कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गरिरहेका हुन् ।
जनकपुरधाम — मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलका नेता तथा समर्थकले मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयअगाडि तोडफोड गरेका छन् ।
कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गरिरहेका हुन् । प्रदेश प्रमुखको विरोधमा नाराबाजी गर्दै उनीहरुले 'संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने' माग गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्। नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेट अगाडि प्रदर्शन गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै राजीनामा दिएपछि आइतबार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए । तर, प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी त्यहीँ शपथग्रहण गराएकी थिइन्।
