गागन र सर्रे खोलाले सास्ती

असार २५, २०७८

भरत जर्घा मगर

सिरहा — पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको सीमावर्ती औरही र बरियारपट्टि गाउँपालिकाको बीचबाट बग्ने गागन खोलामा पक्की पुल नबन्दा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । वर्षामासमा बाँसको पुलबाट नदी वारपारका लागि चर्को शुल्क तिर्न स्थानीय बाध्य छन् । 

हरेक वर्षायाममा भगवानपुर, बरियारपट्टी र औरहीका बासिन्दा सदरमुकाम आवतजावत गर्न तथा खेतीपातीका लागि जानसमेत त्यही बाँसको पुल तर्छन् । गागन खोला तर्न अहिले पैदल र साइकलयात्रीले २० र मोटरसाइकल चालकले ५० रुपैयाँ तिनुपर्छ ।

बर्सेनि सास्ती भोग्नुपरेपछि २० वर्षभन्दा अघि गागन खोलामा पुल निर्माण गरिएको थियो । तर पुलमुनि खोला बग्दैन । औरही र बरियारपट्टी सीमामा रहेको गागन खोलाले पुल निर्माण भएको केही वर्षमै धार परिवर्तन गरी पुलभन्दा ५ सय मिटर पूर्वबाट बग्न थालेपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको हो । धार फेरेको खोलामा बाह्रै महिना पानी बग्छ । बाढीको यो समयमा दुई महिनासम्म स्थानीयलाई वारपार गर्न निकै गाह्रो हुन्छ । गागनमा निर्माण सम्पन्न भएको केही वर्षपछि आएको ठूलो बाढीले पुलदेखि उत्तरको पूर्वी बाँध भत्काएपछि खोला ५ मिटर पूर्व धार परिवर्तन गर्‍यो । ‘धार परिवर्तन गरेपछि हाम्रो दुःखको दिन बर्सेनि सुरु भयो,’ औरहीका मोहम्मद नथुनीले भने, ‘खोला तर्न अहिले सास्ती व्यहोरिरहेका छौं ।’

उनका अनुसार वर्षायाममा २ महिना सदरमुकाम सिरहा बजार र वरपरका गाउँसँग सम्पर्कविच्छेद नै हुन्छ । ‘वर्षायाममा अस्थायी बाँसको पुल (चचरी) मा पैसा तिरेर खोला तर्न बाध्य छौं । खेतीपाती गर्न पनि खोला वारिपारि गरिरहनुपर्छ,’ उनले दुःखेसो पोखे, ‘पटक–पटक १०–२० रुपैयाँ खर्चिनुपरेको छ, खेती किसानीमाथि पीडा थपिएको छ ।’ उनका अनुसार हिउँदमा जसोतसो यातायात सुचारु हुँदा १४ किलोमिटर दूरीको सदरमुकाम क्षणभरमैं पुग्थ्यौं ।

सिरहाको उत्तरवर्ती सर्रे खोला तर्दै स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा गडमे, मड्यानलगायत एक दर्जनभन्दा बढी गाउँको बजारसँग सम्पर्कविच्छेद हुन्छ । तस्बिर : भरत जर्घामगर/कान्तिपुर

सदरमुकाम सिरहा बजारमात्र होइन, औरही गाउँपालिकाको १ देखि ५ वडाका बासिन्दालाई गाउँपालिका केन्द्र पुग्न पनि गागन खोला तर्नैपर्छ । खोलाबाट गाउँपालिका पुग्न सवा किलोमिटर दूरी मात्रै छ । एउटै गाउँपालिकाका बासिन्दालाई यतादेखि उता आउन जान धौंधौं पर्छ । ‘वर्षामा स्थानीयले बनाएको बाँसको फाटकबाट तर्नुपर्दा २० देखि ५० रुपैयाँसम्म तिरेर खोला वारपार गर्नुपर्छ,’ कमलपुरका रामलखन ठाकुरले भने, ‘त्यो पनि बाढीको भेल ठूलो हुँदा तर्न सकिन्न ।’ औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ दास यादवले गागन खोलामा पुल निर्माण भइरहेको बताए ।

बर्सेनि वर्षायाममा मात्र आउने बाढीका कारण गागन खोलाले खेतीयोग्य जग्गा कटान र डुबानका कारण ठूलो मात्रामा धनजनमा क्षति पुर्‍याउने गरेको छ । वर्षायाममा ती खोलामा आउने बाढीबाट हजारौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको छ । ती खोलामा वर्षायाम सकिएपछि अन्य समयमा पानी रहँदैन । गतवर्ष गागन खोलाले सिरहाको औरही, हरकटी, पिप्रा पश्चिम, इटाटार, लगडी गोठलगायतका सय बिघा खेतीयोग्य जग्गा बगरमा परिणत गरेको थियो ।

चुरे क्षेत्रबाट दक्षिणतर्फ बगेको गागन खोलाले दायाँ–बायाँ किनारका खेतीयोग्य जग्गामा क्षति पुर्‍याउँदै आएको हरकटीका फुलेश्वर यादवले सुनाए । ‘हाम्रो लागि गागन खोला अभिशाप बनेको छ,’ उनले भने, ‘खेतीको समयमा पानी नबहने गागन खोलाले खेती सिंचित होइन वर्षायाममा भने कैयौं गाउँबस्तीलाई कटान गरी क्षति पुर्‍याउँदै आएको छ ।’ सर्रे खोलामा आएको बाढीको बहाव वर्षायामभरि नघट्दा सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका मड्यान, महाजनी, गडमेलगायत एक दर्जनभन्दा बढी गाउँको सदरमुकाम र बजारको सम्पर्कबाट विच्छेद भएका छन् ।

बाढी-पहिरो

भरत

Link copied successfully