कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हाम्रा समस्या कहिले बुझ्ने ?’

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–६ भोटचौरका भीमबहादुर नेपाली शारदा खोलाको किनारमा बालुवा संकलन गरिरहेका थिए । उनका छेवेमा अर्का दलबहादुर गिटी कुटिरहेका थिए ।

‘हाम्रा समस्या कहिले बुझ्ने ?’

केही दलका नेताहरू गाउँघरमा स्थानीय मतदातालाई खेतबारीमा भेटघाट गर्न जाने क्रममा ती दुईलाई भेटे र भोट मागे । तर, उमेदवारहरूले भने उनीहरूको समस्याका बारेमा बुझ्ने कोसिस गरेनन् । ‘उम्मेदवारले विकासका काम गर्ने, प्रत्येक घरका एक जनालाई रोजगारी दिने, स्वास्थ्य संस्था सहज रूपमा उपलब्ध गराउने भन्दै विगतदेखि घोषणापत्र सार्वजनिक गर्दै आएका छन्’, नेपालीले भने, ‘हामीलाई भोटरमा मात्र सीमित गराए । हामी कहिलेसम्म भोटर बन्ने ?’

घोषणापत्र कागजमा मात्र सीमित रहेका कारण छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरका दलित मात्र नभई शारदा नगरपालिका १ शान्तिनगरमा बस्ने बादी समुदाय र जिल्लाभरिका दलित समुदाय समस्यामा परेका छन् । सामान्य समस्यासमेत समाधान गर्न नसक्दा र बेरोजगारी चपेटामा पर्दा दलित समुदायका पुरुष तथा महिला कोही शारदा नदीलगायत विभिन्न खोलाको किनारमा गिट्टी बालुवा संकलन गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूमा कुनै परिवर्तन आउन सकेको छैन ।

विगतका निर्वाचनमा बेरोजगारी समस्या समाधान, एक घर एक रोजगारी, सीपमूलक तालिम, साना उद्योग सञ्चालनमा सहयोग, भूमिहीनलाई जग्गा उपलब्ध गराउने भन्दै आए । अहिलेसम्म जनता आवास कार्यक्रमबाट बस्नका लागि घरबाहेक अन्य व्यवस्था गर्न नसकेको शारदा नगरपालिका १ शान्तिनगरका दीर्घ बादीले बताए । उम्मेदवारले आफूहरूलाई भोटरका रूपमा मात्र चिन्ने गरेको उनले बताए । ‘बेरोजगारीले दैनिक दुई छाकको खर्च टार्न धेरै गाह्रो छ । गिट्टी बालुवा बिक्री नहुँदा कहिलेकाहीं भोकै बस्नुपर्छ । खै त हाम्रो समस्या बुझेको,’ उनले भने, ‘के हामी जिल्लावासी हैनौं । हामीलाई खानलाउन पर्दैन ?’ दलित समुदायको उत्थानका लागि काम गर्नेभन्दा निर्वाचनका बेला उम्मेदवारले जहिले पनि पैसामा भोट किन्ने प्रयासमात्र गरेको उनको गुनासो छ ।

नेताले विकासको नाममा आफ्ना कार्यकर्ता मात्र पाल्ने गरेका र दलित समुदायको बस्तीमा फर्केर नआउँदा दलितको समस्या जहाँको तही रहेको र दैनिक छाँक टार्नका लागि मजदुरीमै सीमित हुन परेको बन्गाड कुपिण्डे नगरपालिकाका प्रकाश बादीले बताए । उनले भने, ‘नेताको पछि लाग्नेहरू कहाँदेखि कहाँ पुगिसके  तर हामी जहाँको तहीं छौं, बाँसको कटेरो बनाउन ऐलानी जग्गाको भर पर्नुपरेको छ ।’

शारदा नगरपालिका ३ संगीतटोलका प्रेम गन्धर्बले भने बस्तीमा जाने बाटोसमेत गतिलो नभएको बताएका छन् । आवास कार्यक्रमले बस्नका लागि घरको व्यवस्था गरिदिए पनि सामाजिक, आर्थिक परिवर्तन, शैक्षिक परिवर्तन नभएको उनले जानकारी गराए । ‘न त पढेलेखेकाले गतिलो जागिर पाएका छन् न सीपअनुसारको पेसा,’ उनले भने, ‘ पेट पाल्न सधैं मजदुरीमा बाहेक अरू केही छैन ।’

प्रकाशित : कार्तिक २९, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?