मुम्बईको कारखानामा अलपत्र परे नेपाली

चैत्र १७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा लकडाउनको घोषणा भएपछि मुम्बईको नागपाडास्थित छाला कारखानामा कार्यरत आठ नेपाली मजदुर अलपत्र परेका छन् । उनीहरू करिब ६ महिनादेखि त्यहाँ काम गर्दै आएका थिए ।

रौटहटको गरुडा नगरपापालिका–७, जयपुर र गौर नगरपालिका भगवानपुर र राजपुर निवासी उनीहरू भारतमा एक्कासि लकडाउन घोषणा भएपछि घर जान रोकिएका हुन् । ‘कारखानामा छालाको लेडिज ब्याग बनाएर गुजारा गर्दै आएका थियौं तर अचानक लकडाउन भएपछि कम्पनीमै अलपत्र पर्‍यौं,’ रौतहटका राहुल नाथको भनाइ उद्धृत गर्दै मुम्बईस्थित संयुक्त नेपाली महासंघका सदस्य पूर्ण कुमालले भने, ‘अहिलेसम्म हामीसँग भएको पैसाले बिस्कुट–पानी खाएर बसेका छौं, अब त कसैसँग एक आना पैसा पनि छैन ।’

लकडाउन हुनुअघि नै कारखानाका साहु बिहार, सीतामढीस्थित घर गएकाले उनीहरूले पैसा लिन नपाएको कुमालले बताए । शनिबार स्थानीय प्रशासनले र आइतबार बिहान स्थानीय एक होटलले उनीहरूलाई खाना खुवाएका थिए । ‘स्थानीय प्रशासन र नेपाली समुदायसँग कुरा गरेर उनीहरूका लागि खानाको व्यवस्था मिलाउन लागेका छौं,’ कुमालले भने ।

कान्तिपुर

Link copied successfully