मुख्यमन्त्री यादवलाई मधेश भवन प्रवेशमा अवरोध, सात दलको विरोध प्रदर्शन

नवनियुक्त मुख्यमन्त्री यादवलाई मधेश भवन प्रवेशमा रोक्न सात दलका प्रतिनिधि र सांसदहरूले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।

कार्तिक २४, २०८२

कमलेश ठाकुर

Chief Minister Yadav's entry into Madhesh Bhavan blocked, seven parties protest

जनकपुरधाम — मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेश भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन्। 

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै राजीनामा दिएपछि आइतबार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए।

तर प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको पहिलो दलको नेताका रुपमा  एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन्। नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन आउने खबरपछि सात दलका प्रतिनिधि तथा सांसदहरू उनलाई रोक्न गेट अगाडि प्रदर्शन गरिरहेका छन्। नेता कार्यकर्ताहरूले टायर बालेर पनि विरोध प्रदर्शन गरिरहेका छन्।

Chief Minister Yadav's entry into Madhesh Bhavan blocked, seven parties protest

यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने सात दलका नेता कार्यकर्ताको संख्या पनि थपिँदो छ। प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी त्यहीँ शपथग्रहण गराएकी थिइन्। लगत्तै मुख्यमन्त्री यादवले एमाले, राप्रपा र संघीय समाजवादीसमेतलाई समेटेर मन्त्रिपरिषद् समेत विस्तार गरेका थिए। 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully