लिमीमा छैन चुनावी रौनक

कार्तिक २९, २०७९

राजबहादुर शाही, कृष्णप्रसाद गौतम

सुर्खेत, मुगु — हिमपातको मौसम सुरु हुने भएपछि हुम्लाको नाम्खा–६ लिमीका अधिकांश बासिन्दाले हरेक वर्ष कात्तिक दोस्रो साता गाउँ छोड्छन् । तर यो वर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण स्थानीयले गाउँ छोडेनन् । तर कुनै राजनीतिक कार्यक्रम नहुँदा लिमी सुनसान छ ।अहिलेसम्म लिमीमा कुनै पनि उम्मेदवार र दलका नेता–कार्यकर्ता पुगेका छैनन् । गाउँमा मतदाता शिक्षाका कार्यक्रमसमेत भएका छैनन् । 

हिमालपारिको गाउँ भनेर लिमीमा तीन गाउँ छन्– हल्जी, जाङ र तिल । लिमी जाने झन्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण सदरमुकाम सिमकोट र चिनियाँ सीमा नाका हिल्साबाट लिमी जान बन्द भएको छ । जसका कारण उम्मेदवारहरू लिमी पुग्न नसकेका हुन् । प्रतिनिधिसभा उम्मेदवार एमालेका दल रावलले बताए । उनका अनुसार ती लेकहरूमा अहिले पनि झन्डै १ फिट हिउँ जमेको छ । ‘त्यहाँ जान पनि सम्भव छैन, बाटोघाटो पुरिएपछि स्थानीयवासी गाउँबाट बाहिर निस्कन पनि सकेका छैनन्,’ उनले भने, ‘भिस्याट बिग्रिएपछि त्यहाँको विषयमा अरू जानकारी पनि हुन सकेको छैन ।’ हुम्लामा १ (२) मा प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । तर कोही पनि लिमी पुग्न सकेका छैनन् । 

योपालि छिटो हिउँ परेको स्थानीय छिरिङ तामाङले बताए । उनका अनुसार विगत वर्षमा गाउँ हेरालु र अशक्तहरू छोडेर लिमीका बासिन्दाले कात्तिक पहिलो साता गाउँ छोडिसकेका हुन्थे । लिमीका बासिन्दाहरू बर्सेनि हिउँ पर्नुअघि नै बेंसी झर्छन् । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीका १ सय ४७ घरधुरीले अहिले चुनावको प्रतिक्षा गरिरहेका छन् । लिमीको राजनीतिक माहोल पनि रोचक छ । गत स्थानीय निर्वाचनमा चुनाव हुनुभन्दा २ महिनाअघि नै स्थानीयले ३ गाउँको भेला गरेर वडाध्यक्षमा तामाङलाई चुनेका थिए । पछि उनले मात्र उम्मेदवारी दिए र निर्विरोध निर्वाचित भए । ‘यहाँका अधिकांश मानिस स्वतन्त्र छन्, स्थानीय निर्वाचनमा गाउँमा जसले राम्रो काम गर्‍यो उसैलाई जिताउँछन्,’ उनले भने, ‘तर उम्मेदवार र दलका नेता आएको भए यहाँका जनताले आफ्ना पीडा सुनाउँथे, थोरै भए पनि विकासको आस पलाउँथ्यो ।’ वडाध्यक्ष तामाङका अनुसार जटिल भूगोल र सदरमुकाम टाढा हुँदा लिमीबासी वर्षौदेखि विकास र आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । ‘एक त योजना नै पर्दैनन्,’ उनले भने, ‘परे पनि निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आएको बजेट पनि फ्रिज जाने अवस्था छ ।’ उनले सामानभन्दा ढुवानी महँगो हुँदा लिमीमा साना योजना सञ्चालन गर्न पनि धेरै खर्च लाग्ने बताए । उनका अनुसार सदरमुकाममा बन्ने योजनाभन्दा लिमीमा बन्ने योजनाको खर्च झन्डै ४ गुणा महँगो छ । 

भिरालो जमिन र अत्यधिक चिसो हुने भएकाले वर्षभरिमा उवा मात्र पाक्ने स्थानीय युवा सोनामदोर्जी लामाले बताए । लिमीका वर्षमा एक बाली उवा मात्र फल्छ । कोरोना महामारीयता चीनले हिल्सा नाका बन्द गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३ वर्षदेखि लिमीमा खाद्यान्न पठाएको छैन । कोरोना महामारीअघि चिनियाँ बाटो भएर कम्पनीले चामल लिमी पठाउथ्यो । भिरालो र अध्यधिक चिसो भूगोल भएकाले उत्पादन न्यून हुँदा र सरकारी अनुदानको चामल लामो समयदेखि नआउँदा गाउँमा यो हिउँदमा पनि खाद्यान्न अभाव हुने देखिएको उनको भनाइ छ । ‘पाकेको बाली खाइसकियो, नयाँ बाली लगाएका छैनौं,’ उनले भने, ‘घरमा केही अन्न छैन, के खाने ?’ उनका अनुसार अधिकांश घरमा चामल सकिएपछि स्थानीयले सरसापटी गरेर खाद्यान्नको जोहो गरेका छन्  । चार दिन हिँडेर सदरमुकाम पुग्न नसक्दा लिमीका बासिन्दा वर्षौंदेखि सरकारी सुविधाबाट वञ्चित भएको उनले बताए । विकट क्षेत्र भएकाले सरकारी निकायमा लिमीका बासिन्दाको पहुँच कम छ । सरकारी अधिकारीसमेत लिमीमा विरलै पुग्ने गरेका छन् । पछिल्लो पुनःसंरचनाले लिमीलाई झन पछाडि धकेलेको छ । छुट्टै गाउॅपालिकाको माग गरेका लिमीवासीलाई आफ्नै गाउॅपालिकाको केन्द्र रहेको यालवाङ पुग्न झन्डै हजार पाँच हजार मिटरको लेक पार गरी एकतर्फी दुई दिन हिँड्नुपर्ने बाध्यता छ । 

तीन गाउँमा भिस्याट प्रणालीका एक/एक लाइन टेलिफोन भए पनि बेलाबेलामा अबरुद्ध हुने गरेको छ । जसका कारण स्थानीयहरू लामो समय सदरमुकाम सिमकोट र अन्य ठाउँबाट सम्पर्कविच्छेद हुन्छन् । नेपाल टेलिकमको टावर नभएकाले मोबाइल सेवा उपलब्ध नभएको तिलगाउँका छेवाङदोर्जी लामाले बताए । ‘योपल्ट पहिलो हिमपात भइसक्यो, अब फागुनसम्म हिउँ पर्छ, गत वर्षसम्म कात्तिक दोस्रो साता गाउँ छोडेकाहरू चैत अन्तिम बाहिरै हुन्थ्यौं, तर चुनावले गाउँमै रोक्यो,’ उनले भने, ‘अरू त विकास भएन नै, हिमपातपछि कम्तीमा तीन महिना लिमीको अन्य गाउँसँग सम्बन्ध टुट्छ, भरपर्दो टेलिफोन मात्र भए पनि धेरै सुविधा हुन्थ्यो ।’

लिमीका बासिन्दा अहिलेसम्म तिब्बती ढिके नुनमै निर्भर छन् । उत्पादनयोग्य जमिन सीमित भएकाले खाद्यान्न पनि तिब्बतबाटै खरिद गरि आपूर्ति गर्ने गरिएको छ । तर चीनले कोरोना महामारीका कारण तीन वर्षदेखि हिल्सा नाका बन्द गर्दा खाद्यान्न अभाव सधैं भोग्नुपर्ने बाध्यता भएको स्थानीय छोर्वातम्सुक तामाङले बताए । उनका अनुसार न लिमीमा स्वास्थ्य चौकी भए पनि स्वास्थ्यकर्मी सिजनल रूपमा मात्र गर्मी समयमा गाउँमा बस्छन् । औषधिको अभाव सधैं हुने गरेको उनले गुनासो गरे । ‘हामी बिरामी परे झारफुक र पूजा गर्न गुम्बामा जान्छौं,’ उनले भने, ‘जटिल बिरामी भए हेलिकोप्टर चार्टरको विकल्प छैन ।’

मुगुमा बढ्यो सरगर्मी

मुगु– आमनिर्वाचन नजिकिँदै गर्दा मुगुको सहरदेखि दुर्गम गाउँसम्म चुनावी सरगर्मी बढेको छ । मतदाता कुन उम्मेदवारलाई भोट हाल्ने भनेर छलफल गर्न थालेका छन् । उम्मेदवार र कार्यकर्ता गाउँमा गएर विभिन्न विकासका आश्वासन बाँडेर मतदातालाई आफूतर्फ फर्काउन थालेका छन् ।

दलका उम्मेदवारहरू मतदातासँग भोट माग्न विकट बस्तीमा पुगेका छन् । मतदातासित विभिन्न वाचा बन्धन गर्दै उम्मेदवारहरू भोट माग्ने कार्यलाई झन् तीव्रता दिएका छन् । सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू संयुक्त रूपमा भोट माग्न गाउँबस्तीमा पुगेका छन् । एमालेका उम्मेदवार घरदैलो अभियानमा छन् । गठबन्धन दलका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस सभापति ऐनबहादुर शाही दोस्रो पटक खत्याड गाउँपालिकाका गाउँघरमा भोट माग्न गएका छन् । पहिलोचोटि उक्त गाउँपालिकाको पूरै घरदैलोमा पुगेर महिला, पुरुष र युवासित भोट मागेर मुगुमकार्मारोङ गाउँपालिकातर्फ लागेका शाही फेरि बिहीबार खत्याड गाउँपालिकामै फर्किएका छन् ।

गठबन्धन दलले शुक्रबार गम्था साँझचौरमा चुनावी सभाको आयोजना गरेको कांग्रेस पार्टी सचिव लोकेन्द्र मल्लले बताए । गठबन्धन दलतर्फका प्रदेश–२ का माओवादीका प्रदेशसभा सदस्यका उम्मेदवार मंगलबहादुर शाही खत्याड र सोरु गाउँपालिकातिर फन्को लगाइरहेका छन् । प्रदेश–२ मा सोरु र खत्याड गाउँपालिका पर्ने भएकाले शाही कहिले खत्याड त कहिले सोरु गाउँपालिकाका मतदातासँग भोट माग्न घरदैलोमै व्यस्त छन् । चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू भोट माग्न घरदैलोमा फन्को लगाउन थालेको सोरु गाउँपालिका–७ का जयरूप बुढाले बताए । 

राजबहादुर

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully