विपद् व्यवस्थापन प्राधिकरणको बैठकमा पुगे सुधन गुरुङ

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसमेत भएको बैठकमा उनले विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिएको भिडियो आफैंले सार्वजनिक गरेका छन् ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Sudhan Gurung attended the meeting of Disaster Management Authority

What you should know

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेन-जी नेता सुधन गुरुङ पनि पुगेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसमेत भएको बैठकमा उनले विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिएको भिडियो आफैंले सार्वजनिक गरेका छन् ।

‘जहाँ-जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैनन्, त्यो पहिले पहिचान हुनुपर्‍यो । तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ,’ उनले भने, ‘बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासन पानी के-के हुन्छ, यसो मिलाइदिनु पर्ला । किनभने, त्यहाँ खाना छैन ।’

एम्बुलेन्सलाई पनि प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले भनेका छन्, ‘कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्यौल गर्नुपर्‍यो । त्यसपछि उद्धार गर्नुपर्‍यो ।’ उनले विपद् उद्धारका लागि प्राधिकरणसँग कति टेन्ट छ भनेर समेत सोधेको भिडियोमा देखिन्छ ।

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत भट्टले ‘केही टेन्टहरू टीआईएमा छ, भएका टेन्टहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेका छौं’ भन्ने जवाफ फर्काएका छन् । उनले सशस्त्र प्रहरीको ‘रिलोकेसन सेन्टर’मा समेत रासनलगायत स्ट्यान्ड बाईमा राख्नुपर्ने भनेका छन् ।

उनले स्वास्थ्य शिविरलगायत समेत तत्काल गर्नुपर्ने हुनसक्ने समेतका छन् । उनले बैठकमा उपस्थित सशस्त्र प्रहरीका एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई कतिवटा मोटरबोट छ भनेर समेत सोधेका छन् । त्यसक्रममा ती डीएसपीले आफूहरुसँग ९६ र्‍याफ्ट र ३३ मोटरबोट रहेको जानकारी गराएका छन् । 

‘हाई स्पीड मोटरबोट अहिलेको अर्बन नदीमा काम लाग्दैन, तराईमा गौर, लालबकैया लगायतको समुदायमा काम लाग्छ,’ उनले भनेका छन्, ‘यहाँभित्र अन्य विभिन्न किमिसका फ्लोटिङ डिभाइस प्रयोग गर्न सक्छ । लाइफ ज्याकेट नै भयो भने पनि धेरै भए राम्रो हुन्थ्यो ।’ तर, सधैँ मनसुनमा लाइफ ज्याकेट अभाव हुने गरेको उनले बताएका छन् । नेपाल प्रहरीका डीएसपी समेत प्रत्येक प्रदेशमा भएको तैनाथीबारे जानकारी गराएका छन् । 

सुधनले विपद् प्राधिकरणका सीईओसँग हवाई उद्धारबारे समेत सोधेका छन् । त्यसक्रममा सीईओ भट्टले सेनाका हेलिकोप्टर परिचालन भइरहेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully