महानगरपालिकाले सम्भावित विपद्बाट जोगिन नागरिकलाई अविरल वर्षा जारी रहेमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, नदी, खोला, नाली र पानी जम्ने स्थानहरूको नजिक नजान विशेष अनुरोध गरेको छ ।
पर्सा — अविरल वर्षाका कारण वीरगन्ज महानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालय समेत डुबानमा परेको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला प्रशासन कार्यालय र आसपासको क्षेत्र डुबानमा परेपछि कार्यालयको भुइँतलामा रहेका कार्यकक्षका कागजातलाई सुरक्षित स्थानमा लगिएको बताए। रानीघाट, भानुचोक, आदर्शनगर, चिनीमिल क्षेत्र आदि स्थानमा केही घर डुबानमा परेका छन्। वीरगन्जमा २६० मिलिलिटरसम्म वर्षा रेकर्ड गरिएको उनले बताए ।
यता वीरगञ्ज महानगरपालिकाको कार्यालयले स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वीरगञ्जको भेडाहा खोला, तिलावे नदी र सिर्सिया नदीमा बाढी आउने सम्भावना रहेको र डुबानको जोखिम बढेकाले महानगरपालिकाले नगर प्रहरी, विपद् व्यवस्थापन, स्वास्थ्य, विद्युत् र सरसफाइ टोलीलाई तयारी अवस्थामा राखेको छ ।
विपद् व्यवस्थापन र उद्धारका लागि महानगरपालिकाले आपत्कालीन सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ । नगर प्रहरीका लागि आसिक मियाँ (९८०४२७७०५५), विपद् व्यवस्थापनका लागि विभा मिश्र (९८४५०९५१२१), पानी निकासका लागि सर्फुदिन मियाँ (९८१६२८५००५), विद्युत् व्यवस्थापनका लागि राजीव उपाध्याय (९८४९०३५७१५) र स्वास्थ्य सेवाका लागि राजुप्रसाद साह (९८४५३३१३८१) लाई सम्पर्क गर्न सकिनेछ ।
महानगरपालिकाले सम्भावित विपद्बाट जोगिन नागरिकलाई अविरल वर्षा जारी रहेमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, नदी, खोला, नाली र पानी जम्ने स्थानहरूको नजिक नजान, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको विशेष हेरचाह गर्न, विद्युत् र सञ्चार उपकरण सुरक्षित स्थानमा राख्न र आपत्कालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ ।
सम्बन्धित अन्य समाचार
