रौतहट — कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको मौका छोपी वन र वन्यजन्तुको सिकार गर्ने क्रम बढेपछि डिभिजन वन कार्यालय रौतहटले वनक्षेत्र प्रवेश निषेध गरेको छ । लकडाउनमा पनि ग्रामिण भेगका मानिसहरु पशुका लागि घाँस दाउरा गर्न जंगल जान्थे । त्यो पनि रोकिएको छ । वनलाई भने निषेध कार्यान्वयन गर्न निकै चुनौती देखिएको छ ।
लकडाउनको फाइदा उठाउँदै वन तस्कर र वन्यजन्तु सिकारका लागि राष्ट्रिय वन प्रवेश गर्ने क्रम बढे पछि वनले प्रवेश निषेधलाई कडाइ गरेको हो । यसका लागि डिभिजन वनले ठूलो संख्यामा कर्मचारी र शसस्त्र वन रक्षक परिचालन गरेको छ । लकडाउनका बेला मानिसहरु अनाधिकृतरुपमा वन क्षेत्रमा प्रवेश गरी डढेलो लगाउने, वन्यजन्तको चोरी सिकार गर्ने र वन पैदावारको चोरी निकासी लगायतका गतिविधि गर्न थालेपछि निषेधमा कडाइ गरेको डिभिजन वनप्रमुख विनोद सिंहले बताए ।
‘वन प्रवेश निषेध गरेका छौं । तर पनि कार्यान्वयन निकै चुनौती बनेको छ,’उनले भने, ‘वन हानी नोक्सानी र वन्यजन्तुको सिकार रोक्न हरसम्भव प्रयास गरिरहेका छौं ।’ प्रमुख सिंहले वनको क्षेत्राधिकार भित्रका राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन, साझेदारी वन, र सरकारद्वारा व्यवस्थित वन क्षेत्रमा वन संरक्षणका गतिविधि बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी वन ऐन, २०७६ को दफा ९ बमोजिम जंगल प्रवेशमा निषेध गरिएको सुनाए ।
अहिले हतियारसहित शसस्त्र वन रक्षकले चौबिसै घन्टा जंगलमा गस्ती गरिरहेका छन् । एक साता अघि चोचा वनक्षेत्रमा सिकारीको हतियार र जाल फेला पारेपछि वनले उच्च सतर्कता अपनाएको हो । लकडाउनले मुलुक ठप्पै रहेका बेला वन क्षेत्रभित्र भने तस्करहरुको बिगबिगी बढेको छ । खासगरी तराई र चुरे क्षेत्रका वनभित्र तस्करहरु सलबलाउन थालेका छन् । यो समयमा सिकारीको रजगज हुन्छ । उनीहरु आफै जंगलमा आगो लगाएर वन्यजन्तुको सिकार गर्छन् । डिभिजन प्रमुख सिंहले वन्यजन्तु सिकार गर्न जंगल छिर्नेहरुलाई नियन्त्रण गर्नै गाह्रो भएको बताए । ‘दिउँसो भए त लखेटेर भगाइरहेका छौं,’ उनले भने, ‘रातको समयमा जंगल छिर्नेहरुलाई नियन्त्रण गर्न गाह्रो छ, । सबका हातमा बन्दुक हुन्छ । यता लखेट्यो अर्कोतिरबाट छिर्छन् । चारैतिर खुला जंगल छ ।’
केही दिनअघि तस्करलाई नियन्त्रण गर्ने क्रममा दुवै पक्षबीच गोली हानाहान भएको थियो । केही दिनयता कार्यालयले गस्ती पनि बढाएको छ । सिकारीले अहिले वनमा पाइने चित्तल, बँदेल र वन कुखुरालगायतका जीव मार्न पासोको प्रयोग गर्न थालेको पाइएपछि वनले सबैतिर गस्ती बिस्तार गरेको जनायो ।
