प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आह्वान गर्न ७ दलको लिखित आग्रह

मधेश प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससहित ७ दलले आइतबार राति लिखित रूपमै आग्रह गरेका हुन् ।

कार्तिक २३, २०८२

कमलेश ठाकुर

7 parties request in writing to provincial chief to call for formation of new government

What you should know

जनकपुरधाम — मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि ७ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई लिखित रूपमा ऐक्यबद्धता जनाएर आग्रह गरेका छन् । मधेश प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित ७ दलले आइतबार राति लिखित रूपमै आग्रह गरेका हुन् ।

त्यसअघि सातै दलका नेता तथा प्रतिनिधिहरू प्रदेश प्रमुखलाई भेटघाट गरेर संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्न अनुरोध गरेका थिए ।  

लिखित आग्रह गरेको पत्रमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा)नेपालका नेता सरोजकुमार यादव, जनमत पार्टीका नेता महेशप्रसाद यादव, नेकपा माओवादी केन्द्रका नेता भरतप्रसाद साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जयनुल राइन, नेकपा एकिकृत समाजवादी पार्टीका नेता गोविन्द बहादुर न्यौपाने र नागरिक उन्मुक्ति पार्टीकी विमला अन्सारीको हस्तार छ ।

पत्रमा विश्वासको मत परीक्षण नभएको हुनाले पुनः सोही धारा आकर्षित गरेर नयाँ सरकार गठन गर्नुपर्ने सातै दलले धारणा दिएका छन् । संविधान, लोकतन्त्र र संघीयतालाई रक्षा गर्दै सोही धाराअनुसार नयाँ सरकार गठन हुनुपर्ने सातै दलले पत्रमा जिकिर गरेका छन् ।

यी सातै दलले प्रदेश प्रमुख संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गर्न लागेको खबर पाएपछि संयुक्त रूपमा भेटघाट गरी र लिखित आग्रह गरेका हुन् ।

शनिबार विश्वासको मत लिन पुगेका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजिनामा दिएका थिए । त्यसपछि मधेश सरकारको नेतृत्वको लागि रस्साकसी सुरु भएको छ । 

7 parties request in writing to provincial chief to call for formation of new government

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully