पकाउन थालेको छु ।’ काठमाडौंमा रहेको परिवारसँग नियमित सम्पर्क भइरहेको उल्लेख गर्दै उनले समय बिताउन फिल्म हेर्ने, किताब पढ्ने र क्यान्डी क्रस खेल्ने गरेको बताए ।


राजधानी जकार्ताको जनसंख्या ३ करोड ४३ लाखभन्दा बढी छ त्यसैले यहाँ कोरोना भाइरसको महामारी ह्वात्तै बढ्नसक्ने डर भएको उनले बताए । रोहितसँगै विदेशी खेलाडीको कोटामा ११ पल्टको इन्डोनेसियन लिग च्याम्पियन क्लब पर्सिजामा इटालियन क्ल्ब युभेन्टसका पूर्वमिडफिल्डर मार्को मोट्टा, क्रोएसियाली फरवार्ड मार्को सिमिच, नेदरल्यान्ड्सका मिडफिल्डर मार्क क्लोक छन् । यो क्लबको मुख्य प्रशिक्षक ब्राजिलका सर्जियो फारियस छन् । हाल उनीहरु सबै जकार्तामै छन् ।


रोहित जतिसक्दो चाँडै स्वदेश फर्कन चाहन्छन् । जकार्तास्थित कुन्नीगनको अपार्टमेन्टमा बसिरहेका उनले भने, ‘मे महिनाको अन्तिमसम्म रमदान र इद उल फित्र भएकाले हिजोको बैठकले १५ जुनदेखि लिग पुन: सञ्चालन गर्ने निर्णय गरेछ । तर यो मितिलाई कोरोनाले असर गर्नसक्छ । त्यसैले सकेसम्म चाँडै स्वदेश फर्कन चाहन्छु ।’


पर्सिजाले सन् २०१८ को लिग १ को उपाधि जित्दा लिगकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए रोहित । पसिर्जा इन्डोनेसियाकै सर्वाधिक लोकप्रिय फुटबल क्लब हो । ९१ वर्ष पुरानो यो क्लबको ट्वीटरमा २९ लाख, इन्स्टाग्राममा २५ लाख र फेसबुकमा १० लाखभन्दा बढी फलोअर्स छन् । इन्स्टामा रोहितका २ लाख ८९ हजार फलोअर्समध्ये अधिकांश इन्डोनेसियाली छन् ।


पर्सिजाले घरेलु खेल गेलोरा बुङ कार्नो रंगशालामा खेल्छ । ७७ हजार दर्शक क्षमताको यो रंगशाला एसियाली खेलकुद २०१८ को मुख्य आयोजन स्थल पनि हो । पर्सिजाले यो सिजनको लिगमा पहिलो खेल १ मार्चमा यही खेलेको थियो, जसमा उसले बोर्नेओलाई ३—२ ले हराएको थियो । उसले दोस्रो खेल दक्षिण जकार्ताको पीटीआई रंगशालामा १४ मार्चमा भयांकाराविरुद्ध खेल्यो, जुन २—२ मा टुंगियो । पर्सिक केडरीविरुद्ध १९ मार्चमा घरेलु मैदानमा तोकिएको खेल भने कोरोनाको कारण स्थगित भयो ।


‘२०—२५ जनामा कोरोना संक्रमण देखिएपछि लिग झ्याप्पै बन्द गरियो,’ रोहितले भने । इन्डोनेसियन फुटबलको सर्वोच्च लिगमा १८ क्लबले होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्छन् । २९ फेबु्रअरीमा सुरु भएको लिग वान २०२० अक्टोबर ३१ सम्म सक्याउने त्यहाँको फुटबल संघको योजना थियो । अब यसलाई पनि युरोपेली लिगलाई जस्तै गरी कोरोना महामारीले प्रभावित गरेको छ ।


लकडाउनकोरोना भाइरस

राजु

Link copied successfully