पाल्पा — पाल्पा–१ मा उम्मेदवारहरू नजिता आ–आफ्नो पक्षमा पार्न प्रचारप्रसार अभियानलाई तीव्रता दिइरहेका छन् । अन्य दलका र स्वतन्त्र उम्मेदवार भए पनि यहाँ मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गाहा र नेकपा एमालेका नारायणप्रसाद आचार्यबीच हुने देखिएको छ । प्रतिनिधिसभामा यस क्षेत्रमा २०५१ पछि एमालेले जित्दै आएको छ । कांग्रेसले २०४८ सालपछि अहिलेसम्म नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । तर, यसपटक भने एमाले विरासत जोगाउने र कांग्रेस अन्य दलको गठबन्धनबाट विरासत भत्काउने दाउमा लागेका छन् ।
कांगेसलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । एमाले एक्लै मैदानमा छ । संगठन बलियो भएकाले आफ्नो जित सुनिश्चित रहेको एमालेका उम्मेदवार आचार्यको दाबी छ । कांग्रेसका गाहा २०५१ सालदेखि जित हासिल गरेको पार्टीले अहिलेसम्म विकास निर्माणलाई तीव्रता नदिएको आरोप लगाउँदै मतदातासमक्ष पुगेका छन् । ‘धेरै काम अलपत्र मात्र होइन, जताको चेतनास्तरसमेत विकास गर्न सकेको छैन,’ उनले भने, ‘यसपटक मतदाताले पनि फरक पार्टीलाई जिताउने आश्वासन दिएका छन् ।’
एमालेका आचार्य र कांग्रेसका गाहाबाहेक पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामी, जनता समाजवादीका मेहरमान राना र मंगोल नेसनल अर्गनाइजेसनका थम्मनबहादुर बुढा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् । स्वतन्त्रबाट युवा विपिन कँडेल, नारायण न्यौपाने, राजु सुनार र डोलराज तिमिल्सेनाको उम्मेदवारीले पनि दलहरूलाई चुनौती थपेको छ । क्षेत्र नं. १ मा अघिल्लो पटक एमालेबाट निर्वाचित दलबहादुर रानाले यसपटक टिकट पाएनन् । तर, उनी एमालेलाई जिताउन गाउँगाउँ पुगेका छन् ।
क्षेत्र नम्बर १ मा रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका पर्छ । तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र नं. १ मै पर्छ । यहाँका ३७ वडामा स्थानीय तह निर्वाचनमा एमालेले २४ वडामा जितेको छ । कांग्रेसले १३ वडा जितेको छ । एमालेले ३४ हजार ७ सय ६१, कांग्रेसले २७ हजार १ सय ५० र माओवादी केन्द्रले १ हजार १ सय ६४ र जनमोर्चाले ४२ मत पाएका थिए ।
आश्वासन होइन, समस्या हल गर्नेलाई भोट
प्यूठान– झिमरुक फाँटमा अहिले गहुँ लगाउने समय भएको छ । कोही खेत जोत्दै छन् त कोही गहुँ लगाउन मिल्ने खेतको रेखदेख गर्दै छन् । यसै समयमा गाउँमा चुनावी सरगर्मी बढेको छ । दलका उम्मेदवार भोट माग्दै किसान भएका ठाउँसम्मै पुग्छन् । किसानसामु दलका उम्मेदवार र तिनका प्रतिनिधिले बाँड्ने आश्वासन साना छैनन् । उनीहरूको कुरा सुन्दा नेपालमा धेरै विकास भएको भान हुने तर वास्तविकता त्यस्तो नभएको प्यूठान नगरपालिका पुण्यखोलाका लालबहादुर सुनारले बताए । ‘किसानका समस्या जहिले पनि बीउ, मलकै छ,’ उनले भने, ‘यसपटक भोट माग्न आउनेलाई यिनै समस्या सुनाएका छौं ।’ किसानका समस्या वर्षौंदेखिका एउटै भएको उनले सुनाए ।
गहुँ छर्ने बेलामा अहिलेसम्म मल नपाइएको प्यूठान नगरपालिका–७, पुण्यखोलाकी मेनुका केसीले सुनाइन् । ‘हामी त खेती किसानी गर्ने मान्छे । मल, बीउ र सिंचाइको व्यवस्था गरिदिए पुग्छ,’ उनले भनिन्, ‘किसानका आवश्यकता नेताहरूले बुझ्दै बुझ्दैनन् ।’ मतदाताको आवश्यकता र उम्मेदवारको आश्वासन फरक हुँदा विकास हुन नसकेको उनी स्वीकार्छिन् । ‘विकास नभएको होइन, क्रमिक रूपमा भएकै छ,’ उनले भनिन्, ‘तर आवश्यकताभन्दा बाहिरका काम भए ।’ भोट माग्न आउने उम्मेदवारलाई यसपटक किसानले सोझै भन्ने गरेका छन्, ‘जसले किसानका समस्या समाधान गर्छ, उसैलाई भोट दिने हो ।’ उत्पादन र बजारीकरणमा जोड दिने नेता मतदाताको रोजाइमा पर्ने किसान घनश्याम पराजुलीले सुनाए ।
वर्षौंदेखि अलपत्र लुग्रिमाडी सिंचाइ आयोजना सम्पन्न गर्ने, बांगेसालमा माडीको पानीलाई लिफ्ट गरेर सिंचाइ सुविधा पुर्याउने उद्देश्य लिइएको एमाले प्यूठानका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य थापाले बताए । ‘यसबाहेक साना–ठूला सिंचाइ आयोजना र कृषिमा लागेका किसानलाई व्यावसायिक बनाइनेछ,’ उनले भने । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार दुर्गा पौडेलले पनि उत्पादनलाई जोड दिएर कृषिलाई व्यावसायिक बनाइने बताइन् । ‘मतदाता अधिकांश किसान छन्,’ उनले भनिन्, ‘प्यूठानको तरकारी दाङ लगेर बेच्ने अवस्थामा पुर्याउँछौं ।’ एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा दुई दर्जन उम्मेदवार छन् ।
